+
+
Shares

भिजिट भिसामा माओवादी गलेको छैन : वर्षमान पुन

‘अलिकति बल प्रयोग जस्तो, जबरजस्ती जस्तो भयो । प्रमुख प्रतिपक्षी दल आइसक्यो, यसलाई पेलेपनि हुन्छ भन्ने जस्तो ठानिनु हुँदैन’, पुनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते १५:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आइतबार संसद्‌मा पुनले रास्वपासँगको सहकार्य स्मरण गर्दै भिजिट भिसा प्रकरणको छानबिन आवश्यक बताए।
  • सदन खोल्न रास्वपासहितको सहमति र सरकारको प्रतिबद्धता अनुसार छानबिन र छलफल अघि बढ्ने उनको भनाइ छ।
  • संसद्‌मा संवाद र संयमित प्रस्तुतिका लागि सभामुख र सरकारले पहल गर्न उनले बताए।

१ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको सहकार्य स्मरण गरेका छन् ।

रास्वपाको नाराबाजीकाबीच प्रतिनिधिसभामा बजेटमाथिको सामान्य छलफल चलिरहेको छ । आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा पार्टीका तर्फबाट धारणा राख्न रोष्ट्रम पुगेका पुनले केही दिन अगाडिसम्म संसद्‌मा संघर्षरत रहँदाको समयमा रास्वपासँगको सहकार्य स्मरण गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र त्यससँग सम्बन्धित भिजिट भिसा प्रकरणको विषय यही जेठ १३ गतेदेखि संसद्‌‌मा उठ्दै आएको छ । यो विषय संसद्‌‌मा प्रवेश गराउन प्रतिपक्षमा रहेका माओवादी केन्द्र, रास्वपा लगायतका दलहरूले भूमिका खेले ।

त्यसक्रममा माओवादी, रास्वपा लगायतका दलहरू सँगसँगै रहेको माओवादीका उपमहासचिव पुनले स्मरण गरेका हुन् ।

सत्तापक्षसँग निरन्तर भएको संवादपछि र आम जनताको भावना, आम जनसमुदायको सुझावहरूलाई ध्यानमा राख्दै भिजिट भिसा प्रकरणमा उठेका विषयहरूलाई सम्बोधन गर्ने सरकारको प्रतिवद्धतापछि आफूहरु सदन चलाउन तयार भएको उनले बताए ।

‘खासगरी राष्ट्रिय स्वतन्त्र पार्टी लगायत हामी प्रतिपक्षी दलहरूले नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेका थियौं’, पुनले भने । यो विषय सदन बाहिर पनि उठेको उनले बताए । नैतिकताको विषय व्यक्तिको निजी विषय हुने उनले बताए । पार्टीहरूले, जनताले नैतिकताको कुरा सम्बन्धित व्यक्तिलाई सुझाव दिने विषय रहेको बताए ।

गृहमन्त्रीले राजीनामा नदिने र सबै प्रकारका छानबिनका लागि तयार रहेको बताएपछि सरकारले एक महिनाभित्र छानबिन हुने प्रतिवद्धतापछि आफूहरु सदन खोल्न तयार रहेको बताए ।

यो विषयमा सहमतिमा आउन रास्वपालाई समेत आग्रह गरेको पुनले स्मरण गरे । मुख्य विषय भिजिट भिसा प्रकरणको छानबिन हुनुपर्ने रहेको उनले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन निश्पक्ष ढंगले अगाडि बढ्ने र विगतमा समेत भएको समस्या र नीतिगत तथा संरचनात्मक विषय केलाउन छानबिन चाहेको बताए ।

केही व्यक्तिले आफैले गृहमन्त्रालय चलाएको हुनाले माओवादी तर्सिएको हो कि भन्ने समेत सुनिएको उल्लेख गर्दै उनले त्यस्तो नरहेको बताए । बरु यो विषयमा अध्ययन र छानबिनका लागि निरन्तर खबरदारी गर्ने बताए ।

२ बुँदे सहमति गरेर सदन खोल्दा अग्नि प्रसाद सापकोटा विरुद्धको मुद्दासँग सम्बन्ध छ कि भनेर समेत कतिपयले आशंका गरे । अग्नि सापकोटाविरुद्धको मुद्दा र सदन खोल्ने विषय कुनै लेनदेनको विषय नरहेको बताए ।

‘माओवादी गलेको कुरामा कुनै सत्यता छैन’ उनले भने ।

माओवादी उपमहासचिव पुनले भिजिट भिसा प्रकरणको विषयमा उठाएका विषय एक ढंगले सम्बोधन भएको भनेर छलफलमा भाग लिन आग्रह गरे । रास्वपा नयाँ दल रहेको उल्लेख गर्दै उनले अनुभव संगाल्दै अगाडि बढ्न आवश्यक रहेको बताए ।

सत्तापक्षका सांसदहरू समेत संयमित ढंगले प्रस्तुत हुनुपर्ने बताए ।

‘अलिकति बल प्रयोग जस्तो, जबरजस्ती जस्तो भयो । प्रमसख प्रतिपक्षी दल आइसक्यो, यसलाई पेलेपनि हुन्छ भन्ने जस्तो ठानिनु हुँदैन’ पुनले भने ।

संसदीय अंकगणित कहिले कसैको ठूलो, कहिले अर्को ठूलो हुन सक्ने भन्दै उनले विगतमा रहेको प्रतिसोध अहिले नै साधौं जस्तो गर्न नहुने बताए ।

सभामुखले संवादको वातावरण बनाउन थप पहल लिनुपर्ने आग्रह गरे । संवाद गर्दै रास्वपालाई समेत बजेटमाथि धारणा राख्ने वातावरण बनाउन सभामुखलाई उनले अनुरोध गरे ।

यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहल लिनुपर्ने उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?