+

१५औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड : प्रवीण र संगीताको जुनियर राष्ट्रिय कीर्तिमान

२०८२ जेठ  २८ गते १८:०७ २०८२ जेठ २८ गते १८:०७
१५औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड : प्रवीण र संगीताको जुनियर राष्ट्रिय कीर्तिमान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रवीण राना मगरले १०.७६ सेकेन्डमा १०० मिटर दौडमा कीर्तिमान कायम गरे।
  • संगीताले १ मिनेट ०१.१९ सेकेन्डमा ४ सय मिटर दौडमा नयाँ कीर्तिमान बनाइन्।
  • प्रतियोगितामा २६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भइरहेको छ।

२८ जेठ, काठमाडौं । बागमती प्रदेशका प्रवीण राना मगर र सुदूरपश्चिम प्रदेशकी संगीता विकले १५औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत एथलेटिक्समा बुधबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

प्रवीणले छात्र १ सय मिटर दौड तथा संगीताले छात्रा ४ सय मिटर दौडमा कीर्तिमान बनाएका हुन् । कीर्तिमान वापत दुवैले जनही १० हजार नगद पुरस्कार पाउने छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रवीणले निर्धारित दूरी १०.७६ सेकेन्डमा पूरा गर्दै कीर्तिमानी स्वर्ण जिते । यसअघि आशिष चौधरीको नाममा १०.९० सेकेन्डको कीर्तिमान थियो । उनले त्यो कीर्तिमान २०७० सालमा बनाएका थिए । कोशी प्रदेशका सुजन मण्डल दोस्रो तथा लुम्बिनी प्रदेशका शुभम बमरेल तेस्रो भए ।

संगीताले निर्धारित दूरी १ मिनेट ०१.१९ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जितिन् । संगीताले २०७६ सालमा अरुणा रिजालले स्थापित गरेको १ मिनेट ०१.३० सेकेन्डको कीर्तिमान भंग गरेकी हुन् । बागमतीकी अनिशा थारु दोस्रो र कर्णालीकी कृष्णा राना तेस्रो बने ।

युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको प्रतियोगिताको छात्रा १ सय मिटर दौडमा बागमतीकी दिना गोपाली पहिलो भइन् । दिनाले १२.८१ सेकेन्ड समय लगाइन् । लुम्बिनीकी आरुशी भट्टराई दोस्रो तथा गण्डकी प्रदेशकी अनुष्का अधिकारी तेस्रो भए ।

छात्र ४ सय मिटर दौडमा कर्णालीका धीरेन्द्र विकले स्वर्ण जिते । उनले निर्धारित दूरी पूरा गर्न ५१.८९ सेकेन्ड समय खर्चे । गण्डकीका प्रकाश महतोले रजत तथा सुदूरपश्चिमका विक्रम विष्टले कांस्य हात पारे ।

छात्र हाइजम्पमा बागमतीका अविनाश सुनार पहिलो भए । उनले १.६८ मिटर जम्प गरे । सुदूरपश्चिमका उज्ज्वलकुमार विक दोस्रो तथा गण्डकीका विवेक महतो तेस्रो स्थानमा रहे । सो स्पर्धाको छात्रामा १.३८ मिटर जम्प गर्दै सुदूरपश्चिमकी सुस्मिता चौधरी शीर्ष स्थानमा रहिन् । गण्डकीकी सविता खातुन मिया दोस्रो तथा कर्णालीकी हीरा बुढा तेस्रो बने ।

सटपुटको छात्रमा सुदूरपश्चिमका विवेक चौधरी पहिलो भए । उनले १३.६१ मिटर टाढा फाले । लुम्बिनीका राजन भण्डारी दोस्रो तथा कर्णालीका केशव विक तेस्रो भए । उक्त स्पर्धाको छात्रामा बागमतीकी एलिना विकले स्वर्ण जितिन् । एलिनाले ८.६९ मिटर टाढा फालिन् । सुदूरपश्चिमकी पूजा साउदले रजत तथा लुम्बिनीकी सम्झना चौधरीले कांस्य जिते ।

छात्रा १ हजार ५ सय मिटर दौडमा गण्डकीकी नारायणी भण्डारी पहिलो भइन् । नारायणीले ५ मिनेट ०३.९ सेकेन्डमा दूरी तय गरिन् । बागमतीकी भगवती खड्का दोस्रो तथा सुदूरपश्चिमकी देवकी धामी तेस्रो भए ।

प्रतियोगितामा २६ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ ।

१५औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय