News Summary
Generated by OK AI. Editorially reviewed.- महिलाहरूले ३० वर्षको उमेरपछि हर्मोनल परिवर्तन, तनाव, अनियमित खानपान र शारीरिक गतिविधिको कमीले पेटको बोसो बढ्छ ।
- उमेर बढेसँगै मेटाबोलिज्म कम हुने र हर्मोनल असन्तुलनले पेटको बोसो बढ्ने मुख्य कारण हो, जसले दीर्घकालीन स्वास्थ्य जोखिम बढाउँछ।
- पेटको बोसो घटाउन स्वस्थ खानपान, नियमित व्यायाम, पर्याप्त निद्रा र पानी पिउने अभ्यास गर्न सुझाव दिइन्छ ।
महिलाहरूले ३० वर्षको उमेर पार गरेपछि आफ्नो शरीरमा विभिन्न परिवर्तन अनुभव गर्छन् । यसमध्ये पेटको बोसो बढ्ने समस्या एक सामान्य तर गम्भीर चिन्ताको विषय हो । पेटको बोसो बढ्नु केवल शारीरिक सौन्दर्यसँग सम्बन्धित मात्र होइन, यसले स्वास्थ्यमा पनि गम्भीर असर पार्छ ।
पेटको बोसो बढ्दा मधुमेह, उच्च रक्तचाप, हृदयरोग र अन्य दीर्घकालीन रोगहरूको जोखिम बढ्छ । त्यसैले, प्रत्येक महिलाले ३० वर्षको उमेर पछि आफ्नो पेटको बोसो किन बढ्दैछ ? यसलाई कम कसरी गर्ने बुझ्न आवश्यक छ ।
किन पेटको बोसो बढ्छ ?
३० वर्षको उमेर पछि महिलाहरूमा पेटको बोसो बढ्नु सामान्य समस्या हो । विशेषत यो उमेरमा हर्मोनल उत्तरचढावले गर्दा बोसो बढ्छ । त्यस्तै तनाव, खानपान, अनिद्रा र शारीरिक गतिविधिको कमीले पनि यो समस्या हुनसक्छ ।
हर्मोनल परिवर्तन
३० वर्षको उमेरपछि महिलाहरूको शरीरमा हर्मोनल परिवर्तनहरू तीव्र रूपमा देखिन्छन् । विशेषगरी, ईस्ट्रोजेन र प्रोजेस्टेरोन हार्मोनको स्तरमा उतारचढाव हुन्छ । यी हर्मोनहरूले शरीरको मेटाबोलिज्मलाई नियन्त्रण गर्छन् ।
जब यी हर्मोनहरूको सन्तुलन बिग्रन्छ, शरीरको क्यालोरी खपत गर्ने क्षमता कम हुन्छ । फलस्वरूप, खाएको खाना ऊर्जामा परिणत हुनुको सट्टा बोसोको रूपमा पेट, कम्मर र तल्लो पेटमा जम्मा हुन्छ ।
साथै, यो उमेरमा धेरैजसो महिलालाई पोलिसिस्टिक ओभरी सिन्ड्रोम जस्ता समस्याहरूले पनि हर्मोनल असन्तुलन पार्छ । जसले पेटको बोसो बढाउने प्रमुख कारण बन्छ ।
पोलिसिस्टिक ओभरी सिन्ड्रोम एक हर्मोनल विकार हो, जुन प्रजनन् उमेरका महिलाहरूमा सामान्य रूपमा देखिन्छ । यो अवस्थामा महिलाको अण्डाशयमा साना–साना सिस्टले भरिएको थैली बन्न सक्छ, जसले हर्मोन सन्तुलनमा असर गर्छ ।
तनाव र निद्राको कमी
हर्मोनल कारण मात्र होइन । यो उमेरमा तनाव र अनिद्राले पनि पेटको बोसो बढाउँछ हुन्छ । ३० वर्षको उमेरपछि धेरैजसो महिलाहरूले घर, परिवार, कार्यालय र अन्य धेरै जिम्मेवारीहरू सम्हालिरहेका हुन्छन् ।
यसले मानसिक तनाव बढाउँछ । मानसिक तनाव बढी हुँदा यसले निद्रालाई असर गर्छ। पर्याप्त निद्राको अभाव र अत्यधिक तनावले शरीरमा कोर्टिसोल हर्मोन बढाएर मेटाबोलिज्मलाई सुस्त बनाउँछ । जुन पेटको बोसो बढ्नुको मुख्य कारण हो ।
अध्ययनहरुले पनि ६ घण्टाभन्दा कम सुत्ने महिलाहरूमा पेटको बोसो बढ्ने सम्भावना २२ प्रतिशतले बढी हुने देखाएको छ ।
मेटाबोलिज्ममा कमी
उमेर बढ्दै जाँदा शरीरको मेटाबोलिक दर स्वाभाविक रूपमा कम हुन्छ । मेटाबोलिज्म भनेको शरीरले खानालाई ऊर्जामा परिणत गर्ने प्रक्रिया हो । ३० वर्षको उमेरपछि यो प्रक्रिया सुस्त हुन्छ, जसले गर्दा पहिलेको जस्तो खानपानले पनि बोसो जम्मा हुन थाल्छ ।
विशेषगरी, पेटको क्षेत्रमा बोसो जम्मा हुने सम्भावना बढी हुन्छ किनभने यो क्षेत्रमा बोसो कोषिकाहरू सक्रिय हुन्छन् ।
सरल शब्दमा भन्नुपर्दा, हर्मोनल परिवर्तनका कारण खानालाई ऊर्जामा रूपान्तरण गर्ने प्रक्रिया छिटो दरमा सुस्त हुन्छ । यस्तो अवस्थामा यदि खाने बानी पहिले जस्तै रह्यो भने पेटको बोसो बढ्न थाल्छ ।
अनियमित खानपान
व्यस्त जीवनशैलीले घर, जागिर र बच्चाको हेरचाहमा समय अभाव, कतिपय अवस्थामा परिवारलाई प्राथमिकता दिँदा आफ्नो खानपानमा ध्यान पुग्दैन । तनाव बढ्दा मानसिक दबाबले भोक नियन्त्रण गर्ने हर्मोन बिग्रने कारणले पनि खानपानको टुंगो नहुनसक्छ ।
यसरी खानपानको निश्चित समय छैन भने खाने समय अनियमित हुँदा शरीरको पाचन प्रक्रियामा असर पर्छ, जसले मेटाबोलिजमलाई थप कमजोर बनाउँछ ।
कम पानी पिउनु
काम गर्ने महिला होस् वा गृहिणी, महिलाहरूले पर्याप्त पानी नपिउँदा शरीरको विषाक्त पदार्थहरू बाहिर निस्कँदैनन्, जसले मेटाबोलिजमलाई सुस्त बनाउँछ । पानीको कमीले पाचन प्रक्रिया पनि कमजोर हुन्छ, जसले तौल बढ्ने सम्भावना बढाउँछ ।
शारीरिक गतिविधिको कमी
आधुनिक जीवनशैलीमा धेरै समय बसेर बिताइन्छ, चाहे त्यो कार्यालयको डेस्कमा होस् वा घरमा । शारीरिक गतिविधिको कमीले क्यालोरी खपत कम हुन्छ, जसले बोसो जम्मा हुने प्रक्रियालाई तीव्र बनाउँछ । विशेषगरी, पेटको मांसपेशीहरू निष्क्रिय हुँदा बोसो त्यही क्षेत्रमा जम्मा हुन्छ ।
आनुवंशिक कारण
कतिपय अवस्थामा, पेटको बोसो बढ्नु आनुवंशिक कारणले पनि हुन सक्छ । यदि परिवारमा मोटोपन वा पेटको बोसोको समस्या छ भने, यो जोखिम बढी हुन्छ । यद्यपि, आनुवंशिक कारणले मात्र नभई जीवनशैलीले पनि यो समस्यालाई प्रभावित गर्छ ।
पेटको बोसो घटाउन के गर्ने ?
-खानपानमा उच्च फाइबर, प्रोटिन र बदाम, चिया सिड, दाल र फलफूल जस्ता स्वस्थ बोसो समावेश गर्न सकिन्छ । सकेसम्म, चिनी र परिष्कृत कार्बोहाइड्रेट भएका खाद्य पदार्थहरूबाट टाढा रहनुपर्छ ।
-हरेक दिन ३० मिनेटको लागि छिटो हिँडाइ, योग, कार्डियो व्यायाम र प्राणायाम जस्ता व्यायाम गर्नुपर्छ । यसले शरीरको अतिरिक्त बोसो घटाउन मद्दत गर्छ ।
– मानसिक र शारीरिक तनाव कम गर्न, हरेक दिन २० देखि ३० मिनेट योग वा ध्यान जस्ता गतिविधिहरू गर्न सकिन्छ ।
– हरेक दिन २ देखि ३ लिटर पानी पिउन सकिन्छ । पर्याप्त मात्रामा पानी पिउनाले शरीरबाट विषाक्त पदार्थहरू बाहिर निस्कन्छ र मेटाबोलिजमलाई गति दिन्छ ।
– ७ देखि ८ घण्टा सुत्नुपर्छ । अपर्याप्त निद्राले मेटाबोलिज्म र बोसो नियन्त्रणमा असर गर्छ ।
-बिस्तारै र निरन्तर माथि उल्लेखित प्रयासले स्वस्थ तरिकाले बोसो घटाउन सकिन्छ । यदि आवश्यक भए पोषणविद् वा चिकित्सकको सल्लाह लिन सकिन्छ ।
प्रतिक्रिया 4