२ पुस, विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ ।
धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए ।
मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी गर्यो । कर्सियास्थित सिटिजन बैंक अगाडि पार्किङमा राखिएको मोटरसाइकलको ‘इन्डिकेटर’ भित्र प्रहरीले लागुऔषध ब्राउन सुगर फेला पार्यो ।
सामान्यत: प्रमाण भेटिएपछि प्रहरीले अनुसन्धान गरी अभियुक्तलाई मुद्दा चलाउँछ । मोटरसाइकल धनी राजिव चौधरी र उनीसँगै रहेका एक पुरुष पक्राउ परे । तर, अनुसन्धानका क्रममा घटनाको अन्तर्य भने फिल्मी शैलीको देखियो ।
उनलाई फसाउन लागुऔषध राखेर प्रहरीलाई खबर गरेकाे देखियाे । त्यसपछि राजिव घर फर्किए । षड्यन्त्र गरेर फसाउन खाेजेकाे आरोपमा मुख्य योजनाकार धनपालथान गाउँपालिका वडा ७ का २७ वर्षीय विशालकुमार सिंहसहित चार जना पक्राउ परेका छन् ।
कसरी भयाे षड्यन्त्र ?
प्रहरीका अनुसार घटनाको मुख्य योजनाकार हुन्- धनपालथान गाउँपालिका-७ का २७ वर्षीय विशालकुमार सिंह । उनी एउटी युवतीलाई मन पराउँथे । उनी युवतीको हात माग्न घर पनि पुगे । तर, युवती र उनको परिवार विवाहको लागि तयार भएनन् ।
छोरी दिन राजी नभएपछि सिंहले युवतीको बुबालाई लागुऔषध मुद्दामा फसाउन मोटरसाइकलमा ब्राउन सुगर राखेर प्रहरीलाई खबर गरे । याे घटना गत वैशाख २० गतेकाे हाे ।
प्रमाण नपुगेपछि बुबामाथि मुद्दा चलेन । मंसिरमा युवतीको विवाह भयो । युवतीको विवाहको केहीदिनपछि उनका श्रीमान् बजार आएकाे बेला मोटसाइकलमा लागुऔषध लुकाएर प्रहरीलाई खबर गरे ।
राजिवलाई फसाउन विशालले साथीहरू रोशन मण्डल, पारस मण्डल र राजा खान धोबीको साथ लिएका थिए ।
प्रहरीका अनुसार लागुऔषध लुकाएपछि विशालले आफ्ना साथी राजालाई प्रहरीसमक्ष सुराकीको रूपमा पठाए । राजाले प्रहरीलाई फोन गरेर ‘मलाई लागुऔषध कारोबारबारे सूचना छ, फलानो नम्बरको मोटरसाइकलमा लागुऔषध छ, चेक गर्नुस्’ भन्दै ‘सूचना’ दिए । सूचनामा भनिए अनुसार प्रहरीले इन्डिकेटरमा लुकाएको अवस्थामा १३.३१० ग्राम ब्राउन सुगर फेला पार्यो ।
मोटरसाइकल पार्किङ गरेर २९ वर्षीय चौधरी नजिकै काममा थिए । प्रहरीले कसको मोटरसाइकल भनेपछि ‘मेरो’ भन्दै उनी पुगे । माेरङका प्रहरी उपरीक्षक कबित कटवालका अनुसार चौधरीको हाउभाउ लागुऔषध कारोबारीको जस्तो थिएन् ।
मोटरसाइकलमा लागुऔषध राखिएको भन्दै प्रहरी प्रश्न गरेपछि उनले ‘होइन’ भन्दै प्रतिवाद गरे । प्रहरीले केरकार गर्दा लागुऔषध कारोबारी जस्तो देखिएन । तनावका कारण राजिवलाई ‘हार्ट अट्याक’ जस्तै लक्षण देखियो र त्यसपछि अस्पताल भर्ना गरियो ।
२०८२ वैशाख २० गते यस्तै प्रकृतिको घटना भएको थियो । त्यसबेला चन्द्रशेखर मण्डलको मोटरसाइकमा २.९५० ग्राम ब्राउन सुगर भेटिएको थियो । त्यसबेला केही दिन प्रहरी हिरासतमा बसेका मण्डलले ल्याब रिपोर्ट नेगेटिभ आएपछि सफाइ पाएका थिए ।
उस्तै प्रकृतिकाे दुई वटा केस देखिएपछि प्रहरीले राजिवलाई चन्द्रशेखरकाे बारेमा साेध्याे । उनले ससुरा भएकाे जवाफ दिए । ज्वाइँससुरा नै उस्तै प्रकृतिकाे घटनामा परेपछि प्रहरी सूचना दिने व्यक्ति विराटनगर महानगरपालिका–९ घोघापुल बस्ने २७ वर्षीय राजा धोबीसम्म पुग्यो । धोबी पक्राउ परेपछि प्रहरी आफैं अचम्ममा पर्यो ।
उनले ब्राउन सुगर राख्नका लागि मोरङ धनपालथान गाउँपालिका–७ का २७ वर्षीय विशालकुमार सिंहले अह्राएको बयान दिए । ब्राउन सुगर राखेर प्रहरीलाई खबर गरेबापत उनले १० हजार रुपैयाँ दिने आश्वासन दिएका थिए ।
धोबीको बयानका आधारमा विशाललाई खोजी गर्दा प्रहरीले धनपालथान गाउँपालिका–७ का २७ वर्षीय रोशन मण्डल र धनपालथान गाउँपालिका–१ का २८ वर्षीय पारश मण्डललाई नियन्त्रणमा लियाे । दुई जनाको बयानका आधारमा प्रहरी सिंहलाई खोज्दै उनको घर पुगेको थियो । प्रहरीलाई देखेपछि भागेका उनलाई प्रहरीले करिब २ किलाेमिटर लखेटेर समात्यो ।
विशाल पक्राउ परेपछि छोरी नदिएको झोकमा मण्डलको मोटरसाइकलमा आफैंले लागुऔषध राख्न लगाएको स्वीकार गरे । मन पराएकी युवतीले अर्कैसँग बिहे गरेपछि युवतीकाे श्रीमान्लाई लागुऔषध मुद्दामा फसाउन मोटरसाइकलमा ब्राउन सुगर राखेकाे बयान दिए ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार करिब १६ देखि १७ घण्टाको निरन्तर अपरेसनपछि ‘फेक केस’को पर्दाफास भएको हो ।
‘यदि हामीले सतही अनुसन्धान मात्र गरेको भए एक निर्दोष व्यक्ति जेलमा जाने अवस्था थियो ,’ प्रहरी उपरीक्षक कटवालले भने, ‘हामीले गहिराइमा पुगेर अनुसन्धान गर्दा निर्दोष जोगिए र षड्यन्त्रकारी पक्राउ परे ।’
प्रहरीले निर्दोष देखिएका राजिव चौधरी र उनका साथीलाई छाडेको छ । सिंहसहित चारै जनालाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको कटवालले जानकारी दिए ।
प्रतिक्रिया 4