+

ड्याफोडिलमा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम

२०८२ असार  ५ गते १२:२७ २०८२ असार ५ गते १२:२७
ड्याफोडिलमा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ओलम्पियन्स एसोसिएसनले काठमाडौंको गोकर्णेश्वरको ड्याफोडिल पब्लिक स्कुलमा स्कुल टु ओलम्पिक कार्यक्रम गरेको हो।
  • कार्यक्रममा खेलाडीहरूले आफ्नो यात्रा, कठिनाई र सफलताको अनुभव सुनाएका थिए र ओलम्पिकमा प्रतिस्पर्धा गरेको बताए।
  • यो कार्यक्रम सुदूरपश्चिमदेखि कोशीसम्म १९ ठाउँमा आयोजना भइसकेको छ।.

५ असार, काठमाडौं । नेपाल ओलम्पियन्स एसोसिएसनले गोकर्णेश्वरको ड्याफोडिल पब्लिक स्कुलमा बुधवार स्कुल टु ओलम्पिक कार्यक्रम गरेको छ ।

ड्याफोडिलका विधार्थीसँग भएको अन्तरक्रियात्मक कार्यक्रममा एसोसिएसनका अध्यक्ष दीपक विष्ट, सचिव देवु थापा, एथ्लेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ र ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले आफ्नो खेल जीवन सुरुवात, यात्रा , कठिनाई र सफलताको प्रसंग सुनाएका थिए।

तेक्वान्दोका दीपक र जुडोकी देवुले सन् २००८ को बेइजिङ ओलम्पिक तथा एथलेटिक्सकी सन्तोषी र ब्याडमिन्टनका प्रिन्सले सन् २०२४ को पेरिस ओलम्पिकमा देशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेका थिए ‌।

दीपकले खेलकुदमा अनुशासन, समर्पण, दृढ संकल्पले मात्रै सफलता मिल्ने आफ्नो अनुभवबाट सिकेको बताए । उनले चोट र संघर्षबाट आत्तिएर सफलता प्राप्त गर्न नसकिने बताए ।

देवुले खेलकुदले नै आफूलाई मानसिक र शारीरिक रुपमा थप मजबुत बनाएको स्मरण गरिन् । खेल जीवनमा कठिन समयलाई पनि पार गर्दै दृढताका साथ अघि बढेकै कारण ओलम्पिकसम्मको यात्रा तय गर्न सकेको बताइन् ।

सन्तोषीले हरेकको जीवनमा शिक्षाको‌ महत्व हुने भएकाले विधार्थी जीवनमा त्यसमै बढी जोड दिनु पर्ने जनाउँदै खेलकुदमा रूचि भएको खण्डमा समय व्यवस्थापन गरेर अध्ययन र अभ्यासलाई अघि बढाउनु उपयुक्त हुने सुझाव दिइन् ।

प्रिन्सले परिवारको साथ र आफ्नोतर्फबाट शतप्रतिशत खेलमा केन्द्रीय भएकै कारण ओलम्पिक खेल्न सफल भएको बताए। विधार्थीहरुले ओलम्पिकसँग जिज्ञासा पनि राखेका थिए।

प्रदेश खेलकुद विकास परिषद् बागमतीको सहयोगमा स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना भएको यो वर्षको तेस्रो कार्यक्रम हो । गत महिना भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालय र काभ्रेपलाञ्चोक साँगास्थित नेपाल पुलिस स्कुलमा कार्यक्रम आयोजना भएको थियो।

२०७८ को चैतमा सुर्खेतबाट सुरु भएको स्कुल टु ओलम्पिक कार्यक्रम सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशीका विभिन्न जिल्लाका कुल १९ ठाउँमा आयोजना भइसकेको छ।

स्कुल टु ओलम्पिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय