+
+

फ्लोरक्रस गर्ने फणिन्द्रलाई मन्त्री पद उपहार

बाबुरामको स्वकीय सचिवदेखि गण्डकीको ऊर्जा मन्त्रीसम्म

प्रदेशमाथि चौतर्फी प्रश्न र चुनौती उठिरहेका बेला मन्त्रीका रुपमा उनको परीक्षण सुरु भएको छ । सीमित बजेट र टुक्रे योजनाको चाङमाथि बसेर उज्यालो प्रदेश तथा गण्डकीका सबै घरधुरीमा खानेपानी पुर्‍याउने घोषणालाई पूरा गर्नुपर्ने चुनौती पनि उनीमाथि छ ।

अमृत सुवेदी अमृत सुवेदी
२०८१ जेठ २९ गते २०:३१

२९ जेठ, पोखरा । ४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर उठेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा फ्लोर क्रस गरेर कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएको भोलिपल्ट मन्त्री नियुक्त भए ।

गत आमचुनावमा माओवादी केन्द्रको चुनाव चिह्नमा प्रतिस्पर्धा गरेकामध्ये देवकोटा पनि एक थिए । जो गोरखा–२ (क) बाट निर्वाचित भएका थिए । उनै फणिन्द्रले माओवादीको ह्वीपविपरीत मत दिँदा मुख्यमन्त्री पाण्डेको पद जोगिएको थियो, फणिन्द्र त्यही सरकारको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हुन सफल भए ।

४ मंसिर २०७९ को चुनावमा कांग्रेस र माओवादीबीच सहकार्य हुँदा गोरखा–२ बाट प्रतिनिधिसभामा हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका थिए भने त्यसभित्रकै दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये क बाट देवकोटा र ख बाट मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे निर्वाचित भएका थिए ।

प्रचण्डले एमालेलगायतसँग समीकरण गरेपछि गण्डकीमा बनेको खगराज सरकारमा फणिन्द्रले मन्त्री हुने आकांक्षा राखेका थिए । देवकोटाले मन्त्री त बन्न पाएनन् तर माओवादी कोटाबाटै सामाजिक विकास समिति सभापति बनेका थिए ।

पछिल्लो समय नेपाल समाजवादी पार्टीको एक समूहले माओवादी केन्द्रसँग एकताको सहमति गरिसकेको छ । तर एकताको विपक्षमा रहेका बाबुराम भट्टराईसँगै छन् देवकोटा पनि ।

सत्ताका लागि प्रचण्डले समीकरण फेरिरहने र नेसपालाई पनि फुटाइदिएपछि माओवादी संसदीय दलमै रहेर फणिन्द्रले आफू अलग्गै भएको बताउन थालेका थिए । नेसपाका अध्यक्ष महिन्द्रराय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठले पार्टी एकताको घोषणा गरेपछि त फणिन्द्र गण्डकीमा माओवादी संसदीय दलको बैठकमै जान छोडेका छन् ।

२५ चैत २०८० मा मुख्यमन्त्री नियुक्त भएका एमालेका खगराज अधिकारीले २३ वैशाखमा विश्वासको मत माग्दा सभामुख कृष्ण धितालले ६० सदस्यीय प्रदेशसभामा ३० सांसदको समर्थनलाई नै बहुमत मानेर विश्वासको मत पाएको घोषणा गरिदिएका थिए ।

सभामुखको उक्त घोषणाविरुद्ध कांग्रेस नेता पाण्डेले सर्वोच्च अदालतमा हालेको मुद्धा विचाराधीन रहेको अवस्थामा देवकोटालाई खगराज मन्त्रिपरिषदमा सहभागी हुने प्रस्ताव आएको थियो ।

एमालेबाट वेदबहादुर गुरुङ र सीता सुन्दासलाई मन्त्री बनाउँदा फणिन्द्रलाई माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले फणीन्द्रलाई मन्त्री हुन प्रस्ताव गरेका थिए । तर, देवकोटाले मुद्धा विचाराधीन रहेको र आफू माओवादी कोटाबाट नभई नेपाल समाजवादी पार्टीकै कोटामा मन्त्री हुने भन्दै अस्वीकार गरेका थिए ।

सर्वोच्चले खगराजलाई पदमुक्त गर्दै ठूलो दलको हैसियतमा कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो । वैशाख २३ गते खगराजले विश्वासको मत माग्दा फणिन्द्रले पक्षमा नै मतदन गरेका थिए । तर सर्वोच्चको आदेशपछि पाण्डे मुख्यमन्त्री नियुक्त भएर सोमबार विश्वासको त लिँदा राप्रपाका २, राजीव गुरुङ (दीपक मनाङे) ले पनि सुरेन्द्रराजलाई समर्थन गरे र फणिन्द्र पनि सुरेन्द्रकै पक्षमा उभिए ।

संविधानको धारा १६८ (५) मा गएर बहुमत पुर्‍याउन सक्ने कुनै एक प्रदेश सभा सदस्य मुख्यमन्त्री बन्न सक्ने परिस्थितिमा ह्वीप पनि नलाग्ने भएकाले त्यही अनुसार गर्ने धेरैको अनुमान थियो । तर, फणिन्द्रले मत नदिँदा सुरेन्द्रको सरकार ढलेर अर्को सरकार बन्ने स्थिति पनि नहुने देखेपछि ह्वीप लगाए पनि समर्थन गर्ने निर्णयमा पुगेका हुन् ।

माओवादीले उनलाई कारबाही गर्ने बताइसकेको छ तर डा. भट्टराई र फणिन्द्रले भने कारबाही गर्न नमिल्ने बताइरहेका छन् । फणिन्द्रको कारबाहीबारे विभिन्न बहस भइरहेका बेला संसद जोगाउनका निम्ति भन्दै पाण्डेलाई विश्वासको मत दिएर मन्त्री बने । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय भौतिक पूर्वाधारपछि सबैभन्दा धेरै बजेट भएको मन्त्रालय हो ।

को हुन् फणिन्द्र ?

स्कुले जीवनदेखि नै वामपन्थी विचारधारातिर आकर्षित भएका गोरखाका फणिन्द्र २०४५ सालबाट अनेरास्ववियु एघारौंमा संगठित भएका थिए । अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय सदस्यसमेत भएको फणिन्द्र २०५३ सालदेखि नै माओवादीको पूर्णकालीन सदस्य बनेका थिए ।

गोरखाको जिल्ला कमिटी सदस्य, काठमाडौं क्षेत्र नम्बर ४ को इलाका इन्चार्ज हुँदै जनयुद्ध कालमै विचारलाइनको संघर्ष हुँदादेखि डा. भट्टराईको पक्षमा उभिएका देवकोटा जनमुक्ति सेनाको सहकमिसार, कम्पनी कमिसार हुँदै बटालियन कमिसार बने ।

माओवादी सशत्र संघर्षका बेला थुप्रैपटक मुठभेडबाट जोडिएका फणिन्द्रको हातमा गोली लाग्दा छर्रा अझै हातभित्रै रहेको उनी बताउँछन् । पटक पटक गिरफ्तार र कारागारसम्म पुगेका फणिन्द्र राजनीतिक जीवनको डा. भट्टराई नै आदर्श मान्दै आएका छन् ।

डा. बाबुराम अर्थमन्त्री र प्रधानमन्त्री हुँदा स्वकीय सचिवको रुपमा काम गरेका फणीन्द्र अहिलेसम्म पनि उनकै साथमा छन् । बाबुरामले वैकल्पिक राजनीतिको वकालत गर्दै माओवादीबाट अलग भएर नयाँ खोल्दा फणिन्द्र पनि एक संस्थापक हुन् । नयाँ शक्ति पार्टीको कार्यालय सचिव र ललितपुर जिल्ला इन्चार्ज भएका उनी जनता समाजवादी पार्टी भएपछि पनि कार्यालयका उपप्रमुख थिए ।

नेपाल समाजवादी पार्टी कार्यालय प्रमुख तथा राजनीतिक समिति सदस्य हुँदै अहिले पोलिटब्युरो सदस्य रहेका फणिन्द्रले बाबुरामकै कारण गत निर्वाचनमा गोरख–२ (१) बाट टिकट पाएका हुन् ।

संविधान सभा सदस्य ज्ञानेन्द्र कुमाल र अर्का नेता रमेश पोखरेलबीच टिकटका लागि रस्साकस्सी हुँदा मध्यमार्गी उम्मेदवारका रुपमा टिकट पाएका फणिन्द्र पहिलो पटक सांसद हुने मौका पाए । उनले कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

प्रदेशमाथि चौतर्फी प्रश्न र चुनौती उठिरहेका बेला मन्त्रीका रुपमा उनको परीक्षण सुरु भएको छ । सीमित बजेट र टुक्रे योजनाको चाङमाथि बसेर उज्यालो प्रदेश तथा गण्डकीका सबै घरधुरीमा खानेपानी पुर्‍याउने घोषणालाई पूरा गर्नुपर्ने चुनौती पनि उनीमाथि छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?