+
+
Shares

बजेटको विरोध गर्दै संसद्को बाल्कोनीमा उभिए कांग्रेस सांसद बजगाईं

बजगाईं संसद्को हाजिर गरेर गोरखाका जिल्लावासी समेत लिएर दर्शकदीर्घामा गएर बसेका हुन् । केही समय त्यहाँ बसेर उनी पुनः सांसद बस्ने सभाकक्षमा गएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते १३:२९
तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद राजेन्द्र बजगाईंले बजेटको आवश्यक रकम नदिएको भन्दै दर्शकदीर्घामा बसेर विरोध गरे।
  • उनीले गोरखाका लागि बजेट कटौती र भौतिक पूर्वाधारमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे।
  • बजगाईंले सरकार र मन्त्रीलाई नागरिकका मौलिक अधिकार र स्रोतको समान वितरणको आवश्यकता रहेको पनि सम्झाए।

१ असार, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले संसद्को बाल्कोनीमा पुगेर बजेटको विरोध गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद बजगाईंले बजेटको विरोध गर्दै बाल्कोनीमा पुगेर उभिएका हुन् ।

बजगाईंले भौतिक पूर्वाधार मन्त्रालयले आफ्नो जिल्लामा आवश्यक बजेट नदिएको भनेर विरोध स्वरुप दर्शकदीर्घामा गएर केहीबेर बसेका हुन् ।

उनी संसद्को हाजिर गरेर गोरखाका जिल्लावासी समेत लिएर दर्शकदीर्घामा गएर बसेका हुन् । केहीबेर बसेर उनी सांसद बस्ने सभाकक्षमा पुनः गएका छन् ।

‘सम्माननीय केपी शर्मा ओली नेपालका प्रधानमन्त्रीज्यूलाई गोरखा लुकेको कर्णाली हो भन्ने विषय राम्रो ज्ञान छ,’ बजगाईंले अनलाइनखबरसँग भने, ‘बूढीगण्डकी परियोजना निर्माण गर्ने अठोट पनि छ । नेपालको अर्थतन्त्र चलायमान गर्न कहाँ–कहाँ अवरोध छन् त्यो पनि थाहै छ ।’

जानकारी हुँदाहुँदै सरकारले गोरखामा आवश्यक बजेट नदिएको र हरेक वर्ष विनियोजन हुँदै आएको रकम पनि कटौती भएको उनको गुनासो छ ।

साथै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालप्रति समेत उनको असन्तुष्टि छ । सांसद बजगाईं भन्छन्, ‘भौतिक पूर्वाधारमन्त्री जनताको मान्छे जस्तो लागेन । यसकारण विरोध स्वरुप दर्शकदीर्घामा गएको हुँ ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले जनताको आवाज नसुनेको उनको आरोप छ ।

‘भौतिक पूर्वाधार मन्त्रीले नेपालको भूगोल र प्रजातन्त्रको आधारभूत तत्व भनेको नागरिकका मौलिक अधिकारहरू र स्रोत साधनको समान वितरण हो भन्ने बुझ्नुभएन ।’

प्रजातन्त्रको आधारभूत तत्व भनेको नागरिकका मौलिक अधिकारहरू र स्रोतसाधनको समान वितरण रहेको तर, भौतिक पूर्वाधार मन्त्रालयको बजेट यसअनुसार आउन नसकेको उनले बताए ।

उनी थप्छन्, ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले न प्रजातान्त्रिक मूल्यको मर्म बुझेका छन् न देशको भूगोलप्रति आवश्यक समझदारी राख्छन् । त्यसैले उहाँ गोरखा मात्र होइन, देशभरिका लागि बजेटको न्यायसंगत वितरण गर्न अयोग्य देखिए ।’

यसकारण दर्शकदीर्घामा गएर उभिएको उनको भनाइ छ ।

‘गोरखाली जनताको तर्फबाट म उहाँ (भौतिक पूर्वाधारमन्त्री) को निर्णयको घोर भर्त्सना गर्दछु । पछिल्ला दुई आर्थिक वर्षमा हामीले गोरखाका लागि सुनिश्चित गरेको करिब चार दर्जन बजेट शीर्षकहरू उहाँले काटिदिनुभएको छ, जुन सरासर अन्यायपूर्ण र दुर्भाग्यपूर्ण छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?