News Summary
Generated by OK AI. Editorially reviewed.- गणेशमान सिंहको स्मृतिमा आयोजना हुने पाँचौं वीर गणेशमान सिंह १० किमी रोड रेस असार १४ गते काठमाडौंमा हुनेछ।
- प्रतियोगितामा करिब ४५० भन्दा बढी धावक सहभागी हुने र विजेतालाई नगद पुरस्कार प्रदान गरिनेछ।
- कोर्स रेकर्ड तोड्ने पहिलो धावकलाई थप १० हजार रुपैयाँ पुरस्कार दिइनेछ।
२७ जेठ, काठमाडौं । गणेशमान सिंहको स्मृतिमा आयोजना हुँदै आएको वीर गणेशमान सिंह १० किमी रोड रेसको पाँचौं संस्करण आगामी असार १४ गते काठमाडौंमा आयोजना हुने भएको छ।
वीर गणेशमान सिंह फाउन्डेसन अन्तर्गत रहेको बीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने यस दौड प्रतियोगिता शेर्पा मल दरबारमार्गबाट सुरु भई भद्रकाली, रत्नपार्क, जमल, दरबारमार्ग, केशर महल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बालुवाटार, नक्शाल, जय नेपाल हल हुँदै पुनः दरबारमार्गमा समाप्त हुनेछ।
महिला र पुरुष दुवैतर्फ खुल्ला प्रतिस्पर्धा गरिने यस दौडमा विजेताहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ। दुवैतर्फ प्रथम स्थान प्राप्त गर्ने खेलाडीले नगद ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौं स्थान हासिल गर्नेले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा सञ्चालन हुने यस प्रतियोगितामा करिब ४५० भन्दा बढी धावकको सहभागिता रहने आयोजकले जानकारी दिएको छ। साथै, १० किमी कोर्स रेकर्ड तोड्ने पहिलो खेलाडीलाई थप १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
हालसम्मको कोर्स रेकर्ड महिलातर्फ राजपुरा पछाईले ३६ मिनेट ४३.२ सेकेण्डमा र पुरुषतर्फ गोपीचन्द्र पार्कीले ३१ मिनेट ११.४ सेकेण्डमा कायम गरेका छन्।
प्रतियोगितामा करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया 4