News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसीले एकदिवसीय क्रिकेट नियममा परिमार्जन गरेको छ, जुन जुलाई २ देखि लागू हुनेछ।
- परिमार्जित नियमअनुसार ३४औं ओभरपछि दुई बलको प्रयोग एक बलमा परिणत हुनेछ।
- नयाँ व्यवस्था अनुसार खेल सुरु हुनु अघि टोलीले ५ खेलाडीको नाम म्याच रेफ्रीलाई दिनु पर्नेछ।
३१ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले केही नियमहरूमा परिमार्जन गरेको छ । आईसीसीले एकदिवसीय खेलमा दुई बलको प्रयोग हुने नियममा परिमार्जन गरेको छ भने खेलाडीको टाउकोमा चोट लाग्दा गरिने ‘कन्क्सन सब्स्टिचुट’ सम्बन्धी व्यवस्था पनि नयाँ गरिएको छ ।
आईसीसीको पुरुष क्रिकेट समितिले सिफारिस गरेको यी परिवर्तन मुख्य कार्यकारी समितिले पारित गरेको जनाइएको छ । नयाँ नियम टेस्टमा जुन १७, एकदिवसीयमा जुलाई २ अनि टी–२० मा जुलाई १० देखि लागू हुनेछ ।
परिमार्जित नियमअनुसार एकदिवसीय खेलमा एक इनिङ्समा दुई एन्डबाट दुई नयाँ बलले बलिङ सुरुवात गर्दै ३४ ओभरसम्म त्यसरी दुई बल प्रयोग गरिनेछ ।
३४औं ओभर सकिएपछि बलिङ टोलीले प्रयोग भइरहेका दुईमध्ये एक बल छानेर बाँकी ओभरहरूमा त्यही एक बलले नै दुवै एन्डबाट बलिङ गर्नुपर्नेछ ।
हालसम्म ५० ओभरको खेल हुँदा एक इनिङ्सको २५-२५ ओभरकै लागि अर्थात् दुई फरक एन्डका लागि फरक बलको प्रयोग हुँदै आएको थियो । अब ३४औं ओभरपछि भने एकै बलको प्रयोग हुनेछ ।
एकदिवसीय खेल सुरु हुनुअघि २५ ओभर या त्यसभन्दा कम ओभर तय भएमा एकै बल मात्र प्रयोग गरिने व्यवस्था गरिएको छ ।
कन्क्सन सब्स्टिचुट सम्बन्धी नयाँ व्यवस्था अनुसार टोलीहरूले खेल सुरु हुनुअघि म्याच रेफरीसमक्ष ५ जनामा एक विकेटकिपर, एक ब्याटर, एक पेस बलर, एक स्पिन बलर अनि एक अलराउन्डरको नाम टिपाउनु पर्नेछ ।
यो व्यवस्था जनवरीमा भारतको टोलीमा घाइते खेलाडीको स्थानमा बलर हर्षित रानालाई ल्याइएको घटनापछि गरिएको थियो । हर्षित रानाले ३ विकेट लिएका थिए ।
पछि म्याच रेफ्रीको निर्णयको चर्को आलोचना हुन पुगेको थियो । नयाँ व्यवस्था अनुसार अब यस्तो असन्तुलन हुन नदिने आईसीसीको विश्वास छ ।
यदि सब्स्टिचुट खेलाडी पनि घाइते हुन पुगेमा म्याच रेफरीको विचारमा नामित खेलाडी बाहिरको खेलाडीलाई प्रतिस्थापनको लागि चुन्न सकिने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया 4