
२७ जेठ, काठमाडौं । २७ जेठ, काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।
मंगलबार बसेको परिषद्को बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल अनि उच्च अदालतका मुख्य न्यायाधीश शान्तिसिंह थापाको नाम सिफारिस गरेको हो ।
वरिष्ठ अधिवक्ता पोखरेल सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष समेत हुन् । पोखरेल केही महिना अघिमात्रै लोकतान्त्रिक समूहबाट सर्वोच्च बार अध्यक्षमा निर्वाचित भएका हुन् । उनी संवैधानिक एवं कर्पोरेट मामिलाका ज्ञाता मानिन्छन् ।
सर्वोच्च अदालतमा सिफारिस उच्च अदालतका मुख्यन्यायाधीश पौडेल न्याय प्रशासनबाट सेवा प्रवेश गरेका हुन् । उच्च अदालतमा ८० जना नियुक्त हुने क्रममा उनी पनि उच्च अदालतको न्यायाधीश भएका थिए । पौडेल विशेष अदालतको अध्यक्ष भइसकेका हुन् भने थापा सदस्य थिइन् । थापा तत्कालिन पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीश बनेकी थिइन् ।
न्यायपरिषद् सम्बद्ध स्रोतका अनुसार, सर्वोच्चमा रिक्त चार न्यायाधीशमध्ये दुईजना कानुन व्यवसायीहरूलाई सिफारिस गर्ने तय भएको थियो । त्यसमध्ये प्रजातान्त्रिक र प्रगतिशिल(एमाले)बाट एक/एक जना न्यायाधीश लैजाने तय भएको थियो ।
५ मंसिर २०८० मा दुवैजना उच्च अदालतको मुख्य न्यायाधीश बनेका थिए । संवैधानिक सुनुवाइबाट अनुमोदन भएमा पौडेल साढे ६ वर्ष सर्वोच्चको न्यायाधीश हुनेछन् भने थापाले पौडेलको भन्दा झण्डै एक वर्ष कम अवसर पाउनेछिन् ।
त्यसक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट आशिष अधिकारीको नाम आएको थियो भने शेखर लगायतको समूहबाट अरुण पौडेलको नाम थियो । दुवै नाम छाडेर परिषदले पोखरेलको नाम सिफारिस गरेको हो । एमालेका तर्फबाट ईश्वरीप्रसाद भट्टराईको नाम आएको थियो, तर न्यायपरिषदले एउटा पद खाली राखेर तीनजनाको मात्रै सिफारिस गरेको हो ।
प्रतिक्रिया 4