News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण अफ्रिकाले २७ वर्षपछि आईसीसीको उपाधि जित्यो।
- पटकपटकको असफलतापछि अन्तत: दक्षिण अफ्रिकाको भाग्य फेरियो।
- यस जितले दक्षिण अफ्रिकाको मनोबल उच्च बनाएको छ र आगामी प्रतियोगिताका लागि आत्मविश्वास बढाएको छ।
१ असार, काठमाडौं । दक्षिण अफ्रिकाले शनिबार इंग्ल्याण्डको लर्ड्स क्रिकेट मैदानमा विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जित्न सफल भयो । फाइनलमा महारथी टोली अस्ट्रेलियाको चुनौती समाप्त पार्दै दक्षिण अफ्रिकाले २७ वर्षपछि आईसीसीको कुनै उपाधि जितेको हो ।
जित्न नसकेको ट्याग, पटक–पटक अन्तिम मोडमा चिप्लिएको इतिहास, र ‘चोकर’ को बदनाम छायाँलाई पछाडि छाड्दै दक्षिण अफ्रिकाले अन्ततः क्रिकेटको ठूलो रंगमञ्चमा भाग्यको पाना पल्टाएको हो ।
दक्षिण अफ्रिकाले पछिल्लोपटक सन् १९९८ मा आईसीसी नकआउट ट्रफी (हालको च्याम्पियन्स ट्रफी) जितेको थियो। त्यसपछि उनीहरूले धेरैपटक बलियो टोली बनाएका थिए तर निर्णायक मञ्चमा निरन्तर असफल रहे।
कहिले खराब रणनीति, कहिले दुर्भाग्य र कहिले अन्तिम समयमा भएको गल्तीले उनीहरूलाई सफलता भन्दा टाढा राखिरह्यो। तर यसपटक भने भाग्य फेर्दै दक्षिण अफ्रिकी टोलीले नामका अगाडि लागेको सम्पूर्ण ट्यागहरू मेटिने गरी इतिहास बनाउन सफल भयो ।
पटक पटकको ‘हार्टब्रेक’
१९९९ विश्वकप सेमिफाइनलबाट दक्षिण अफ्रिकी टोलीको ‘चोक’ सुरुवात भएको थियो । अस्ट्रेलियासँको सेमिफाइनल जित्न १ रन आवश्यक हुँदा एलन डोनाल्ड र लान्स क्लुस्नरबीच तालमेल नमिलेर रनआउटको शिकार हुँदा खेल बराबरीमा टुंगिएको थियो ।
त्यसपछि अस्ट्रेलिया सुपर सिक्सको प्रदर्शनका आधारमा अघि बढ्यो । अस्ट्रेलियाले पछि गएर विश्वकपकै उपाधि जितेको थियो ।

त्यसपछि पनि दक्षिण अफ्रिका आईसीसीका प्रतियोगिताहरूमा क्ववाटरफाइनल, सेमिफाइनल वा फाइनलमा पुगेर हार्ने क्रम चलिरह्यो । सन् २००० र २००२ को च्याम्पियन्स ट्रफीमा सेमिफाइनलबाट बाहिरियो, २००३ को विश्वकप र २००४ को च्याम्पियन्स ट्रफीमा समूह चरणबाटै बाहिरियो ।
२००६ को च्याम्पियन्स ट्रफी र २००७ को विश्वकपमा दक्षिण अफ्रिका फेरि सेमिफाइनलमा पुगेर बाहिरियो । २००९ को च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरियो ।
सन् २०११ को विश्वकपमा क्वाटरफाइनलमा पुग्दा २०१३ को च्याम्पियन्स ट्रफीमा फेरि सेमिफाइनलमा पुगेर बाहिरियो ।
त्यसपछि अर्को ठुलो हार्टब्रेकिङ क्षण आयो । २०१५ को एकदिवसीय विश्वकपमा न्यूजिल्याण्डसँगको सेमिफाइनलमा दक्षिण अफ्रिकाले ४३ ओभरमा छोट्याइएको खेलमा २८१ रनको बलियो योगफल बनाएको थियो ।
उक्त लक्ष्य न्युजिल्याण्डका लागि डिएल पद्धतिका कारण २९८ रनको बनेको थियो । अन्तिम ओभरको पाँचौं बलमा डेल स्टेनको बलमा ग्रान्ट एलियटले छक्का प्रहार गर्दा दक्षिण अफ्रिकाको सपना फेरि तोडिएको थियो ।

सन् २०१६ को टी-२० विश्वकप, सन् २०१७ को च्याम्पियन्स ट्रफी, २०१९ को एकदिवसीय विश्वकप र २०२१ को टी-२० विश्वकपमा दक्षिण अफ्रिका समूह चरणबाट अगाडि बढ्न सकेन ।
सन् २०२२ को टी-२० विश्वकप सुपर १२ मा भारत र बंगलादेशलाई हराएको दक्षिण अफ्रिका पाकिस्तान र नेदरल्याण्ड्ससँग पराजित भएर अगाडि बढ्न सकेन ।
२०२३ मा आएर दक्षिण अफ्रिकमा ८ वर्षपछि कुनैपनि प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो । एकदिवसीय विश्वकपको सेमिफाइनलमा अस्ट्रेलियालाई राम्रो चुनौती दिएपनि जित्न सकेन ।
कोलकातामा भएको सेमिफाइनलमा दक्षिण अफ्रिकाले २१२ रन बनाएको थियो। अस्ट्रेलियाले गाह्रो परिस्थितिमा पनि अन्ततः खेल ३ विकेटले जित्यो र फाइनल पुगेर उपाधि नै जित्यो।
त्यसपछि सन् २०२४ मा भएको टी-२० विश्वकपमा दक्षिण अफ्रिका फाइनलसम्म पुग्यो । भारतविरुद्ध जित्ने अवस्थाबाट खेल गुमाउँदा फेरि उपाधिको निकै नजिक पुगेर चुक्यो ।
१७७ रनको लक्ष्य पछ्याउँदा दक्षिण अफ्रिका १५ ओभरको समाप्तिमा १४७-४ को अवस्थामा थियो । ३० बलमा ३० रन आवश्यक हुँदा ६ विकेट बाँकी रहेको अवस्थाबाट खेल गुमाउँदा दक्षिण अफ्रिका ७ रनले पराजित भयो ।
यो सन् १९९९ को सेमिफाइनलपछिको ठुलो ‘हार्टब्रेकिङ मोमेन्ट’ थियो ।

लर्ड्समा पुनरुत्थान
यसपटक भने दक्षिण अफ्रिकाले पुरानो कथा दोहोरिन दिएन। लर्ड्सको ऐतिहासिक मैदानमा अस्ट्रेलियाले दिएको २८२ रनको लक्ष्य पछ्याउने क्रममा एइडन मार्क्ररमले १३६ रनको महत्वपूर्ण इनिङ्स खेले। कप्तान टेम्बा बाभुमाले पनि ६६ रन बनाउँदै नेतृत्व गरे।
२०२३ र २०२४ को पीडादायी क्षणमा साक्षी रहेका मार्क्रमले यस टेस्टको दोस्रो इनिङमा सम्हालिएको पारी खेलेर आफ्नो कौशल देखाए । उनले अस्ट्रेलियाका बलरलाई कुनै मौका नै दिएनन् ।
टेस्ट च्याम्पयनसिपको चक्र सुरु हुँदा कमजोर अवस्थामा रहेको भएपनि शानदार पुनरागमन गरेर फाइनलमा स्थान बनाएको दक्षिण अफ्रिकाले फाइनल टेस्टमा पनि पुनरागमन गर्यो ।
पहिलो इनिङमा २१२ रनले पछाडि रहँदा १३८ रनमा अलआउट भएको दक्षिण अफ्रिकाले दोस्रो इनिङमा अस्ट्रेलियालाई पनि धेरै रन बनाउन दिएन । अस्ट्रेलियाले तल्लोक्रममा मिचेल स्टार्कले बनाएको ५८ रन मद्दतमा २८१ रनको अग्रता बनाएर २८२ रनको लक्ष्य दिएको थियो ।
लर्ड्सको इतिहासमा दोस्रो सबैभन्दा ठूलो चौथो इनिङ्सको सफल रन चेज गर्दै दक्षिण अफ्रिकाले टेस्ट च्याम्पियनसिपको उपाधि मेसमा आफ्नो नाम लेखायो ।
‘चोकर’को ट्याग अन्तत: हट्यो
यो जितमा मानसिकता परिवर्तनको पनि मुख्य योगदान रहँदै आएको छ । प्रशिक्षक शुक्री कोनराडले टोलीलाई डर होइन, आत्मविश्वासका साथ खेल्न उत्प्रेरणा दिएका थिए । कप्तान बाभुमा आफैले भनेका छन्- ‘अब हामीलाई चोकर भन्नु बेकार छ। यो जितले हाम्रो राष्ट्रलाई एक बनाओस् भन्ने चाहन्छु।’
यो उपाधि केवल जित मात्र नभएर इतिहासमा सुधार पनि हो। २७ वर्षदेखि उपाधिविहीन रहेको राष्ट्रले अब फेरि आफूलाई विश्व क्रिकेटमा स्थापित गरेको छ। अनि यो सन्देश पनि दिएको छ कि पुरानो पीडा पनि मेटिन सक्छ, आत्मविश्वास र धैर्यले जित्न सकिन्छ।
अब डब्लुटिसीको नयाँ चक्र सुरु हुँदैछ। एकचोटि उपाधि जितिसकेपछि दक्षिण अफ्रिकाको मनोबलःअब उच्च हुनेछ। ह्वाइट बल क्रिकेट (ओडिआई र टी-२०आई)का लागि पनि यस जितले मनोबल उच्च बनाउँदा अब दबाबमुक्त खेल खेल्ने सम्भावना बढेर गएको छ।
अस्ट्रेलिया २०२३ पछि उपाधिविहीन
विश्व क्रिकेटको महारथीका रूपमा चिनिने अस्ट्रेलियन क्रिकेट टोलीले सन् २०२३ मा दुई मुख्य उपाधि जितेदेखि यता कुनै पनि प्रतियोगिता जित्न सकेको छैन ।
यसअघि नै आईसीसीका सबै प्रतियोगिता कम्तीमा १ पटक जितिसकेर कीर्तिमान बनाइसकेको अस्ट्रेलियन टोलीले पछिल्ला ३ मुख्य प्रतियोगितामा भने वर्चश्व कायम गर्न सकेन ।
सन् २०२३ को जुनमा विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतलाई हराएर अस्ट्रेलियाले हरेक आईसीसी प्रतियोगिता कम्तीमा एकपटक जित्ने कीर्तिमान आफ्नो नाममा गर्यो ।
त्यसपछि २०२३ कै नोभेम्बरमा भएको एकदिवसीय विश्वकप फाइनलमा भारतलाई घरेलु मैदानमै स्तब्ध पारेर छैटौंपटक एकदिवसीय विश्वकप जितेको थियो ।
तर त्यसपछि भएका ३ प्रतियोगितामा भने उपाधि जित्न सकेन । सन् २०२४ को टी-२० विश्वकप सुपर ८ मा अफगानिस्तान र भारतसँग पराजित हुँदै सेमिफाइनलमा पुग्न सकेन ।
त्यसपछि सन् २०२५ को आईसीसी च्याम्पियन्स ट्रफीमा केही मुख्य खेलाडीहरू बिना नै उत्रिएको अस्ट्रेलिया सेमिफाइनलमा भारतसँग पराजित भएको थियो ।
त्यसपछि टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि पराजय बेहोरेपछि अस्ट्रेलिया भने फेरि अब पुनरागमनको प्रतीक्षामा रहनेछ ।
अब आगामी वर्ष हुने टी२० विश्वकप र सन् २०२७ मा हुने एकदिवसीय विश्वकप र टेस्ट च्याम्पियनसिप फाइनलमा अस्ट्रेलियाको पुनरागमन प्रयास रहनेछ ।
प्रतिक्रिया 4