+

पतिमा थियो बाँझोपन, एआईको सहायताबाट महिला भइन् गर्भवती

२०८२ जेठ  २९ गते १९:३२ २०८२ जेठ २९ गते १९:३२
पतिमा थियो बाँझोपन, एआईको सहायताबाट महिला भइन् गर्भवती

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकामा एआईको प्रयोगले एजुस्पर्मियाको समस्यामा शुक्रकीट पत्ता लगाएर गर्भधारण सफल भएको छ।
  • डा.विलियम्सको टिमले ‘स्टार’ नामक प्रविधि विकास गरी शुक्राणु खोज्न र निषेचन गर्न सक्षम भएको हो।

मान्छेले गर्ने धेरै काम अहिले आर्टिफिसियल इन्टेलिजेन्स(एआई)ले गर्न थालेको छ । यो कृत्रिम वौद्धिकता अर्थात एआईको बढ्दो प्रयोगले धेरैको रोजगार खोस्दैछ भनेर पनि चर्चा भइरहन्छ । मान्छेको काम खोस्ने मात्रै नभएर एआईले मान्छेलाई निकै कठिन पर्ने कुरामा सहायता पनि गरिरहेको छ । मान्छेले ‘म्यानुअल्ली’ गर्दा सम्भव नदेखेको कुरालाई सम्भव बनाउने उदाहरण प्रस्तुत गरेको छ ।

अमेरिकामा एआईको सहायतामा महिलालाई गर्भवती बनाइएको विषयले चर्चा पाएको छ । न्यूरोर्कस्थिति कोलम्बिया युनिभर्सिटी फर्टिलिटी सेन्टरका विज्ञहरूले प्रयोग गरेका हुन्।

अमेरिकी मिडियामा प्रकाशित खबर अनुसार फर्टिलिटी सेन्टरका निर्देशक डा.देव विलियम्स नेतृत्वको टिमले यस्तो एआई विकास गरेको हो । यो प्रविधिले पुरुषमा हुने ‘एजुस्पर्मिया’को समस्यालाई सम्बोधन गरी गर्भ रहन मद्दत गरेको टाइम डटकममा प्रकाशित खबरमा भनिएको छ ।

एजुस्पर्मियालाई पुरुषको बाँझोपन पनि भनिन्छ । यो समस्या भनेको पुरुषको वीर्यमा प्रजननका लागि आवश्यक शुक्राणु नहनु हो ।

अमेरिकामा बाँझोपनको समस्यामा ४० प्रतिशत पुरुष जिम्मेवार देखिन्छन् । त्यसमा १० प्रतिशत कारक एजुस्पर्मिया रहेको छ । यो समस्या भएपछि दम्पतीले प्रजननका लागि दाताको शुक्रकीटमा भर पर्नुपर्ने हुन्छ ।

डा‍.विलियम्सको टिमले निर्माण गरेको नयाँ एआई प्रविधिले एजुस्पर्मियाको समस्यामा पनि शुक्रकीट पत्ता लगाएर गर्भधारण गर्न सफल भएको हो ।

कसरी भयो सम्भव ?

डा.विलियम्सका अनुसार एजुस्पर्मियाको समस्या हुँदा समान्य तरिकाले जाँच गर्दा वीर्यमा शुक्रकीट फेला पर्दैन । एकदमै प्रजनन विज्ञले उच्च प्रविधि प्रयोग गरी हेर्दा बिरलै मात्रामा शुक्रकीट फेला पर्छन् ।

एजुस्पर्मियाको समस्या भएका पुरुषको वीर्यमा बिरलै फेला पर्ने यही शुक्रकीटलाई जम्मा पार्ने एआई प्रविधि डा.विलियम्सको टिमले तयार गरेको हो । ५ वर्ष लगाएर यो प्रविधि विकास गरिएको डा.विलियम्सले बताएका छन् ।

खगोल भौतिकशास्त्रीहरूले ब्रह्माण्डमा नयाँ तारा तथा ग्रहहरू पत्ता लगाउन एआई प्रयोग गरेको दृष्टिकोणबाट प्रेरित भई यो प्रविधि निर्माण गरिएकालेडा.विलियम्सले बताएका छन्। त्यसैले यो प्रविधिलाई ‘स्टार’ नाम दिइएको छ ।

‘हामीले दृष्टिकोण बनायौँ कि, यदि तपाई(खागोलशास्त्रीहरू) अर्बौं ताराहरूले भरिएको आकाशमा नयाँ तारा फेला पार्ने प्रयास गर्न सक्नुहुन्छ भने, हामी अर्बौं कोषहरूको बीचबाट हामीले खोजिरहेको एउटा विशिष्ट कोष(शुक्राणु) फेला पार्ने प्रयास गर्न सक्छौँ’ विलियम्सले भने, ‘यही आधारमा ‘स्टार’ लाई साँच्चिकै अतिदुर्लभ शुक्राणु पिकअप गर्न निर्देशन दिइएको छ ।’

एजुस्पर्मिया समस्यामा वीर्यको नमुनाबाट शुक्रकीट पत्ता लगाएर निकाल्नु भनेको ठूलो घाँसको थुप्रोभित्र लुकेर बसेको सियो फेला पारेर निकाल्नुजस्तै रहेको विलियम्सले भनेका छन् । तर ‘स्टार’ले केही घण्टामै त्यो कठिन काम सम्पन्न गर्ने दावी उनको छ ।

यो प्रविधि एआईजडित प्यास्टिकको चिप्स राखेर तयार गरिएको ट्युबबाट वीर्य पास हुने गरी तयार गरिएको छ । ट्युब हुँदै पास हुँदा शुक्रकीट बोकेको वीर्यको अंश रहेछ भने एआईले त्यसलाई पत्ता लगाउँछ र त्यो भागलाई छुट्टै ट्युबमा जम्मा गराउँछ । यसरी जम्मा भएको शुक्रकीटलाई भण्डारण गरी महिलाको अण्डासँग निषेचन गर्न प्रयोग गरिन्छ।

स्टारले एक घण्टामा ८० लाख इमेज स्क्यान गर्नसक्ने डा. विलियम्सले जानकारी दिएका छन् ।

उनका अनुसार भ्रुणविदहरूले २ दिनसम्म उच्च प्रविधिका मेसिन प्रयोग गरी खोज्दा वीर्यको जुन नमुनामा कुनै शुक्राणु फेला पारेनन्, त्यही नमुनामा ‘स्टार’ले ४४ वटा शुक्राणु पत्ता लगायो ।

रोजी(नाम परिवर्तन) र उनका श्रीमानले विगत १९ वर्षदेखि सन्तान प्राप्तिका लागि अनेकौँ प्रयास गरेका थिए । १५ पटकको आईभीएफ फेल भएको थियो । उनका श्रीमानको वीर्यबाट शुक्रकीट खोजेर निकाल्न विदेशबाट विशेषज्ञ झिकाउनेदेखि शल्यक्रिया गराउने सम्मका प्रयास भए । उनको वीर्यमा शुक्रकीट खोज्न केमिकलको प्रयोग समेत गरियो । तर, कुनै पनि प्रयास सफल भएन ।

३८ वर्षीया रोजीलाई प्रजनन् उमेरको अन्तिमतिर पुगेको भन्ने चिन्ता थियो । एक सामुदायिक समूहमार्फत रोजी र उनका श्रीमानलाई डा.विलियम्स टिमको प्रजनन् योजनाबारे जानकारी गराइएको । कुनै रसायन प्रयोग नगरी श्रीमानको वीर्यबाट शुक्रकीट निकाल्ने आश्वासन पाएपछि उनीहरू त्यसमा सामले हुन सहमत भए ।

‘हामीलाई थाहा थियो उनीहरूले के गर्न खोजिरहेका थिए भनेर’ रोजी भन्छिन् ‘यदि कार्यक्रमले त्यसो गर्न सक्षम भयो भने, यो हाम्रा लागि राम्रो मौका हो भनेर ठान्यौँ ।’

स्टारको प्रयोग गरी धेरै चरणमा रोजीका श्रीमानको वीर्यबाट शुक्राणु संकलन गरी भण्डारण गरियो । त्यो किनभने रोजीको अण्डा निस्किएकै बेलामा ताजा शुक्राणु निकाल्न सकिन्छ कि सकिँदैन भन्ने सन्देह थियो।

तर रोजीको मासिक चक्रलाई पर्खिएर जब अण्डा निकालियो । त्यो समयमा पनि स्टारले उनका श्रीमानको वीर्यबाट ताजा शुक्राणु निकाल्न सफल भयो । शुक्राणु निकालेको २ घण्टामै अण्डासँग निषेचन गराइयो, त्यो गत मार्चको कुरा थियो ।

सफलतापूर्वक अण्डा निषेचन गरिएको केही दिनपछि त्यो गर्भाशयमा राखियो अनि रोजी गर्भवती भइन् । आफू गर्भवती भएको कुरा विश्वास गर्नै २ दिन लागेको उनले बताएकी छिन् ।

उनी गर्भवती भएको ४ महिना बितिसकेको छ । उनमा गर्भावस्थाका सबै लक्षण छन् । गर्भवती हुँदाको हेरचाह पाइरहेकी छिन् । रोजीलाई अझै पनि बेलाबेला गर्भवती भएको कुरामा विश्वास लाग्दैन । ‘अझै पनि कहिलेकाँही म बिहान उठ्छु, विश्वास गर्न सक्दिन, यो सत्य हो कि होइन भनेर’ उनी भन्छिन् ।

सम्भव नै छैन भनिएको कुरालाई पनि एआई प्रविधिले सम्भव गराएकोमा डा.विलियम्स खुसी छन् । उनी भन्छन्–सपना भनेको प्रविधिको विकास हो ।

एआई गर्भवती
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय