News Summary
Generated by OK AI. Editorially reviewed.- कृषि विकास बैंक ‘ए’ ले १४औं कर्मचारी खेलकुद प्रतियोगिताको फुटसलमा पुरुष र महिला टिमले उपाधि जित्यो।
- फुटसल फाइनलमा कृषिले नेपाल नागरिक उड्डयन प्राधिकरण ‘ए’ लाई टाइब्रेकरमा पराजित गर्यो
- महिलाको फाइनलमा कृषिले नेपाल बैंक लिमिटेडलाई हरायो।
२८ जेठ, काठमाडौं । कृषि विकास बैंक (एडीबीएल) ‘ए’ ले १४औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत फुटसलमा बुधबार दोहोरो उपाधि जितेको छ । कृषिको पुरुष र महिला दुवै टिम च्याम्पियन बन्यो । दुवैको निर्णय पेनाल्टी सुटआउटबाट निस्केको थियो ।
टोखास्थित ग्रान्डी स्पोर्ट्स सेन्टरमा भएको पुरुषको फाइनलमा कृषिले नेपाल नागरिक उड्डयन प्राधिकरण ‘ए’ लाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्यो । निर्धारित समयको १–१ गोलको बराबरीमा टुंगिएको थियो ।
नेपाल वायुसेवा निगमले काठमाडौं खानेपानी लिमिटेडलाई २–० गोलले हराउदै तेस्रो भयो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५५ हजार, ३३ हजार र २२ हजार नगद पुरस्कार हात पारे ।
कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको महिलाको उपाधि भिडन्तमा कृषिले नेपाल बैंक लिमिटेडलाई पेनाल्टी सुटआउटमा ५–४ ले हरायो । निर्धारित समयको खेल १–१ गोलको बराबरी सकिएको थियो । विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाए ।
फुटसलसँगै १४औं कर्मचारी खेलकुद सम्पन्न भएको छ । फुटसलसहित ब्याडमिन्टन र टेबलटेनिस गरी ३ खेलको प्रतिस्पर्धा भएको थियो । ब्याडमिन्टनमा ६ स्पर्धा थिए । त्यसमा नेपाल विद्युत प्राधिकरणले स्वर्णमा ‘क्लिन स्विप’ गर्यो । टेबलटेनिसमा ४ स्पर्धामा खेल भएको थिए । राष्ट्रिय वाणिज्य बैंकले ३ तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले १ स्वर्ण जिते ।
समापनका अवसरमा वरिष्ठ फोटो पत्रकार श्याम चित्रकारलाई पनि सम्मान गरिएको थियो । जेठ २१ गतेदेखि सुरु भएको प्रतियोगितामा विभिन्न १९ संस्थाका ३ सय २७ प्रतिस्पर्धी सहभागी थिए ।
प्रतिक्रिया 4