News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत उसु खेल निर्धारित समयमा सुरु हुन सकेन।
- खेलको क्रममा विवाद र झडपको सम्भावना हुँदा प्रहरी तैनाथ गरिएको थियो।
- दुई उसु महासंघबीचको विवादका कारण खेल सञ्चालनमा समस्या आएको हो।
२९ जेठ, काठमाडौं । काठमाडौंमा जारी राष्ट्रपति रनिङ शिल्डअन्तर्गत बिहीबार उसुको खेल निर्धारित समयमा सुरु हुन नसकेपछि प्रहरी तैनाथ गरेर खेल सञ्चालन गरिएको छ ।
त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा उसु खेलका दुई महासंघबीचको विवादका कारण प्रहरी नै तैनाथ गरेर खेल सञ्चालन गर्नुपरेको थियो ।
झडपकै स्थिति सिर्जना भएको सूचना पाएपछि प्रहरीको टोली त्यहाँ आइपुगेको भनेर अनलाइनखबरलाई जानकारी आएको थियो । यसबारेमा बुझ्दा प्रहरीले भने कुनै झडप नभएको जनायो ।
त्यहाँ भएका पदाधिकारीहरूले पनि केही विवाद नभएको बताइरहँदा एक कर्मचारीले भने तालाबन्दी गर्न सक्ने देखिएपछि प्रहरी तैनाथ गरेर सम्भावित विवाद हुन नदिएको अनलाइनखबरलाई बताए ।
‘एनओसीबाट मान्यता प्राप्त उसु महासंघले तालाबन्दी गर्न खोजेका थिए तर अहिले उनीहरू पनि खेलकै लागि तयार भइसकेका छन्, यो खेल चाहिँ सरकारी मान्यता प्राप्त उसु महासंघले आयोजना गर्दै छ, त्यस्तो झडप नै त केही भएको छैन’ उनले भने ।
नेपाल उसु महासंघको नाममा दुई संघ अस्तिस्वमा रहेकोले पनि पछिल्लो समयम उसुमा विवाद देखिँदै आएको थियो ।
शैलेश कर्माचार्य कार्यवाहक अध्यक्ष रहेको उसु महासंघलाई सरकारी मान्यता छ भने अर्को उसु महासंघ नेपाल ओलम्पिक कमिटीमा आबद्ध छ र अन्तर्राष्ट्रिय मान्यता छ ।
दुवै महासंघ मिलाएर एकै महासंघ बनाउन प्रयास भएपनि त्यो सफल हुन सकेको छैन । दुवैले आफू नै मुख्य पदमा हुनुपर्ने माग राखेपनि यो विवाद मिल्न सकेको छैन ।
प्रतिक्रिया 4