
News Summary
Generated by OK AI. Editorially reviewed.- लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले भारतीय गिरोहलाई खैरो हेरोइनसहित पक्राउ गरेको छ।
- पक्राउ परेका भारतीय नागरिकहरूले थप जानकारी दिएपछि अनुसन्धान अघि बढाइएको थियो।
- प्रहरीले २५० ग्रामभन्दा बढी खैरो हेरोइन पनि बरामद गरेको छ।
२७ जेठ, काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले खैरो हेरोइन (ब्राउन सुगर) कारोबार गर्ने भारतीय गिरोह भारतबाट नेपाल प्रवेश गरेको सूचना पायो ।
महँगो मानिने अवैध लागुऔषध खैरो हेराइन भारतबाट ल्याएर काठमाडौं उपत्यकामा किनबेच गर्ने गरेको सूचना पाएपछि प्रहरीले यो समूहमाथि निगरानी बढाएको थियो ।
उक्त गिरोह काठमाडौंसम्म आइपुगेको सूचना प्रहरीले राखेको थियो । प्रहरी स्रोतका अनुसार, यो टोली झापाको काँकडभिट्टा नाकाबाट दुई दिन अघि नै नेपाल प्रवेश गरेको थियो । लगत्तै, त्यहाँबाट काठमाडौं आइपुगेको थियो ।
यो समूहलाई इन्स्पेक्टर रोकश यादव, वरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोलीले पछ्याइरहेको थियो । ब्यूरो प्रहरीले मंगलबार दिउँसो करिब २ बजे काठमाडौं महानगरपालिका–११ सुन्धाराबाट सोही समूहका दुई जनालाई पक्राउ गरेको थियो ।
भारतको पठाना दानापुर घर भएका २० वर्षीय सुमित कुमार र सोही ठाउँकै २५ वर्षीय चन्दन कुमार जैसवाल सुन्धाराबाट पक्राउ परेका थिए ।
उनीहरूको साथमा खैरो हिरोइन रहेको पूर्व सूचना प्रहरीलाई थियो । यद्यपि, उनीहरूको साथबाट लागुऔषध भेटिएन ।
तर, पक्राउ परेका ती दुई भारतीय नागरिकले प्रहरीले थप सूचना दियो ।
ती नागरिकलाई केरकारपछि उनीहरूले नै दिएको सूचनाका आधारमा प्रहरीले थप अुनसन्धान अघि बढायो ।
जसक्रममा उनीहरूको लोकेशन टोखामा देखिएको प्रहरीले बताएको छ ।
फिल्डमा यादव र सञ्जेलसहितको टोली खटिएको थियो । सादा पोशाकमा खटिएका प्रहरी टोलीले उनीहरूलाई पछ्याए । ब्यूरोका प्रमुख तथा एसएसपी कृष्ण कोइरालाका अनुसार, टोखा नगरपालिका–३ स्थित ग्राण्डी अस्पतालको पछाडि उनीहरू फेला परे । तर, प्रहरीले पछ्याइरहेको सूचना उक्त गिरोहका दुई जनाले पाइसकेका थिए ।
लगत्तै, उनीहरू त्यहाँबाट फरार भए ।
फरार भएका उनीहरूलाई नियन्त्रणमा लिने क्रममा हवाइ फायर समेत गरिएको प्रहरीले बताएको छ । ब्यूरोका एक अधिकारीका अनुसार, चार राउण्ड हवाइ फायर गर्दासम्म पनि उनीहरू आत्मसमर्पण नगरेर भागिरहेका थिए । त्यसपछि बल्ल घुँडामुनि गोली हानेर नियन्त्रणमा लिइएको एसएसपी कोइराला बताउँछन् ।
‘सुरुमा चार राउण्ड हवाइ फायर भयो । त्यति हुँदा उनीहरू प्रहरीलाई नै आक्रमण गर्दै भागे,’ एसएसपी कोइरालाले अनलाइनखबरसँग भने, ‘त्यसपछि घुँडामुनि गोली हानेर पक्राउ गरेका हौं ।’
प्रहरीले घुँडामुनि गोली हानेर नियन्त्रणमा लिइएका भारतीय नागरिकहरूमा पश्चिम बंगाल इस्लामपुर–११ घर भएका ४० वर्षीय सशिक आलम र भारतकै बिहार गुञ्जियार घर भएका २२ वर्षीय मोहमद मन्जुर आलम छन् ।
एसएसपी कोइरालाका अनुसार सशिकलाई बाँया घुँडामुनि एक राउण्ड गोली लागेको छ । मोहम्मदलाई पनि बाँया घुँडामुनि दुई राउण्ड गोली लागेको छ ।
दुवैको अवस्था खतरामुक्त रहेको प्रहरीले बताएको छ । गोली चलाएर नियन्त्रणमा लिइएका उनीहरूलाई सुरुमा प्रहरी अस्पताल महाराजगञ्ज लगिएको थियो । थप उपचारका लागि अहिले राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको छ ।
वूफरभित्र लागुऔषध
प्रहरीका अनुसार उनीहरूबाट खैरो हेराइन पनि बरामद भएको छ । उनीहरू महँगो मानिने लागु औषध खैरो हेरोइन बेच्ने उद्देश्यले काठमाडौं छिरेका थिए । ब्यूरोका एसएसपी कोइरालाले उनीहरूबाट २ सय ग्रामभन्दा बढी खैरो हेराइन बरामद भएको जानकारी दिए ।
लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार, २५ ग्रामभन्दा माथि जतिसुकै परिमाणको लागु औषध कारोबार गर्नेलाई १५ वर्षदेखि जन्मकैदसम्म र ५ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।
उनीहरूबाट बरामद भएको परिमाण पनि २५ ग्रामभन्दा धेरै भएकाले सजाय अझै बढ्नसक्छ ।
गोली प्रहार गरेर नियन्त्रणमा लिए पनि उनीहरूबाट सुरुमा खैरो हेरोइन नभेटिएपछि प्रहरी झस्किएको थियो । शरीर पुरै खानतलासी गर्दा पनि उनीहरूबाट खैरो हेरोइन फेला परेन । तर, उनीहरूसँगै रहेको वूफर (गित सुन्न प्रयोग गरिने डिभाइस) खोलेर हेर्दा लागुऔषध भेटियो ।
उक्त वूफरभित्र उनीहरूले करिब २ सय ग्राम खैरो हेरोइन लुकाएर बोकेको प्रहरीले फेला पारेको छ ।
जसलाई कडा प्रकारको नसालु लागुऔषधको रुपमा लिइन्छ ।
सशिक पटके कारोबारी
खैरो हेराइन कारोबारी समूहका चार जनामध्ये सशिक भने पटके कारोबारी रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी यसअघि पनि लागु औषधसहित पक्राउ परेका व्यक्ति रहेको प्रहरीले बताएको छ ।
लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका उनी धरौटीमा रिहा भएको पाइएको एसएसपी कोइरालाले बताए । ब्यूरोले नै ब्राउन सुगरसहित नियन्त्रणमा लिएका उनी करिब एक वर्षअघि धरौटीमा रिहा भएका थिए ।
छुटेपछि पुनः उनी लागुऔषध कारोबारीमा लागेको प्रहरीले बताएको छ ।
भारतबाट स्थलमार्गबाट नेपाल प्रवेश गरेर काठमाडौं केन्द्रित गर्दै उनले खैरो हेरोइन बेच्ने गरेको दाबी ब्यूरोको छ । सोही योजनाअनुसार उनी काठमाडौं आएका थिए ।
उनले यो पटक ३ सय ग्राम खैरो हेरोइन ल्याएको प्रहरीको दाबी छ । जसमध्ये केही खैरो हेराइन भने बिक्रि भइसकेको पाइएको छ ।
प्रहरीमाथि रड प्रहार
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा ब्यूरोका दुई प्रहरी पनि घाइते भएका छन् । घाइते हुनेहरूमा वरिष्ठ हवल्दार नवराज घिसिङ र सहायक हवल्दार रवीन्द्र केसी छन् । घिसिङको बायाँ घुँडामा केसीको दाहिने पाखुरामा चोट लागेको छ ।
ब्यूरोका एसएसपी कोइरालाका अनुसा, नियन्त्रणमा लिने क्रममा प्रहरीलाई नै रड प्रहार गर्दै उनीहरू भागेका थिए । त्यसपछि फायर खोलेर नियन्त्रणमा लिएको प्रहरीले बताएको । रड प्रहारबाट घाइते भएका दुबै प्रहरी लामो समयदेखि ब्यूरामै कार्यरत हुन् ।
‘रड प्रहार गरेर उनीहरु उम्कने प्रयासमा थिए । तर त्यही बेला ३ राउण्ड गोली हानेर नियन्त्रणमा लिइएको हो,’ एसएसपी कोइरालाले भने ।
घाइते दुवै जनाको अहिले नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । उनीहरूको अवस्था पनि सामान्य रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4