News Summary
Generated by OK AI. Editorially reviewed.- तेन्जिङ राईले राष्ट्रिय क्लाइम्बिङ प्रतियोगितामा दुई पटक जितेका छन् ।
- उनी आफ्नो खेलकुद यात्रा र सपना पूरा गर्न अझै धेरै गर्न बाँकी रहेको बताए र ओलम्पिक पदकको लक्ष्य राखेका छन् ।
- तेन्जिङले खेलबाहेक माउन्टेरिङ र अन्य खेलहरूमा पनि रुचि राख्छन् र युवालाई प्रोत्साहन गर्न चाहन्छन् ।
काठमाडौं । २१ वर्षीय तेन्जिङ राई गत चैतमा नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएन (एनसीएसए) ले आयोजना गरेको ‘वोङ्छु पिक एण्ड मुसा मसला नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२५’ मा च्याम्पियन बनेका थिए ।
उनले राष्ट्रिय प्रतियोगितामा लगातार दोस्रो पटक उपाधि जितेका हुन् । तेन्जिङले यसअघि सन् २०१८ मा भएको राष्ट्रिय स्पोर्ट क्लाइम्बिङको पनि उपाधि जितेका थिए ।
काठमाडौं बत्तिसपुतलीमा बस्ने तेन्जिङ ‘टिनटिन’को नामबाट बढी चिनिन्छन् । साथीहरुले पनि उनीलाई यही नामले बोलाउँछन् ।
क्लाइम्बिङ अझ त्यसमा पनि वाल क्लाइम्बिङ खेलको विधाको रुपमै छ । त्यसैले यसमा प्रतिस्पर्धा गर्नेहरु खेलाडीकै हैसियतमा हुन्छन् । किनभने क्लाइम्बिङको अन्तर्राष्ट्रिय महासंघ पनि छ । यो ओलम्पिकमा पनि समावेश भइसकेको खेल हो । अनी नेपाली खेलाडीले एसियन गेम्समा त प्रतिस्पर्धा नै गरिसकेका छन् ।
तेन्जिङको परिचय खेलाडी भन्दा धेरै फराकिलो छ । उमेर दुई दशक मात्र पार गरेका उनले जिन्दगीमा धेरै उतारचढावहरु भोगेका छन् । त्यसमा कुनै सिनेमा नै बन्छ होला । तर तेन्जिङ आफ्नो असली कर्म र यात्रा भने बल्ल सुरु भएको मान्छन् । किनभने टिनएज पार गरेर वयस्त भइसकेपछि तेन्जिङको सोचार र बुझ्ने लेभलमा पनि फरक आइसकेको छ ।
हाल तेन्जिङ ललितपुरको झम्सिखेलमा रहेको हिमालयन आउटडोर स्कुलमा पढ्छन् । क्लाइम्बिङ सम्बन्धि नै उनले ज्ञान बटुलिरहेका छन् ।
प्लस टु को पढाईपछि उनले क्लाइम्बिङमै डिप्लोमा कोर्स गरिरहेका छन् । एक वर्ष भयो त्यहाँ पढ्न थालेको ।
८ वर्षको उमेर देखि क्लाइम्बिङमा
तेन्जिङले क्लाम्बिङ नै गर्न थालेको दशक भन्दा बढी भइसक्यो । उनले सानोमै यसतर्फ आकर्षित भए । उनको आमा ट्रेनिङतिरै फ्रिलान्सिङ काम गर्ने हुनाले तेन्जिङ पनि यही क्षेत्रमा नजिकिए ।
उनी ८ वर्षको हुँदा पहिलो पटक क्लाइम्बिङ गरेका थिए । चक्रपथमा रहेको पासाङ ल्हामु क्लाइम्बिङ वालमा उनले पहिलो पटक क्लाइम्बिङ गरेका थिए ।
‘हरेक शनिबार त्यहाँ जान्थें स्कुल पढ्दा । ठमेलको एस्ट्रेकमा पनि क्लाइम्बिङ गरेको थिँए। सबैजना भेटिन्थे । रमाइलो लाग्यो’ तेन्जिङले पुराना दिन सम्झिए ।
खासमा उनी पढाईमा औषत विद्यार्थी थिए । अतिरिक्त क्रियाकलापमा उनको रुची थियो । त्यसैले पनि तेन्जिङ एड्भेन्चरतिर लागे । त्यहीबाट उनको क्लाम्बिङ यात्रा सुरु भयो । उनी सुरुमै बोल्डिङको प्रतिस्पर्धामा भाग पनि लिए । उनले क्लाइम्बिङ गर्न थालेकै १३ वर्ष भइसकेको छ ।
उमेर नपुग्दा अन्तर्राष्ट्रिय खेल्न पाएनन्
तेन्जिङले सन् २०१८ मा भएको राष्ट्रिय क्लाइम्बिङ प्रतियोगिता जितेका थिए । च्याम्पियन प्लेअर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि गराउने वाचा गरिएको थियो । तर उनको उमेर सानै भएको उनी जान पाएनन् । ‘उमेर नपुगेकोले म जान पाइन । एसियन च्याम्पियनसिपमा जाने कुरा थियो’ त्यसबेला भने उनी खिन्न भए ।
गेम त छुट्यो तर उनले खेललाई छुटाएनन् । निरन्तर ट्रेनिङ गरिरहे । पछि उनी अन्तर्राष्ट्रिय खेल्न योग्य त भए तर फेरि जान पाएनन् । ‘धेरै तयारी पनि गरेको थिएँ । तर अन्तिम समयमा जान पाइएन’ उनले भने ।
उनले राष्ट्रिय प्रतियोगिता पनि जिते । अन्तर्राष्ट्रिय खेल्न जाने योजना रहेपनि जान पाएनन् । अनी उनलाई अब यो क्लाइम्बिङ छाड्छु भन्ने पनि लागेको थियो । ‘अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जान नपाएपछि छाडम जस्तो भएको थियो’ राईले भने ।
आन्तरिक समस्यामा कारण त्यसको शिकार तेन्जिङ बनेका थिए । एक पटक उनी हार मान्ने जस्तो स्थितीमा पुगिसकेको थिएँ । तर उनले आफूलाई परिपक्क बनाएर सोचाई परिवर्तन गरे ।
‘म क्लाइम्बिङ छाड्छु भन्ने सोचमा पुगिसकेकोँ थिएँ । तर फेरि सोचे मैले जुन कुरालाई सपना भनेर लागेँ । त्यसलाई त्याग्न हुन्न भने आफूलाई मैले मोटिभेट गरेँ’ तेन्जिङले सुनाए, ‘अनि यसलाई छाड्न सकिनँ र लगातार लागिरहेँ ।
उनले अहिलेसम्म आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छैनन् । गत जनवरीमा भारतको जम्सेदपुरमा भएको टाटा स्टिल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपमा उनीसहित ६ नेपाली खेलाडी सहभागि थिए ।
विदेशमा काम समेत गरे
तेन्जिङलाई अन्तर्राष्ट्रिय स्तरमा खेल्न नपाएको दु:ख लागिरहेको थियो । त्यसपछि कोभिड महामारीले सबै क्षेत्र प्रभावित बन्यो । उनको पनि गेम भएन ।
उनले विदेशमा गएर काम समेत गरे । उनले सन् २०२३ मा युएईमा गएर काम पनि गरे । उनलाई विदेशमा गएर काम गर्दा झन् पिडा हुन्थ्यो । त्यो गर्मीको अनुभव उनले पनि लिए ।
‘५० डिग्रीको गर्मीमा पनि काम गरेँ । बाहिर गएर काम गर्दा कति पीडा हुन्छ थाहा पाएँ, बुझें’ तेन्जिङले भने । त्यसपछि उनी बाहिर बसेनन् । केही गर्ने उदेश्यसहित नेपालमै फर्किए । किनभने उनलाई ड्रिम नै फलो गर्नु थियो । त्यसैले नेपाल फर्किए ।
‘मलाई मेरो सपना पछ्याउनु थियो । त्यो सोचेर फर्किएँ । बाहिरको दुख देखेँ । पैसा कमाएको थिएँ । तर त्यहाँ मेरो सपना थिएन’ उनले भने ।
सुरुवात हुँदैछ
तेन्जिङ क्लाइम्बिङ स्पोर्टको राष्ट्रिय प्रतियोगितामा दुई पटकको च्याम्पियन हुन् । त्यो पनि युवा उमेरमै । तर उनले यसलाई अझै सुरुवातकै रुपमा लिएका छन् । किनभने उनले अझै धेरै गर्न बाँकी छ ।
‘मैले दुई पटक राष्ट्रिय प्रतियोगिता जितेँ । तर अझै यो खेलबारे धेरैलाई थाहा छैन । बुझेका छैनन् । त्यसैले मेरो करियर पनि बल्ल सुरुवात भएको लाग्छ’ आफ्नो करियरको महत्व उनले बुझेका छन् । सपना पूरा गर्ने बाटोको भर्खर सुरुवाती चरणमा छन् ।
उनी पछि आउने नयाँ पुस्ताका लागि इन्सपिरेसन बन्न चाहन्छन् ।
उनले आफ्नो अन्तिम लक्ष्य नेपालका लागि ओलम्पिक मेडल जित्ने लक्ष्य रहेको बताए । ‘क्लाइम्बिङमा १४ वर्ष भयो । इन्डोर/आउटडोर दुवैमा क्लाइम्बिङ गरें’ तेन्जिङले भने, ‘मुख्य खेल क्लाइम्बिङ नै हो । नेसनल प्लेर भएर बाहिर खेल्ने लक्ष्य छ । ड्रिम ओलम्पिकमा पदक जित्ने छ ।’
उनी नेपालको क्लाइम्बिङ क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा पनि चिनाउन चाहन्छन् । ‘अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्ने त्यसमा राम्रो प्रदर्शन गरेपछि अनुभव पनि हासिल हुन्छ’ उनी भन्छन् ‘अनि कुनै इभेन्टमा स्वर्ण पदक ल्यायो भने क्लाइम्बिङमा पनि नेपाललको आशा जगाउन सकिन्छ । राम्रो आशा छ भनेर सबैलाई बुझाउने चाहना छ।’
पदक जित्न सहज भने छैन । उनलाई चुनौती बारे पनि थाहा छ । ‘जित्नका लागि धेरै चुनौतीहरु छ । विश्व स्तरमा खेल्न पहिला एसियनमा जित्नुपर्यो । अनी विश्वमा जाने र पछि ओलम्पिकमा पुगेर खेल्ने हो’ उनले भने ।
क्लाइम्बिङ अन्य खेलहरु भन्दा अली फरक भएकोले यसमा जो कोही लाग्न सक्ने तेन्जिङको बुझाई छ । ‘धेरै स्पोर्ट्स भन्दा क्लाइम्बिङ अली फरक छ । परिवारसँग गएर सँगै गर्न मिल्छ । जति वर्षमा पनि चढ्न मिल्छ । कुनै उमेर हुँदैन । कम्युनिटीमा पनि गएर गराउन सकिन्छ।’
तेन्जिङले अहिले प्रायोजक पनि पाउन थालेका छन् । उनी लुक्ला आउटडोरले ब्राण्ड एथ्लेट बनाएको छ ।
तेन्जिङ क्लाइम्बर मात्र होइनन् । उनी यो भन्दा धेरै कुरा गर्न चाहन्छन् । आफै पनि स्विमिङ गर्छन् । ट्रेल म्याराथन पनि दौडिरहेका छन् । मिक्स मार्सल आर्ट खेल्छन् । क्यालिस्थेनिक पनि गर्छन् । उनी धेरै किसिमका खेल खेल्छन् । आफूलाई फिट राख्छन् । त्यसलाई उनले हबीका रुपमा लिएका छन् ।
फरक सपना
खेलाडीको रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर पदक जित्ने, ओलम्पिकसम्म पुग्ने तेन्जिङको लक्ष्य छ नै । साथै उनी खेलबाहेक अर्को क्षेत्रमा पनि केही गर्न चाहन्छन् । उनी एकै स्थानमा मात्र सीमित हुन चाहँदैनन् ।
उनलाई क्लाइम्बिङमार्फत केही योगदान दिन मन छ । ‘मेरो अन्तिम ड्रिम भनेको माउन्टेरिङमा हो । यो मेरो बिगर ड्रिम हो’ तेन्जिङ भन्छन्, ‘नयाँ-नयाँ पिकहरु चढ्ने । क्लाइम्बिङमा बाटोहरु बनाउने ।’
अहिले उनी माउन्टेरिङ (पर्वतारोहण)मा पनि केन्द्रित भएर प्रशिक्षण गरिरहेको छु । ‘सबैले ८ हजार माथिको हिमाल मात्र चढिरहेको छ । त्यो मात्र नभएर ६ हजार, ७ हजार मिटर माथिका हिमालहरु पनि एक्सप्लोर गर्न मन छ’ उनी भन्छन्, ‘टेक्निकल हिमाल चढ्न मन छ । यस्तै चढ्न नसक्नेलाई सिकाउने, ट्रेनिङ दिलाउने।’
यस्तै उनलाई हिमालमा गएर नयाँ कुराहरु पत्ता लगाउने र त्यसमा रिसर्च गर्न मन छ । ‘माथि-माथि गएर स्टोरीहरु संकलन गर्ने, डकुमेन्टीहरु बनाउने । नयाँ कुराहरु एस्प्लोर गर्न मन छ ।’
तेन्जिङलाई आफ्नै आफ्नै क्लाइम्बिङ जिम बनाउने रहर पनि छ । उनी त्यसबाट युवाहरुलाई क्लाइम्बिङ सिकाउन चाहन्छन् ।
यस्तै कमजोर र आफैँ पढ्न नसक्नेहरुका स्कुल खोल्ने पनि उनको सपना छ । ‘जे कमी भइरहेको छ । त्यसमा काम गर्न मन छ । कुनै टिमहरुसँग मिलेर यस्तो काम गर्न मन छ’ उनले भनेका छन् ।
प्रतिक्रिया 4