
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘रियाल रिंगेट’को टिजर सार्वजनिक भएको छ र साउन १६ गतेदेखि प्रदर्शन हुने तयारी छ।
- टिजरले नेपाली युवाको सपना, संघर्ष, परिवारको वियोग र प्रवासमा भोग्नुपर्ने दुःखलाई देखाएको छ।
- निर्देशक विभोर पोखरेलको यस फिल्मले वैदेशिक रोजगारीको अँध्यारा पक्षलाई उजागर गर्दछ।
काठमाडौं । वैदेशिक रोजगारीको यथार्थलाई पर्दामा उतारिएको फिल्म ‘रियाल रिंगेट’को टिजर सार्वजनिक भएको छ ।
साउन १६ गतेदेखि प्रदर्शन तयारीमा रहेको यो फिल्मको टिजरलाई निर्माता कम्पनी रेबेल फिल्म्सले युट्युबमा सार्वजनिक गरेको हो । मर्मस्पर्शी टिजरले दर्शकमा प्रभाव पार्ने अपेक्षा छ ।
टिजरले नेपाली युवाको सपना, संघर्ष, पारिवारिक बिछोड र प्रवासमा भोग्नुपर्ने दुःखलाई नजिकबाट देखाएको छ । नेपालमा रोजगारीको समस्याले पिरोलिएका युवा कसरी विदेश पलायन हुन बाध्य हुन्छन्, परिवारसँगको वियोग र विदेशमा उनीहरूले कस्ता चुनौती सामना गर्नुपर्छ भन्ने कुरालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ ।
प्रवास पुगेपछि विभिन्न षड्यन्त्रमा परेर गलत मनसाय बोकेका व्यक्तिको फन्दामा परेका युवाको मार्मिक दृश्य देखाइएको छ । यो फिल्मले वैदेशिक रोजगारीको चम्किलो आवरणभित्र लुकेका अँध्यारा पाटोलाई उजागर गर्छ ।
विभोर पोखरेल निर्देशित यो फिल्ममा प्रमोद चौलागाईं, नीता ढुंगाना, छुल्ठिम गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरीको अभिनय छ ।
पटकथा प्रदीप भारद्वाजको छ । फिल्मको नाम नेपाली श्रमिकको उच्च संख्या रहेका मुलुक कतार र साउदी अरेबियाको मुद्रा ‘रियाल’ तथा मलेसियाको मुद्रा ‘रिङ्गेट’ को मिश्रणबाट बनेको छ ।
निर्माता गगनलाल प्रधान हुन् । रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको नृत्य छ । गीतमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको सङ्गीत छ भने सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर सुन्न सकिनेछ । गीतका शब्द अमर न्यौपाने, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले लेखेका हुन् ।
भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा छायाङ्कन गरिएको यो फिल्मलाई काफिया फिल्म्सले वितरण गर्दैछ ।
प्रतिक्रिया 4