+
+
Shares
ट्रम्प उदयपछि अमेरिकी सपना : :

अधकल्चो अमेरिकी सपना- उता चिन्तामा छोराछोरी, यता बा-आमा

३७ नेपालीलाई अमेरिकाले फर्कायो । केही वर्षदेखि रुकुममा चुलिएको ‘अमेरिकन ड्रिम’ले बेसाएको दुःख ट्रम्पले अमेरिकी सत्ताको बागडोर दोस्रो पटक सम्हालेयता झन् चुलिएको छ ।

नवीन विभास नवीन विभास
२०८२ जेठ २६ गते २१:५०

गएको १६ वैशाखको दिनभर काठमाडौंको बिजुलीबजार मूल सडक आन्दोलनरत शिक्षकले भरिभराउ थियो । केही शिक्षक नारा लगाउँदैथिए, केही नाचगान र केही फोटो सेसन गर्दै ।

आन्दोलनमा सहभागी हुन रुकुम (पश्चिम) बाट काठमाडौं आएका एक जना शिक्षक भने आन्दोलनस्थल छेवैको एउटा ल फर्ममा भेटिए । दुई वर्षअघि अमेरिका पुगेका जेठा छोरालाई पठाइदिने कागजात तयार पार्दैथिए ।

‘अमेरिकामा बस्न पाउने कि नपाउने भनेर छोराको सुनुवाइ हुँदैछ । दुई वटा कागज छुटेको थियो । वकिललाई बनाउन लगाएर यो कागजको फोटो पठाउँदैछु, मिल्यो भन्यो भने ओरिजिनल पठाउने हो’, ती शिक्षकले क्लियर ब्यागमा बसेका तयारी कागजका पाना मुसार्दै भने ।

कागज पानामा नेपाल छोड्नुको ‘कारण’ कोरिएको थियो । जसले ‘जातीय विभेद’ले अमेरिका पुगेको भन्थे । पानी चल्ने र नचल्ने नेपालको जात व्यवस्थाले पिंधमा पारेर दलितलाई पेल्नु पेल्दै सास न बास बनाएको थियो । भलै अमेरिका जाने ठूलो संख्याले कागज पानामा ‘माओवादी द्वन्द्व’लाई ‘कारण’ कोर्थे ।

११ वर्ष हेडसर चलाएका ती शिक्षक समाजसेवामा पनि सरिक थिए । जिल्लामा प्रतिष्ठा पाएका थिए । दुई वर्षयता थपिएको परिचय ‘अमेरिकाने छोराको बा’ बोक्न भने उनलाई ‘भारी’ भएको थियो ।

‘माओइष्ट ड्रिम’ बारीमा मौलाएको ‘अमेरिकन ड्रिम’ले रुनु न हाँस्नु भएका थिए ।

हार्ने कमला, रुने रुकुम

राजधानीमा शिक्षकले गएको चैत र वैशाखमा गरेको आन्दोलनमा सहभागी हुन आएका पूर्व र पश्चिम दुवै रुकुमका एक दर्जनजति शिक्षकलाई सुनें । कति शिक्षकका छोरा–छोरी तल्लो (अवैध) बाटोबाट अमेरिका गएका थिए । कतिका छोरा–छोरी बाटोमै थिए । आन्दोलनमा सहभागी ती शिक्षक दुई ‘डर’ले थरर्र थिए ।

एक, अमेरिका गएका छोराछोरीलाई ट्रम्पले नेपाल फर्काइदिए भने के होला ?

दुई, सरकारले विद्यालय शिक्षा ऐन दिएन भने के होला ?

चुनाव हारेकी कमला ह्यारिसनभन्दा बढ्ता उनीहरू रनाहा परेका थिए । दिनमा भोक थियो न रातमा निद्रा । जो सुदूर रुकुमका चियागफ होस् कि मेलापात, ट्रम्प तर्सो भएर दिनानुदिन चुलिंदैथियो । सात समुद्रपारि अमेरिकामा ट्रम्पले चुनाव जित्दा नेपालको सुदूर रुकुमका सर्वसाधारणको निद्रा–भोक किन र कसरी बिथोलियो ? कारण थियो, भूमण्डलीकरण !

डोनाल्ड ट्रम्पसँग चुनाव हारेकी कमला ह्यारिस र रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–६ स्थित स्याला गाउँ, जहाँका अधिकांश घरबाट मानिसहरू अमेरिका गएका छन् ।

रुकुम (पश्चिम) सदरमुकाम मुसिकोटमा पढाउने प्राथमिक तहका एक शिक्षकका छोरा त एक महिनाअघि मात्र अमेरिका पुगेका थिए । बोल्दा बाइलो (अर्घेलो) होला कि भनेर उनले बोल्न मानेनन् । २५ वर्षका उनका छोरालाई झन् गाह्रो होला कि भनेर शिक्षकपिता चिन्तित थिए । ओभरसियर पढेका उनका छोरा पच्चीस प्रतिशत ब्याजमा ९० लाख गोडाले अमेरिका पुगेका थिए । पुग्न डेढ वर्ष लागेको थियो ।

क्षेत्री समुदायका गहुँगोरा ती शिक्षक अन्कनाए, ‘छोरो पुगेको भर्खरै एक महिना भयो । बोल्दा छोराको भविष्य नै भत्कने हो कि ? त्यत्रो पैसा खर्चेर गएको छ । भो नबोलम् ।’

ती जस्तै धेरै शिक्षक बोल्न अन्कनाए । जसका छोराछोरी अमेरिकामा थिए, जसका छोराछोरी अमेरिका जाने बाटोमा थिए । हजार हण्डर खाँदै अमेरिका पुग्नु पनि, ट्रम्प टुप्लुक्क टुप्लुकिनु पनि, कस्तो अभाग ! अमेरिका पठाउँदा ऋणले यसै थलिएका ती बा–आमाका खट्निसमाथि थप्निस थपिएका के कुरा !

राजथलाबाट अमेरिका

राजा वीरेन्द्रकी बहिनी शोभाको बिहे भएको रुकुमकोट । पञ्चायतमा शोभाको नाउँबाट शोभा गाउँ पञ्चायत भयो । बहुदलपछि शोभा गाउँ विकास समिति । गणतन्त्रपछि रुकुमकोट गाउँ विकास समिति भएको थियो । अहिले रुकुम (पूर्व) जिल्ला र सिस्ने गाउँपालिका सदरमुकाम ।

रुकुमकोटको शाही खलकीय सानो तप्का काठमाडौंको दरबारसँग जोडिएको थियो । त्यही दरबार अर्थात् राजा वीरेन्द्रकी बहिनी बिहे भएको रुकुमकोट बाहुनथाना र आलामा ठकुरीको घना बस्ती छ ।

रुकुमकोट र त्यस वरपरका क्षेत्री, दलित, आदिवासी जनजाति रोजीरोटीको लागि कालापार जान्थे । रुकुमकोटे ठकुरी र बाहुनलाई कालापार जान परेन । ठकुरीको खेतीयोग्य जमिन मनग्य थियो । खान–लाउन हर्जा थिएन । बाहुन जागिरमा जोडिएका थिए । त्यसैले वर्षौंदेखि नेपालका गरिब परिवारमा जारी ‘लेबर माइग्रेसन’ले रुकुमकोटका ठकुरी र बाहुनलाई छोएको थिएन ।

एकदिन अमेरिकन ड्रिमको आँधीले राजधानी काठमाडौंका शाह राज परिवारसँग वैवाहिक सम्बन्ध जोडिएका तर काठमाडौं जान नसकेका ठकुरीथलो, भुरेटाकुरे राजा खलकीय थलोलाई पनि हल्लायो । यसरी हल्लायो कि, ती ठकुरी र बाहुन पनि तल्लो बाटोबाट अमेरिका लगेरै छाडे ।

यसका कारण थिए । एक, समय बित्दै जाँदा भुरेटाकुरे राजा पालाका खेतबारीले तिनका आकांक्षा र सपनाको उडान भर्न सकेन । दुई, तिनका सपना र महत्वाकांक्षा फुलाउन थातथलो नपुग भयो ।

रुकुमकोट बाहुनथानाकी कल्पना शाह शिक्षक दम्पती । जागिर सिलसिलामा कल्पना आफ्ना दुई छोराछोरीसँग टाढा भइन् । छोराछोरीसँग सुख साट्ने सपना सजाएकी कल्पना जागिरको उत्तराद्र्धमा पुग्दा आस्सिएकी थिइन्, ‘आमाको साथ चाहिने बेला छोराछोरीका साथ हुन पाइनँ, अबको समय छोराछोरीसँग ।’

छोरीको बिहे भयो । बचे छोरा । आमामन फेरि आस्सियो, ‘छोरो आफ्नै आँगनमा अडियोस् । सानोतिनो व्यवसाय गरोस् ।’

कल्पना स–साना चिचिला छाडेर करिब १० किलोमिटर पूर्वोत्तर खाबाङको स्कूलमा पढाउन थालेकी थिइन् । त्यसबेला उनका छोरा दुई वर्षका थिए । यो थियो, २०५० सालतिरको कुरा ।

दिन बिते । छोराले प्लस टु सके । स्नातक पढ्न जापान जान जापानी भाषा सिके । फागुनमा जापान जाने प्रक्रिया चल्यो । तर, असोजमा अमेरिका पठाउने दलालसँग छोराको भेट भयो । पैसा कमाइने, पत्नी, छोराछोरी र आमा–बा पनि लैजान पाइने भनेर दलालले लालसा देखायो । दलालको लालचले उनलाई मोहनी लगायो । त्यसबेला छरछिमेकबाट एक/दुई जना मात्र अमेरिका पुगेका थिए । त्यो पनि तल्लो बाटोबाट ।

अभिभावकले ‘नजा’ भने पनि छोराचाहिं अमेरिका जाने नै भए । अठार लाखको गोडाले असोजमा हिंडेका छोरा चैतमा अमेरिका पुगे । छोरीज्वाइँले पनि छोरालाई नै पछ्याए । छोरीज्वाइँ त एकपालि भियतनाम र अर्कोपालि ब्राजिलबाट फर्केका थिए । दुई वर्षपछि बल्ल अमेरिका पुगे । कान्छा भाइले पनि छोराकै बाटो पछ्याए । भाइ गएकै चार वर्ष भयो । भाइले भने दिदीलाई तल्लो बाटोको सुखदुःख भिडियोमा देखाउँदै अमेरिका गए । त्यसबेला कल्पना छानोबाट खसिन् ।

‘एउटा छोरालाई पठाउने कस्ती निर्दयी आमा होला भनेर भन्थे । यति दुःख रहेछ र पो भनेका रहेछन्’, उनले सुनाइन् । तल्लो बाटो कति खतरनाक छ भनेर छोरा र छोरीज्वाइँले कल्पनालाई सुनाएका थिएनन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएराति अमेरिकाले डिपोर्ट गरेर फर्काइदिएका नेपाली

अहिले उनका छोरा, छोरी, छोरीज्वाइँ, भाइ अमेरिकामै छन् । बुहारीले पनि अमेरिका जान प्रक्रिया थालेकी छन् । ‘छोरा, छोरी, छोरीज्वाइँ, नातिनातिना, भाइ सबै उतै छन् । जेठाजुको छोरा र नाति पनि उतै छन्’, उनले सुनाइन् । रुकुमकोट र अमेरिका भिडियोकल गर्छन् । सन्चोबिसन्चो साट्छन् ।

‘अमेरिकामा छोरो १८ घण्टा काम गर्छ, यता गाउँका बारी बाँझा छन्’ शाहले सुनाइन्, ‘विदेशको जस्तो सिस्टम हाम्रो सरकारले पनि गर्ने भए, काम र माम यहीं पाइने भए किन विदेशिने थिए र !’

छोरा अमेरिका गएको १३ वर्ष भयो । गएको १० वर्षपछि पहिलो पटक छोरा घर फर्केका थिए । तीन वर्ष बित्यो, त्यसयता उनले गाउँ टेकेका छैनन् ।

सात समुद्रपारि अमेरिकामा रहे पनि आमामन छोराछोरीमै अल्झिएको थियो । उनले गुन्गुनाइन्, ‘मेरै हातले पकाएर खुवाउन पाए हुन्थ्यो । नजिकै भए हुन्थ्यो । बिसन्चो भएको बेला ‘आमा के भयो’ भनेर सोधे हुन्थ्यो । सन्चो हुँदा पनि ‘राम्ररी केयर गर्नुस्’ भने हुन्थ्यो । अरू त के आशा हुन्छ र ? महँगा कपडा किन्दिए हुन्थ्यो भन्ने आमाको मनमा नआउँदो रहेछ । सुख शान्ति साथ बाँचून्, बसून्, खाऊन् भन्ने भावना हो । आमा त आफू रित्तिए पनि छोराछोरीबाट आशा केही पनि नराख्ने के भाइ । यो मेरो अनुभव हो है । … छोरो सुखले बसे हुन्थ्यो, धन नभए पनि परिवार जहानसँग सुख–शान्तिसाथ हाँसीखुसी बसे हुन्थ्यो, त्यसरी नै जिउन् भन्ने लाग्छ । जतिखेर पनि आमाको माया छोराछोरीमाथि छताछुल्ल … !’

भविष्य बनाउन अमेरिका

छोरालाई अमेरिका पठाइदिने कागजात तयार पार्न ल फर्म पसेका शिक्षक शशिराम बिक (५८) थिए । ल फर्मबाट निस्किएपछि बबरमहल कला परिषद्छेवैको चियापसल पुगे । चिया सुरुप्प पार्दै उनले छोरा अमेरिका जानुअघिका समय सम्झिए । जसमा अमेरिका जाने बाटोमा बार बार्न बनाएका बहाना थिए ।

बहाना एक, आफ्नै देशमा बसे सम्मान हुन्छ । विदेशमा जति कमाए पनि अर्काको देश हो, इज्जत हुँदैन ।

बहाना दुई, एउटा शिक्षकले त्यति धेरै पैसा कसरी जम्मा गर्न सक्छु ?

बहाना तीन, अमेरिका जाने छोराछोरीका भविष्यको लागि होइन ? छोराछोरी नै नभएपछि कसका लागि जाने ?

बहाना तेस्रो नम्बर तीनको व्याख्या गरे ।

त्यसबेला भर्खर बिहे भएको थियो । छोरालाई सम्झाए, ‘तिमी अमेरिका गएपछि सके त परिवार नै भत्केला, कतिका बिहे भत्केका छन् । बिहे बचे भने पनि बुहारीको बच्चा पाउने उमेर घर्किसकेको हुनेछ । बच्चाबच्चीको लागि न कमाउने होला । बच्चा नै नभएपछि कसको लागि कमाउने ?’

छोराले सोधे, ‘बा, मलाई अमेरिका जान नदिने कुरो यै हो त ?’

बाले भने, ‘हो त ।’

अमेरिका जाने कुरा छोराले बन्द गरे । एक–डेढ वर्षको अन्तरालमा नातिनी जन्मी ।

त्यसपछि छोराले भने, ‘बा, तपाईंको माग पूरा भयो । अब कहिले अमेरिका पठाउने ?’

अमेरिकन ड्रिमले डसेपछि पढ्ने मन मरिसकेको थियो । तैपनि बाले बेलाबेलामा छोरालाई ‘पढ’ भन्थे । एकदिन छोराले सोधे, ‘तपाईंले पढेर के गर्नुभयो ? समाजमा देखाउने केही गर्नुभयो ? मैले पढेर के हुन्छ र ?’

‘यो गरें’ भनेर देखाउने चिज शिक्षक बासँग थिएन । हाम्रो समाजले ‘प्रगति’ भन्ने केही चिज थिए । एउटा थियो, शहरमा घर । सडकमा गाडी । न शहरमा उनको घर थियो न त सडकमा गाडी गुड्थ्यो !

केही समय यसै बित्यो । त्यसै बीचमा एकदिन उनकी बुहारीको भाइ अमेरिका गए । बुहारी माइत गइन् ।

बुहारीले उनका बालाई भनिन्, ‘छोराको मात्र भविष्य हेरेर हुन्छ ? छोरीको भविष्य हेर्न पर्दैन ?’

बुहारीको बाले सोधे, ‘छोरी, कसरी हेर्ने छोरीको भविष्य ?’

भनिन्, ‘तपाईंको ज्वाइँलाई अमेरिका पठाएर ।’

बुहारीका बा अर्थात् सम्धी सामान्य परिवारका थिए । उनै सामान्य परिवारका सम्धीले छोरीलाई भने, ‘सम्धीसँग कुरा गर, आधा पैसा म बेहोर्छु ।’

अमेरिका पठाउने दबाब चौगुनियो । त्यसैबीच दुई परिवारको बैठक बस्यो । दलालसँग कुरा गरे । दलालले ५२ लाखले अमेरिका लैजाने भन्यो ।

सम्धीले भने, ‘तीस लाख मेरो जिम्मा भयो ।’

तुरुन्तै सम्धीले दलाललाई पाँच लाख दिए । दलालले काम थाल्यो ।

एकदिन छोरा अमेरिका जाने भए ।

सम्धी र सम्धिनी उनको घरमा आए । बिहान चार बजे छोरालाई विदाबारी गरे । बुहारीको भाइलाई बिदा गर्दा उनलाई लागेको थियो, ‘सम्धी बड्डाले साइत हेराउँदा बिहान चार बजे निक्लियो होला ।’

छोरा पठाएपछि उनले बल्ल थाहा पाए, ‘बिहान चार बजे त चारपाँच मिटरभन्दा पर नदेखिने रहेछ । नदेखेपछि पठाउने र जानेलाई हुने गाह्रो घट्ने रहेछ । छोरो हिंडेको पदचाप सुनिंदासम्म हेरें । चार–पाँच मिटरभन्दा पर देखिएन । नदेखे जाने र पठाउनेलाई सम्हाल्न सजिलो भयो । सम्धी बड्डाले मन सम्हाल्न पो चार बजे रोजेका रहेछन् ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएराति अमेरिकाले डिपोर्ट गरेर फर्काइदिएका नेपाली

काठमाडौंबाट दुबई उडे । दलालले नयाँ प्रस्ताव ल्यायो– ५२ लाखमा २५ लाख थपे जहाजबाट नै अमेरिका । जंगलमा हिंड्ने र डुंगा चढ्ने सबभन्दा जोखिम थिए । २५ लाख पनि थपे । छोरा दुई महिनामै अमेरिका पुगे ।

‘पहिले अलिअलि पिउँथें, छोरो अमेरिका हिंडेपछि मात्रा बढ्यो’ उनले सम्झिए । रक्सीको मात्रा बढेको छोराको कानमा पनि पुग्यो । छोरालाई उद्धृत गर्दै उनले सुनाए, ‘बा, कुन चिन्ताले रक्सी खान थाल्यौ ? अब त म कमाउने भएँ । जागिर गर्न पर्दैन, अब । तपाईं मरेपछि म अमेरिका आएको के सार रह्यो त ? तपाईं त बाँच्न पर्छ । छोराले भिडियोकलमा यस्तो भनेपछि अहिले रक्सी खान्नँ ।’

अमेरिका पुगेर काममा लागेको गएको माघमा दुई वर्ष भयो । उनले आफ्नो, पत्नी र बुहारीका फरक–फरक चिन्ता सुनाए ।

‘कहिले ग्रीनकार्ड होला र अमेरिका उडम्ला भन्ने बुहारीको चिन्ता छ । दश वर्षसम्म बाँच्न सकिन्छ कि सकिन्न भन्ने बड्डीलाई चिन्ता छ । ट्रम्प आएपछि झन् टाउकोदुखाइ छ । ऋण नफाल्दै ट्रम्पले छोरो फर्कायो भने के गर्ने होला ?

उनले अरूका कुरा सुनाए, ‘के चिन्ता, छोरो अमेरिका गएको छ । जे खाए पनि लाए पनि भयो । ऋण बोकेर हिंडेको के थाहा ? झन् कन्जुस हुनुपर्ने अवस्था छ । पैंतालीस लाख ऋण छ ।’

लामो समय भयो छोरासँग प्रत्यक्ष भेट भएको छैन । तर, छोरासँगको न्यास्रो मेट्न प्रविधिले सघाएको छ । भिडियोमै छोराले खाए–नखाएको, लगाएको हेर्छन् ।

‘प्रत्यक्ष भेट भए जस्तो हुन्छ । अरूका छोराका कुरा सुन्छु– मेरो छोराले फोनै गर्दैन, यताबाट गरेको पनि उठाउँदैन । तर मेरो छोराले दिनमा आमा–बालाई एकपालि फोन गर्छ’ उनले भने, ‘आमाछोरा त खाना र स्वास्थ्यको मात्र कुरा गर्छन् । मसँग भने आज कमाइ कति भयो ? भन्छु, किन रातदिन काम गर्ने ? ऋण तिर्ने भए त भयो । आमालाई त छोराले कति कमाउँछ भन्ने पनि थाहा छैन ।’

छोराले खाना ओसार्ने काम गर्छ । करिब आठ लाख रुपैयाँ पर्ने स्कुटीमा अर्डर भएका खाना पुर्‍याउँछ ।

उनका चार छोराछोरी । दुई छोरीको बिहे भयो । दुई छोरीपछि जन्मेको जेठो छोरो अमेरिका । कान्छो काठमाडौंमा । छोरो इलेक्ट्रिकल इन्जिनियर र बुहारी भेटनरीको निजामती कर्मचारी छिन् । उनका सम्धी ज्वाइँ र छोरो अमेरिकाबाट घर नफिर्दै बिते ।

२०४३ मा एसएलसी गरेका बिकले एमएड पास गरेका छन् । बिकका साथी जति कालापार (भारत) आउजाउ गर्छन् । नयाँ पुस्तामा पुग्दा कालापार तन्केर खाडी पुगेको थियो । खाडीपछि अहिले अमेरिका ।

‘ऋण हुँदाहुँदै ट्रम्पले फर्कायो भने के गर्ने ? छोराको चिन्ताले सताउँछ । आर्थिक उन्नति भन्दा पनि छोरो घर आउने वातावरण र ऋण तिरेर आए स्थिति बिग्रँदैनथ्यो’, बिकले भने ।

लोकसेवा होइन, अमेरिका

रुकुम(पश्चिम) सदरमुकाम मुसीकोट र यसको सेरोफेरो कुनै बेला लोकसेवा पढ्ने लहरमा लहरिएको थियो । शिक्षक टेकबहादुर खत्री (५२)ले छोरालाई लोकसेवा तयारी गर्न सुझाए ।

छोराले ठाउँको ठाउँ ठहरै हुने गरी सोधे, ‘जागिरले के हुन्छ ? तपाईंले जागिर गरेर के गर्नुभयो ?’ शिक्षक बिकको जस्तै ताल थियो, खत्रीको पनि ।

शिक्षक आन्दोलनमा आएका खत्रीले सुन्धारा टेलिकमको चियाखानामा कालो चिया सुरुप्प पार्दै अमेरिकारत छोरो सम्झिए । दुई छोरा र दुई छोरीमा कान्छो छोरा अमेरिका गएका थिए । प्राथमिक विद्यालय तहका शिक्षक बासँग छोराको प्रश्नको जवाफ थिएन ।

१२ पास छोरो त्यसबेला २२ वर्षका थिए । अमेरिका जाने नै भएपछि पैसा जम्मा गर्नै पर्‍यो । बैंकमा चिनजान थियो । पैतीस लाख बैंकले दियो । त्यही गोडाले उनका छोरा अमेरिका पुगे । अमेरिका गएको भदौमा तीन वर्ष पुग्यो, घरबाट अमेरिका हिंडेको चार वर्ष । छोरा अविवाहित छन् ।

खत्री बेला–बेलामा छोरालाई खाने–लाउने नेपालबाट नै पठाउँछन् । कार्गो गरेपछि सात–आठ हजारमा छोराको कोठामै सामान पुग्छ । पठाउने सामान सम्झिए, ‘जुत्ता, तयारी पोशाक, गुन्द्रुक, लोकल कुखुराको फ्राई मासु …।’

अहिलेसम्म छोराको ठिकठाक चलिरहे पनि एक छिमेकी भने फर्किएका थिए । ट्रम्प प्रशासनले २२ वर्षीय दलित युवालाई फर्काएपछि उनको परिवार बिचल्लीमा थियो । अमेरिका जान ८० लाख ऋण गरेका थिए । खत्रीका अर्का छिमेकी लोकबहादुर ददेलका छोरा पनि अमेरिका थिए । ददेल गएको चुनावमा माओवादीबाट वडाध्यक्ष प्रत्यासी थिए ।

त्यसपछि उनले १९ वर्षसम्म स्थायी शिक्षक भएर काम गरेका साथी सम्झिए । जो पहिले छोरो पठाए, पछि आफैं अमेरिका गए । आफू अमेरिका पुगेको एक महिनापछि स्कूलमा राजीनामा पठाए ।

क्रमशः

लेखक
नवीन विभास

नवीन विभास लेखक तथा पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?