
News Summary
Generated by OK AI. Editorially reviewed.- माङ्गा जापानी संस्कृतिको गहिरो जरा गाडेको कला हो, जसले विश्वभरिका पाठकहरूलाई छोएको छ।
- यसको इतिहास १२औं र १३औं शताब्दीको एमाकिमोनोबाट सुरु भएको मानिन्छ, र आधुनिक स्वरूप दोस्रो विश्वयुद्धपछिको विकास हो।
- माङ्गाको शैली चित्र र कथालाई समान महत्व दिन्छ र यसको लोकप्रियता विश्वव्यापी रुपमा बढ्दै गएको छ।
चित्रहरूको त्यस्तो सङ्गालो, जहाँ देशको सिङ्गो संस्कृति छ । जसले विश्वभरका पाठकहरूका मनमस्तिष्कमा गहिरो छाप छाडेको छ । कहिले हाँसो, कहिले गम्भीर भावना त कहिले सामाजिक सन्देश बोकेको छ । यो भनिरहँदा आउने एउटै नाम हो, माङ्गा । अर्थात् चित्रमार्फत भनिने कथाहरू ।
मंगा र यसको विगतलाई बुझ्नाले जापानी समाज र यसले आफूलाई कसरी हेर्छ भन्ने कुरालाई राम्रोसँग बुझ्न मद्दत गर्छ।
के हो माङ्गा ?
यसको मूल जापानसँग जोडिन्छ । खासमा जापानी कमिक पुस्तक र ग्राफिक्स उपन्यासहरू नै माङ्गा हुन् । तर त्यति बुझ्दा माङ्गालाई गलत पनि बुझिन सक्छ । यसको शाब्दिक अर्थ ‘विलक्षण वा तत्काल चित्रहरू’ हो ।
सरल रूपमा भन्दा माङ्गा भनेको जापानी संस्कृतिमा गहिरो जरा गाडेको कलाको एक रूप हो । यो विभिन्न उमेर समूह सुहाउँदो हुन्छ । एक हिसाबले भन्दा यो मनोरञ्जनको गतिलो स्रोत हो । तर यसको परिभाषा त्यतिमा सीमित छैन । यसका रोचक कथाहरू, गहिरा पात्रहरू र विविध विषयवस्तुहरूले यसलाई कुनै पनि कमिक्स अथवा ग्राफिक्सभन्दा फरक बनाउँछ ।
माङ्गा धेरै हदसम्म जापानी मिथक, लोककथा र परम्परागत सांस्कृतिक विश्वासहरूसँग जोडिएको छ । विशेष गरी माङ्गामा देवीदेवता वा आत्माहरू, रहस्यमयी प्राणीहरू, बुद्ध धर्मका कुराहरू आउने गर्छन् । यसले सांस्कृतिक मौलिकता कायम गर्ने काम गरिरहन्छ । यसबाट पुरानो कथालाई नयाँ सन्दर्भमा पुन: भन्न सकिन्छ । सबैभन्दा मुख्य कुरा यसले पाठकलाई गहिरो भावनात्मक स्तरमा छोइरहन्छ ।
माङ्गाका कथाहरू प्रायः श्यामश्वेत रुपमा छापिएका हुन्छन् । यसको मुख्य कारण समयको कमी, कलाकारको छनोट र मुद्रण लागत कम राख्नु हो । छोटोमा भन्दा माङ्गाको उत्पादनका व्यावहारिक पक्षहरू (लागत र समय) ले यसको शैली पनि तयार पारेको हो । तर सबै माङ्गा कालो र सेतो रङ्गका मात्रै हुँदैनन् । केही बहुरङ्गी पनि हुन्छन् । तर, रङ्गीन पृष्ठहरू प्रायः विशेष अङ्क वा सुरुवातका लागि मात्र प्रयोग गरिन्छ।
माङ्गाको इतिहास
माङ्गाको इतिहास शताब्दीयौं पुरानो छ । खोज्ने हो भने यसको जरा प्राचीन जापानी कलासँग ठोक्किन पुग्छ । विशेषत: माङ्गाको उत्पत्ति १२औं र १३औं शताब्दीका एमाकिमोनो (लामो कागजमा बनाइएको चित्र र लेखिएको लेख) बाट भएको मानिन्छ ।
माङ्गा शब्दको प्रयोग भने १८औं शताब्दीको अन्त्य र १९औं शताब्दीको सुरुआतमा भएको पाइन्छ । यस शब्दलाई आधुनिक अर्थमा प्रयोग गर्ने पहिलो कलाकारको श्रेय भने किताजावा राकुतेन (१८७६–१९५५) लाई जान्छ । उनैले आफ्नो किताब ‘जिजि माङ्गा’ (१९००) मा यो शब्दको प्रयोग गरेका थिए ।
यता आधुनिक स्वरूप भने दोस्रो विश्वयुद्धपछिको जापानी समाजको पुनर्निर्माणसँगै विकसित भएको पाइन्छ । यसका लागि ओसामु तेजुका महत्त्वपूर्ण व्यक्ति मानिन्छन् । जापानमा उनलाई प्रायः ‘माङ्गाका देवता’ भनेर चिनिन्छ । उनको ‘माइटी एटम’ अत्यन्त लोकप्रिय माङ्का सिरिज हो । जुन हिरोसिमा र नागासाकी आक्रमण पछि उनले सिर्जना गरेका थिए ।
तेजुका पछि माचिको हासेगावा अर्का महत्त्वपूर्ण व्यक्ति हुन् । उनको ‘साजी-सान’ नामक माङ्गा मात्रै ६ करोड भन्दा बढी प्रति विक्री भएको बताइन्छ । त्यसैगरी सन् १९५० र ६० को दशकमा माङ्गा पढ्नेको संख्या बढ्दा विधागत भेद देखा पर्यो, जसले मुख्य विधाहरूलाई बलियो बनायो । अहिले माङ्गा महिला र पुरुष दुवै कलाकारले तयार पार्छन् । पढ्ने त सराबर नै छन् ।
माङ्गाको विशेषता
अहिले आएर कुनै ग्राफिक्स माङ्गा हुन निश्चित विशेषता पूरा गर्नैपर्ने हुन्छ । जुन माङ्गाको सबल पक्ष पनि हो । प्राय: माङ्गामा चित्र र कथालाई समान महत्व दिइन्छ । यसको चित्रण शैलीमा भावनात्मक अनुहार, ठूला आँखा, गतिशीलता हुन्छ । जसको सहयोगबाट पात्रको मनोभाव सजिलै बुझ्न सकिन्छ ।
यसको अर्को विशेषता भनेको पढ्ने तरिका हो । माङ्गा दायाँबाट बायाँतर्फ पढिन्छ, जुन जापानी लेखन परम्परा अनुसार हुन्छ । विदेशी पाठकहरूका लागि यो विशेष शैली सुरुमा फरक लाग्न सक्छ । तर यसले पढाइमा अनौठो आकर्षण थप्छ ।
विषयवस्तुको विविधता माङ्गाको अर्को विशेषता हो । बालबालिकादेखि वृद्धसम्मका लागि छुट्टाछुट्टै वर्ग र विधामा माङ्गा पाइन्छन् । कथावाचनलाई पनि माङ्गाको विशेषता मान्न सकिन्छ । प्राय: कथाहरू क्रमशः विकासित हुँदै जान्छन् । जसले पाठकलाई भित्रैसम्म तान्ने गर्छ । कुनै-कुनै माङ्गा त यतिसम्म लम्बिन्छन् कि तिनका पात्रहरूको विकास महिनौंदेखि वर्षौंसम्म चलिरहन्छ ।
माङ्गाका प्रकार
यसबाटै थाहा हुन्छ कि माङ्गाको संसार कति विशाल र विविध छ । यहीँ कारण नैं विभिन्न उमेर समूह र रुचि भएका पाठकहरू यसका प्रशंसक भएका हुन् । धेरै जेनजी पुस्ताले भने एनिमेसनहरू धिमा हुने भएकाले माङ्गा मन पराउने बताउँछन् । तर फेरि सबैलाई एकै प्रकारको माङ्गा मनपर्छ भन्ने छैन ।
माङ्गाका प्रकार
-शोनेन
यस प्रकारका माङ्गा १२ देखि १८ वर्षकालाई लक्षित गरी बनाइन्छ । यसमा प्रायः कार्य, साहसिकता र पात्रको विकास जस्ता विषयवस्तुहरू हुन्छन् । यसमा मित्रता, सङ्घर्ष र लक्ष्य प्राप्ति जस्ता विषयवस्तुलाई बढी प्राथमिकता दिइने गरिन्छ । ‘नारुटो’, ‘ड्रागन बल’, ‘वन पिस’ यसका केही लोकप्रिय उदाहरणहरू हुन् ।
-शोजो
यस्तो माङ्गा महिला पाठकहरू लक्षित हुन्छन् । यसमा रोमान्स, सम्बन्ध र भावनात्मक गहिराइ मुख्य विषयवस्तुका रूपमा प्रस्तुत गरिन्छन् । ‘सेइलर मुन’, ‘फ्रुट्स बास्केट’, ‘औरन हाई स्कुल होस्ट क्लब’ शोजो माङ्गाका केही चिनिएका उदाहरणहरू हुन् ।
-सेनिन
यो माङ्गा भने १८ देखि ४० वर्षका पुरुष पाठकका लागि बनाइएको हुन्छ । परिपक्वता, जटिल विषयवस्तु, नैतिकता, राजनीति, व्यक्तिगत सङ्घर्ष जस्ता विषयहरू यसमा देखाइन्छ । ‘बर्सेक’, ‘गोस्ट इन त शेल’, ‘टोक्यो घोल’ यसका केही उत्कृष्ट उदाहरणहरू हुन् ।
यीबाहेक हाँसो, डर, विज्ञान, खेल, रहस्य, इतिहास लगायतका विषयहरू समेट्ने माङ्गा हुने गर्छन् ।
यद्यपि हालैका वर्षहरूमा डिजिटल माङ्गा प्रकाशन हुने क्रम बढ्दो छ । जसलाई ‘वेब माङ्गा’ भनिने गरिन्छ । पिक्सिभ, एक्स (साविकको ट्विटर) जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरूका कारण वेश माङ्गा सतहमा आएको हो । थपमा भन्दा स्मार्टफोन र कम्प्युटरको उदयले माङ्गाको प्रकाशन शैलीमा परिवर्तन आएको हो । यसको असर स्वरूप डिजिटल माङ्गाको बिक्री बढ्दा कागजी माङ्गाको विक्रीमा घटिरहेको छ ।
माङ्गाको लोकप्रियता
अहिलेको समयमा माङ्गा जापानको मात्र नभई विश्वको भइसकेको छ । बहुआयामिकताको कारण माङ्गालाई यो लोकप्रियता मिलेको भन्न सकिन्छ । तर मुख्य रूपमा कला शैली र कथावाचन नै कारण हो ।
त्यसमा पनि माङ्गा अहिले धेरै युवा पाठकबीच लोकप्रिय छ । यसको कारण भनेको अमेरिकी कमिक्स भन्दा माङ्गा सजिलै उपलब्ध हुनु हो । जतिसुकै खण्ड भए पनि माङ्गा एउटै पुस्तकमा सङ्कलित गरिन्छ । तर अमेरिकी कमिक्स भने खण्ड-खण्ड गरेर प्रकाशन गरिन्छ । यसबाहेक अन्य भाषामा अनुवाद भएर बजारमा आउनु, डिजिल रूपमा सजिलै उपलब्ध हुनु माङ्गाको लोकप्रियताको एउटा कारण हो ।
त्यस्तै एनिमेसनको कारणले पनि माङ्गा युवाबीचमा लोकप्रिय भएको हो । किनकि एनिमेसनमा माङ्गाकै कथाहरू देखाउने गरिएको छ । जसले गर्दा धेरै युवाहरू एनिमेसनको माध्यममार्फत नै माङ्गासम्म पुग्छन् । माङ्गाको प्रभाव यतिसम्म फैलिएको छ कि फेसन, भिडिओ गेमका पात्रहरू, सजावटका सामग्रीहरूसम्म यो अटाउन सफल भएको छ ।
अहिले जापानबाहेक माङ्गाको ठूलो बजार चीन, कोरिया, भारत, फ्रान्स, इटाली, अमेरिका लगायतका देशहरू हुन् । अवस्था यस्तो छ कि ती देशहरूमा मात्र जापानी माङ्गा पुग्ने नभई स्थानीय कमिक उद्योगहरूलाई बढावा दिन पनि माङ्गाको भूमिका बढ्दो छ । ‘बङ्गाली माङ्गा’ त्यसको उदाहरण हो ।
अब छोटोमा बुझ्दा जापानी संस्कृति र कलालाई विश्वभर फैलाउने एउटा महत्त्वपूर्ण माध्यम माङ्गा हो । अहिले त माङ्गा सांस्कृतिक सीमाहरू पार गर्दै विश्वभरका मानिसहरूलाई जोड्ने एउटा पुल बनिरहेको छ।
प्रतिक्रिया 4