+
+
Shares

ट्रम्पसँगको टकराव मस्कका लागि कति घातक ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २६ गते १३:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एलन मस्कले राजनीतिबाट टाढा रहने घोषणा गरेपछि बजार र सरकारको प्रतिक्रिया कमजोर भयो।
  • टेस्लाको अग्रता गुम्दै गएको र मस्कको ध्यान स्वचालित कार र रोबोटिक्समा नरहेको विश्लेषकहरूले बताए।
  • मस्कको गतिविधिले उनी अझै प्रविधि क्षेत्रमा नेतृत्व गर्न चाहन्छन् वा राजनीतिमा रमाइरहेका छन् भन्ने बहस चलिरहेको छ।

जब एलन मस्कले केही दिनअघि राजनीतिबाट टाढा रहने घोषणा गरे, तब लगानीकर्तामा आशा जाग्यो । मस्कले अब फेरि टेस्ला, स्पेसएक्स जस्ता आफ्ना प्रविधि कम्पनीहरूमा ध्यान केन्द्रित गर्नेछन् र त्यसले उनका कम्पनीहरुको अवस्था झनै मजबुत बन्नेछ भन्ने अपेक्षा हुनु स्वभाविक हो। तर, पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको टकराव र ह्वाइट हाउससँग जोडिएका गोप्य जानकारी सार्वजनिक भएपछि त्यो आशा तत्कालीन रूपमा कमजोर देखिन थालेको छ ।

सरकारको चेतावनी र बजारको प्रतिक्रिया

बहुसंख्यक लगानीकर्ता मस्कले व्यक्तिगत विवादभन्दा टाढा रहेर कम्पनीका प्रगति र नवप्रवर्तनमा ध्यान दिने अपेक्षामा थिए। तर, अहिले अमेरिकी संघीय सरकारले नै मस्कलाई बहिष्कार गर्ने संकेत दिँदैछ।

बिहीबार, मस्कले सामाजिक सञ्जाल एक्समा ट्रम्पविरुद्ध टिप्पणी गरेपछि टेस्लाको शेयर एकैदिन १४ प्रतिशतले घट्यो । शुक्रबार थोरै सुधार आए पनि लगानीकर्ता अझै सशंकित छन् ।

यस्तोमा धेरै विश्लेषकहरूको सन्देश छ- एक्समा पोष्ट गरिरहने स्मार्टफोन फोन राख, काममा फर्क ।

टेस्ला अब पछि परिसकेको छ

एलन मस्क

प्रविधि पत्रकार कारा स्विशरका अनुसार टेस्ला अब शीर्ष सूचीमा छैन। बीबीसीसँग कुराकानी गर्दै उनले भनिन्, ‘चालकबिनाका कारमा टेस्लाले लिएको अग्रता अब गुमिसकेको छ। गुगलको वेमो जस्ता प्रतिस्पर्धीहरू अझै अघि बढेका छन्।’

अहिले सन फ्रान्सिस्को लगायतका सहरमा वेमोका चालकबिनाका गाडी सहजै देखिन्छन्। टेस्ला भने यो दौडमा पछाडि परेको छ।

यता मस्क चाही टेक्सासको अस्टिनमा टेस्लाको चालकबिनाको मोडल वाई गाडी सार्वजनिक गर्ने तयारीमा छन्। तर, विश्लेषक ड्यान इवेस चाहिँ टेस्लाको भविष्यको ९० प्रतिशत मूल्य यिनै स्वचालित कार र रोबोटिक्सबाट आउने आम्दानीमा निर्भर रहेको भएपनि त्यसतर्फ  मस्कको ध्यान नरहेको टिप्पणी गर्दछन्।

मस्कको प्राथमिकता कता ?

एलन मस्क

एलन मस्कका पछिल्ला गतिविधिहरुले एउटा प्रश्न उठाएको छ। के मस्क अझै पनि आफ्ना कम्पनीहरूको दीर्घकालीन भविष्यप्रति गम्भीर छन् ?

आखिर मस्क फेरि प्रविधि दुनियाँमा नेतृत्व गर्न चाहन्छन् वा राजनीतिमा रमाउँदै आफ्नो ध्यान भंग गरिरहेका छन् ? भन्ने बहस सिलिकन भ्यालीमा चलिरहेको छ।

वित्तीय सल्लाहकार रोस जरबर भन्छन्, ‘जब मस्क गम्भिरतापूर्वक कुनै कुरामा ध्यान दिन्छन्, तब उनी निकै प्रभावशाली हुन्छन्। तर, ट्रम्पप्रति देखिएको विगतको उनको झुकाव अनि अहिलोको टकराव र दक्षिणपन्थी राजनीतिले अब टेस्लालाई घाटा पुर्‍याउँदैछ।’

जरबरका अनुसार राष्ट्रपतिसँग भिड्न खोज्नु आफैंमा मूर्खता हो।

टेस्ला र स्पेसएक्स : असहज मोडमा

लंदन में मस्क विरोधी प्रदर्शन

मस्कले ट्रम्पसँग भिड्नु अघि नै टेस्ला आलोचनाको घेरामा थियो। अमेरिकाका विभिन्न सहरहरूमा टेस्लाविरुद्ध प्रदर्शनहरू भैरहेका थिए।

यो वर्षको पहिलो त्रैमासिकमा टेस्लाको बिक्री २० प्रतिशत घट्यो भने मुनाफामा ७० प्रतिशतभन्दा बढीले कमी आयो। यसका लगानीकर्ताको आत्मविश्वास कमजोर बन्दै गएको छ।

टेस्ला टेक डाउन नामक अनलाइन अभियान चलाइरहेका अनुसन्धानकर्ता जोन डोनोभन भन्छन्, ‘यो केवल कम्पनीको आर्थिक संकट होइन, बरु मस्कले टेस्लाका शेयरहरू प्रयोग गरेर बनाएको एकाधिकार शैलीको समस्या हो।’

एक्स र मस्कको छवि

माइक्रो ब्लगिङ साइट ट्विटर किनेपछि मस्कले त्यसलाई एक्स मा रूपान्तरण गरे । उनी यसमार्फत आफ्ना विचारहरू तुरुन्त लाखौं मानिसमा पुर्‍याउँछन् । आलोचकहरू चाहिँ मस्कले एक्सलाई आफ्नो व्यक्तिगत प्रभाव जमाउने माध्यम बनाएको बताउँछन्।

तर, ट्रम्पसँगको विवादले उनलाई नपत्याउने केही प्रगतिशील वर्ग पुनः उनको पक्षमा फर्किन सक्ने सम्भावना विश्लेषकहरूले देखेका छन्।

प्याट्रिक मूरहेड भन्छन् – अमेरिका यस्तो देश हो जहाँ माफ गर्न समय लाग्छ, तर पुनरागमन सधैं सम्भव हुन्छ ।

प्रविधि पत्रकार कारा स्विशर मस्कको तुलना बिल गेट्ससँग गर्छिन् । उनका अनसार कुनै समय गेट्स पनि डार्थ वेडर जस्तै देखिएका थिए, तर पछि परिपक्व भएर पुनःस्थापित भए। मस्कसँग पनि त्यस्तै सम्भावना छ।

स्पेसएक्स र स्टारलिंकमा असर ?

अब मस्कको अर्को ठूलो कम्पनी स्पेसएक्सको कुरा गरौं । समयले माग गरेमा मस्कसँग भएका सरकारी सम्झौता रद्द गर्ने चेतावनी ट्रम्पले दिएका छन् ।अमेरिकी सरकारले मस्कका कम्पनीहरुसँग गरेका ठेक्का सम्झौताहरुको मूल्य लगभग ३८ अर्ब डलर छ र त्यसमध्ये ठूलो हिस्सा स्पेसएक्ससँग जोडिएको छ।

हुनत त्यसरी सम्झौता भंग गर्न त्यति सजिलो छैन। नासाले अहिले अन्तरिक्ष यात्री पठाउन स्पेसएक्सकै ड्र्यागन यान प्रयोग गरिरहेको छ। यो सम्झौता रद्द गर्नु ट्रम्पका लागि पनि कठीन हुन सक्छ । यस्तै, मस्कको इन्टरनेट सेवा स्टारलिंकको विकल्प छिट्टै पत्ता लगाउनु अमेरिकी सरकारका लागि चुनौतीपूर्ण हुनेछ।

त्यसैले मस्क र ट्रम्पबीचको मित्रता अहिले चिसिएको त देखिन्छ। तर उनीहरूबीचको अन्तरनिर्भरता अझै समाप्त भइसकेको छैन । अब मस्कको भविष्य केवल उनले के निर्णय गर्छन् भन्नेमा मात्र होइन, ट्रम्पको राजनीतिक रबैया कस्तो हुन्छ भन्नेमा पनि भर पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?