
२९ जेठ, तम्घास । गुल्मी जिल्लाको मालिका गाउँपालिकाले करार शिक्षकहरूलाई हटाउने निर्णय गरेपछि उत्पन्न विवादले दुई विद्यालयको पढाइ नै प्रभावित भएको छ ।
मालिका गाउँपालिका–२ दर्लिङ्गमा रहेको शान्त समाज बालविकास केन्द्र र मालिका गाउँपालिका–७, घमिरमा रहेको बासखोला बालविकास केन्द्र बन्द भएका हुन् । ती दुवै विद्यालयका शिक्षकहरुको करार सेवालाई गाउँपालिकाले निरन्तरता नदिने निर्णय गरेपछि विद्यालयमा अध्ययनरत बालबालिकाहरुको भविष्य अन्योलमा परेको अभिभावकहरुको गुनासो छ ।
११ बालबालिका अध्ययनरत शान्त समाज बालविकास केन्द्रमा कार्यरत शिक्षिका कल्पना घर्तीलाई हटाउने निर्णय गाउँपालिकाले गरेको थियो । त्यसैले यो विद्यालय एक सातादेखि बन्द छ ।
स्थानीय अभिभावक कमला विक भन्छिन्, ‘हामी मेलापात छोडेर बिहान १ घण्टा पैदल हिँडेर छोराछोरी विद्यालयमा ल्याउँछौं तर विद्यालय सधैं बन्द देखिन्छ । हाम्रो समय पनि बर्बाद, बालबालिकाको भविष्य पनि बर्बाद ।’
बालविकास केन्द्रका सदस्य दानबहादुर घर्तीले पाँच वर्षदेखि सुचारु रहेको विद्यालय एक्कासि बन्द गरिँदा अभिभावकमा निराशा छाएको बताए । ‘हामीलाई शिक्षक हटाउने निर्णयबारे कुनै जानकारी छैन,’ उनले भने, ‘यहाँको भौगोलिक अवस्थाका कारण बालबालिका अन्यत्र स्थानान्तरण गर्न गाह्रो छ । खोलानाला तर्नुपर्छ, दूरी धेरै छ ।’
यसैगरी मालिका गाउँपालिका–७, घमिरमा रहेको बासखोला बालविकास केन्द्र समेत बन्द भएको छ । सो केन्द्रमा कार्यरत अस्थायी शिक्षिका राधिका खड्कालाई हटाउने निर्णयसँगै केन्द्र बन्द गरिँदा त्यहाँ अध्ययनरत ७ जना बालबालिका र तिनका अभिभावक प्रभावित भएका छन् ।
करार कर्मचारीको विवाद
पद सिर्जना नभई नियुक्त भएको भन्दै गाउँपालिकाले ३७ जना शिक्षक/कर्मचारीहरुको २०८२ वैशाखपछि करार अवधि नथप्ने निर्णय गरेको थियो । २०८२ बैशाख २३ मा बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको थियो । निर्णय हुने दिनको कार्यपालिका बैठकमा उपाध्यक्षबाहेक १३ जना उपस्थित थिए । जसमा ४ वडाध्यक्षसहित ५ जना कार्यपालिका सदस्यले यस विषयमा फरक मत राखेका थिए ।
मालिका गाउँपालिका अध्यक्ष देबीराम अर्यालले एकलौटी रुपमा करार शिक्षकहरुको सेवा अवधि नथप्ने निर्णय गरेको भन्दै पालिकाभित्रै विवाद सिर्जना भएको छ । गाउँपालिकाका वडानम्बर–५ का वडाअध्यक्ष रेखाकुमार जिसीले पत्रकार सम्मेलन गरेरै निर्णय सच्याउनुपर्ने बताएका थिए ।
पालिकाको आन्तरिक विवाद चर्किएपछि करिब दुई महिना अघि मात्र मालिका गाउँपालिकामा पदस्थापन भएका प्रमुख प्रशासकीय अधिकृत काशिराम पन्थीले समेत सरुवा मागेर गाउँपालिका छाडेका थिए ।
गाउँपालिकाका तत्कालीन प्रवक्ता शोभाखर गिरीले स्थानीय सरकारले कोही कसैको जागिर खोस्ने विषय भन्दा पनि संघसंस्था ढल्ने स्थितिमा पुगेको भन्दै चिन्ता व्यक्त गरे ।
प्रतिक्रिया 4