News Summary
Generated by OK AI. Editorially reviewed.- शिलाजित एक प्राकृतिक पदार्थ हो, जसले शरीरलाई बल र ऊर्जा दिन्छ र आयुर्वेदिक चिकित्सामा प्रयोग हुन्छ।
- सामान्यतः सबैका लागि फाइदाजनक भए पनि, तातो प्रकृतिका व्यक्तिहरूले यसको सेवनबाट बच्नुपर्छ।
शिलाजित एसियाको चट्टानी पहाडहरूमा पाइने एक प्राकृतिक पदार्थ हो । यो सम्भावित स्वास्थ्य लाभहरूका लागि परिचित छ र शताब्दी औँ देखि आयुर्वेदिक चिकित्सामा प्रयोग हुँदै आएको छ । धेरै मानिसहरूले ऊर्जा बढाउन, मस्तिष्कको कार्यलाई सुधार गर्न र समग्र स्वास्थ्यलाई राम्रो बनाउन शिलाजितलाई पूरकको रूपमा लिन्छन् ।
विशेष गरी सामाजिक सञ्जालमा स्वास्थ्य प्रभावकारी टिप्सहरू र फिटनेस विशेषज्ञहरूले सेयर गरेका भिडियो र रिलहरूमा शिलाजितका फाइदा धेरै चर्चा गरिएको भेटिन्छ ।
शिलाजितलाई एक शक्तिवर्द्धक र ऊर्जा बढाउने आयुर्वेदिक रसायन मानिन्छ, जसले शरीरलाई बल प्रदान गर्छ । शिलाजितको सेवनले कमजोरी हट्छ, थकान कम हुन्छ र यौन स्वास्थ्यमा पनि सुधार हुन्छ भन्ने विश्वास गरिन्छ ।
तर, धेरैजसो मानिसहरू विशेषज्ञको सल्लाह नलिई, केवल सामाजिक सञ्जालको प्रभावमा परेर शिलाजितको सेवन सुरु गर्छन् । विशेष गरी गर्मीको मौसममा शिलाजितको सेवनले शरीरमा तापक्रम बढाउन सक्छ, जसले विभिन्न समस्याहरू निम्त्याउन सक्छ ।
यस्तो अवस्थामा यो जान्न जरुरी हुन्छ कि, शिलाजित वास्तवमा कसका लागि सुरक्षित छ, कसले यसको सेवनबाट बच्नुपर्छ र कुन मौसममा यो लिनुपर्छ ?
शिलाजित सबैका लागि सुरक्षित छ त ?
शिलाजित एक प्राकृतिक पदार्थ हो, जसलाई आयुर्वेदमा रसायन मानिन्छ । यसले शरीरलाई बल प्रदान गर्छ र स्वास्थ्यलाई बढावा दिन्छ । शिलाजितको सेवन लगभग सबैका लागि फाइदाजनक हुन्छ, तर यो मौसम र शरीरको प्रकृतिअनुसार प्रयोग गर्नुपर्छ । विशेष गरी गर्मी र वर्षा मौसममा शिलाजितको सेवन चिकित्सकको सल्लाहबिना गर्नुहुँदैन ।
यसले शरीरको सप्त धातुहरूलाई बढावा दिन्छ । आयुर्वेदमा शिलाजितलाई रसायन र बल्य भनिन्छ, जसको अर्थ यो शरीरलाई ताकत, ऊर्जा र दीर्घायु प्रदान गर्छ ।
शिलाजितका फाइदाहरू
ऊर्जा र शक्ति प्रदान गर्छ
शिलाजितको सेवनले शरीरलाई ऊर्जा र शक्ति प्रदान गर्छ । यो विशेष गरी शारीरिक कमजोरी र थकान हटाउनमा सहयोगी हुन्छ ।
रोग प्रतिरोधी क्षमता बढाउँछ
शिलाजितले रोग प्रतिरोधक प्रणालीलाई बलियो बनाउँछ । यसले शरीरलाई रोगहरूसँग लड्ने शक्ति दिन्छ ।
आयु बढाउँछ
आयुर्वेदमा शिलाजितलाई आयु वृद्धिको रूपमा चिनिन्छ । यसले शरीरका सबै सप्त धातुहरूलाई पोषण गरेर बुढ्यौली प्रक्रियालाई ढिलो गर्छ । शिलाजितको नियमित सेवनले शरीरका कोशिकाहरूको बुढ्यौली गति रोक्छ ।
रगतमा चिनीको स्तर नियन्त्रण गर्छ
शिलाजितको सेवनले रगतमा चिनीको स्तर नियन्त्रित रहन्छ, जुन मधुमेहका बिरामीका लागि निकै फाइदाजनक हुन्छ । यसले शरीरलाई न्यानो राख्छ र इन्सुलिनको स्तरलाई पनि नियन्त्रण गर्छ ।
शिलाजित कसरी र कहिले खानुपर्छ ?
शिलाजितको सेवन हरेक व्यक्तिले सन्तुलित मात्रामा गर्नुपर्छ । एक वयस्क व्यक्तिले दैनिक २ ग्राम शिलाजितको सेवन गर्नुपर्छ । बालबालिकाहरूलाई केवल आधा ग्राम दिनुपर्छ । गर्भवती महिलाले चिकित्सकको सल्लाहमा मात्र शिलाजितको सेवन गर्नुपर्छ ।
शिलाजितलाई नियमित रुपमा खानु भन्दा २/३ महिना खाएर एक दुई महिनाको अन्तरातलमा फेरि खानु फाइदाजनक हुन्छ । शिलाजितको सेवन दूधमा मिसाएर पनि गर्न सकिन्छ ।
शिलाजितको सेवन मुख्य रूपमा जाडोको मौसममा गर्नुपर्छ । जाडोमा शरीरलाई ऊर्जा र बलको आवश्यकता हुन्छ, शिलाजितले यो आवश्यकता पूरा गर्छ । यसले शरीरको भित्री चिसोलाई हटाएर ताप प्रदान गर्छ, जसले रोगसँग लड्ने क्षमता बढाउँछ । जब शरीरमा कमजोर वा थकान महसुस हुन्छ त्यो बेला पनि सिलाजितको सेवन गर्न सकिन्छ ।
शिलाजित कसले खानुहुँदैन ?
जसको शरीर तातो प्रकृतिको छ, उनीहरूले शिलाजितबाट बच्नुपर्छ । किनभने यसले शरीरमा थप ताप बढाउन सक्छ, जसले पित्त बढ्ने, एसिडिटी र छालासम्बन्धी समस्याहरू निम्त्याउन सक्छ ।
गर्भावस्थामा शरीरको संवेदनशीलता बढ्छ, त्यसैले चिकित्सकको सल्लाहबिना यो बेला पनि शिलाजित लिनुहुँदैन । साना बालबालिकालाई शिलाजित दिनुअघि चिकित्सकको सल्लाह लिनुपर्छ । जसको पाचन प्रणाली कमजोर छ, उनीहरूले पनि सावधानी अपनाउनुपर्छ किनभने शिलाजितले अपच वा ग्यासको समस्या निम्त्याउन सक्छ ।
रक्तचाप वा मुटुको रोग र मिर्गौलाको समस्या भएका बिरामीले शिलाजित खानुअघि चिकित्सकको सल्लाह लिनुपर्छ ।
शिलाजित किन्दा ध्यान दिनुपर्ने कुरा
बजारमा धेरै प्रकारका शिलाजितहरू उपलब्ध छन्, तर शिलाजित किन्दा शुद्ध र राम्रो गुणस्तरको हो कि होइन भन्ने कुरा सुनिश्चित गर्नुपर्छ । प्रमाणित र विश्वसनीय कम्पनीहरूबाट मात्र शिलाजित किन्नुपर्छ । पछिल्लो समय बजारमा नक्कली शिलाजित पनि पाइन्छ । सडक कनारामा पाइने शिलाजित किन्नु हुँदैन ।
प्रतिक्रिया 4