+

बुढानीलकण्ठ-१० मा ‘समर फुटबल क्याम्प’ सुरु

२०८२ असार  ४ गते १९:५६ २०८२ असार ४ गते १९:५६
बुढानीलकण्ठ-१० मा ‘समर फुटबल क्याम्प’ सुरु

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुढानीलकण्ठ नगरपालिका वडा–१० ले १४ वर्षमुनिका बालबालिकालाई लक्षित गरी समर फुटबल क्याम्प सुरु गरेको छ।
  • क्याम्पको उद्घाटन मेयर मिठाराम अधिकारी र वडा–१० का अध्यक्ष नवराज भट्टराईले गरेका थिए।
  • क्याम्पमा ६० बालबालिका सहभागी छन् र ११ दिने प्रशिक्षणमा आधारभूत अभ्यास, बल नियन्त्रण, टिम भावना र अनुशासन सिकाइन्छ।

४ असार, काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा–१० ले जुनियर फुटबलर उत्पादन गर्ने उद्देश्यले १४ वर्षमुनिका बालबालिकालाई लक्षित गरेर समर फुटबल क्याम्प सुरु गरेको छ ।

नर्थ स्टार फुटबल एकेडेमीको प्राविधिक सहयोगमा बुनपा वडा–१० ले कपनस्थित ह्यान्डबल बहुउद्देश्यीय स्पोर्ट्स सेन्टरमा बुधबारदेखि ११ दिने फुटबल क्याम्प सुरु गरेको हो ।

उक्त क्याम्पको बुढानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारी र वडा–१० का अध्यक्ष नवराज भट्टराईले उद्घाटन गरेका थिए । सो अवसरमा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलकिपर विशाल श्रेष्ठ र तेक्वान्दो प्रशिक्षक दीपक दुलाललगायत उपस्थिति थिए ।

नर्थ स्टार फुटबल एकेडेमी राष्ट्रिय टोलीका पूर्वगोलकिपर विशालले नै सञ्चालनमा ल्याएका हुन् । उनी पनि यसै वडाका बासिन्दा हुन् । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य प्रीति राई पनि यसै मैदानबाट खेल्दै उदाएकी थिइन् ।

यस वडाबाट थप प्रतिभावान फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले ७ वर्षदेखि १४ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै क्याम्प सुरु गरिएको वडा–१० का अध्यक्ष नवराज भट्टराईले जानकारी दिए । यस क्याम्पमा कुल ६० जना बालबालिका सहभागी छन् । हरेक बिहान ६ः३० देखि ८ः३० बजेसम्म सञ्चालन हुनेछ ।

राष्ट्रिय टोलीका पूर्वसदस्य विशालको प्रशिक्षण टोलीमा महेश श्रेष्ठ, कपिल ढकाल, सन्दीप खड्का, मनीष पौडेल र जयप्रकाश बोमजन छन् । ११ दिने प्रशिक्षणका क्रममा फुटबलको आधारभूत अभ्यास, बल नियन्त्रण तथा कौशलको विकास, टिम भावना र नेतृत्व विकासका साथै खेलकुदमार्फत अनुशासन र प्रोत्साहनजस्ता पक्षमा बालबालिकालाई प्रशिक्षण गराउने मुख्य प्रशिक्षक विशाल श्रेष्ठले बताए ।

उद्घाटनको अवसरमा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले नगरभित्र खेलकुद विकासलाई नयाँ उचाइमा पुर्‍याउने विभिन्न खेल विधाहरूलाई प्रोत्साहित गरिँदै आएको बताएका छन् ।

सोही अवसरमा वडा–१० का अध्यक्ष नवराज भट्टराईले स्थानीय स्तरमै बालबालिकालाई खेलकुदप्रति प्रेरित गर्दै उनीहरूको प्रतिभा, अनुशासन, आत्मविश्वास र सामाजिक समावेशिताको भावना विकास गर्नु क्याम्पको मुख्य उद्देश्य रहेको बताए । यस किसिमको कार्यक्रमले भविष्यका खेल प्रतिभाहरू उत्पादन गर्ने उनको विश्वास छ ।

समर फुटबल क्याम्प
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय