+

पोर्चुगललाई दोस्रोपटक नेसन्स लिग फुटबलको उपाधि

२०८२ जेठ  २६ गते ७:१६ २०८२ जेठ २६ गते ७:१६
पोर्चुगललाई दोस्रोपटक नेसन्स लिग फुटबलको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोर्चुगले युईएफए नेसन्स लिग फुटबलको उपाधि दोस्रो पटक जित्यो।
  • खेलमा ९० मिनेट र थपिएको ३० मिनेट बराबरीपछि पोर्चुगले टाइब्रेकरमा स्पेनलाई हरायो।
  • क्रिस्टियानो रोनाल्डोले पोर्चुगलका लागि तेस्रो अन्तर्राष्ट्रिय उपाधि जिताए।

२६ जेठ, काठमाडौं । पोर्चुगलले युईएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ । आइतबार मध्यराति भएको फाइनलमा स्पेनलाई टाइब्रेकरमा हराउँदै पोर्चुगलले दोस्रोपटक नेसन्स लिग फुटबलको उपाधि जितेको हो ।

टाइब्रेकरमा पोर्चुगल ५-३ ले विजयी भयो । पोर्चुगलका लागि गोन्सालो रामोस, भितिन्हा, ब्रुनो फर्नान्डेस, नुनो मेन्डेस र रुबेन नेभेसको प्रहार गोलमा परिणत भयो । स्पेनका मिकेल मेरिनो, एलेक्स बेना र इस्कोको प्रहार गोल हुँदा अल्भारो मोराटाले पेनाल्टी मिस गरेका थिए ।

त्यसअघि निर्धारित ९० मिनेट र थपिएको ३० मिनेट अतिरिक्त समयमा २-२ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको हो ।

खेलमा स्पेनले दुईपटक अग्रता लिएपनि जोगाइराख्न सकेन । २१औं मिनेटमा मार्टिन जुयामेण्डीले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।

त्यसको ५ मिनेटमा नै नुनो मेन्डेसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ४५औं मिनेटमा मिकेल ओयरजाबालले गोल गरेपछि पहिलो हाफमा स्पेन २-१ ले अगाडि रह्‍यो ।

दोस्रो हाफको ६१औं मिनेटमा स्टार सिनियर खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल पुन: बराबरीमा ल्याए । त्यसपछि थप गोल नहुँदा खेल टाइब्रेकरमा गयो ।

पोर्चुगलले यसअघि नेसन्स लिगको पहिलो संस्करण २०१८-१९ को उपाधि जितेको थियो । त्यसयता फ्रान्स र स्पेनले १-१ पटक उपाधि जितेका थिए ।

भेट्रान स्ट्राइकर रोनाल्डोका लागि पोर्चुगलबाट यो तेस्रो अन्तर्राष्ट्रिय उपाधि बन्यो । यसअघि सन् २०१६ को युरो र २०१९-१९ को नेसन्स लिग पोर्चुगलले जितेको थियो ।

पोर्चुगलले फिफा विश्वकप फुटबलको उपाधि भने जित्न सकेको छैन ।

नेसन्स लिग फुटबल पोर्चुगल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय