
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल चेम्बर अफ कमर्सले एमआरपी कार्यान्वयनमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ।
- अध्यक्ष कमलेशकुमार अग्रवालले उपभोक्ता र विक्रेता दुवैलाई सचेत गराएर मात्रै एमआरपी कार्यान्वयन गर्न सुझाव दिए।
- चेम्बरले सरोकारवाला निकायसँग सर्वपक्षीय छलफल र सहमतिका आधारमा मात्रै एमआरपी कार्यान्वयन गर्नुपर्ने बताएको छ।
४ असार, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अधितकतम खुद्रा बिक्री मूल्य (एमआरपी) कार्यान्व्यनमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ ।
अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वमा चेम्बर पदाधिकारी तथा अन्य व्यावसायिक संघ संस्थाहरुका पदाधिकारीहरुको टोलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी समक्ष उद्योगी र व्यापारीको व्यावहारिक समस्या समाधान गरेर मात्रै एमआरपी कार्यान्वयन गर्नुपर्ने सुझाव दिएको हो ।
चेम्बरले मन्त्री भण्डारी समक्ष सरोकारवाला निकायसँग सर्वपक्षीय छलफल र सहमतिका आधारमा मात्रै एमआरपीलाई कार्यान्वयनमा लैजानुपर्ने जनाएको छ ।
चेम्बरद्वारा जारी विज्ञप्तिमा छ, ‘गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकार हो, उक्त अधिकारबाट उपभोक्तालाई वञ्चित हुन नदिन तथा बजार र मालवस्तुबारे हरेक विषयमा चेतना अभिवृद्धि गर्न प्रचार प्रसार तथा सचेतनाका कार्यहरु अगाडि बढाइनुपर्ने अहिलेको आवश्यक्ता देखिएको छ ।’
व्यावसायिक र औद्योगिक वातावरण शिथिल रहेको वर्तमान अवस्थामा हाल विभागले अत्यधिक जरिबाना गरी अनुगमन गरेको क्रियाकलापले व्यावसायिक वातावरण थप बिग्रिन सक्ने चेम्बर अध्यक्ष अग्रवालले बताए ।
चेम्बर पदाधिकारीसँगको छलफलमा मन्त्री भण्डारीले सरोकारवाला निकायहरुसँगको समन्वयमा अविलम्ब थप छलफल गरेर मात्रै एमआरपी कार्यान्वयन प्रक्रियालाई आवश्यकता अनुसार अघि बढाइने बताए ।
मन्त्रालयमा आज भएको छलफलमा एमआरपी सम्बन्धमा हाल देखिएका अन्योलबारे सबै सरोकारवालाबीचको आपसी छलफलबाट अविलम्ब टुंग्याउनु पर्ने विषयमा सहमति भएको छ । छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवहरु सहभागी थिए ।
प्रतिक्रिया 4