
News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मीको चन्द्रकोट गाउँपालिकामा विद्युत सेवा नियमित गर्न माग गर्दै स्थानीयले सामुदायिक विद्युतीकरण उपभोक्ता समितिको कार्यालयमा तालाबन्दी गरेका छन्।
- उद्योगी, व्यवसायी र उपभोक्ताले मर्मत र सेवा सुधारको माग गर्दै कार्यालयमा ताला लगाएका हुन्।
- स्थानीयले सामुदायिक विद्युत प्रणाली हटाएर केन्द्रीय विद्युतमा जडान गर्न माग गरेका छन्।
५ असार, गुल्मी । विद्युत सेवा नियमित रूपमा सुचारु गर्न माग गर्दै गुल्मीको चन्द्रकोट गाउँपालिकास्थित शान्तिपुर इलाकामा सामुदायिक विद्युतीकरण उपभोक्ता समितिको कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् ।
गुल्मी उद्योग वाणिज्य संघ शान्तिपुर शाखाको अगुवाइमा स्थानीय उद्योगी, व्यवसायी तथा उपभोक्ताले सामूहिकरूपमा तालाबन्दी गरेका हुन् ।
विद्युत सेवा अनियमित हुँदा उद्योग, व्यापार र दैनिक जनजीवन प्रभावित भएको भन्दै उनीहरूले पहिलो चरणको दबाबस्वरूप कार्यालयमा ताला लगाएको संघका अध्यक्ष तेजेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार समिति समक्ष पटक–पटक ज्ञापनपत्र बुझाउँदा पनि कुनै सुनुवाइ नभएको र मर्मतसम्भारमा ढिलाइ हुँदै आएको गुनासो कायमै रहेकाले यस्तो कदम चालिएको बताए ।
चन्द्रकोट क्षेत्रमा सामान्य समस्या आउँदा पनि समयमै मर्मत नगर्ने प्रवृत्तिका कारण नागरिकहरू आक्रोशित छन् ।
स्थानीयले सामुदायिक विद्युत प्रणालीलाई हटाएर चाँडै केन्द्रीय विद्युत प्रवाहमा जोड्न माग गरेका छन् । चन्द्रकोट गाउँपालिकामै हाइड्रोपावरबाट विद्युत उत्पादन भइरहे पनि त्यस क्षेत्रका नागरिकले अन्धकारमा बस्नुपर्ने अवस्था रहेको भन्दै असन्तुष्टि जनाएका छन् ।
उपभोक्ता समितिका अध्यक्ष सिद्धबहादुर थापाले विद्युत जस्तो संवेदनशील क्षेत्रमा काम गर्दा तत्कालै समाधान गर्न गाह्रो हुने प्रतिक्रिया दिएका छन् । उपभोक्तालाई नियमित सेवा दिन आफूहरू निरन्तर प्रयासरत रहेको पनि उनले बताए ।
हाल शान्तिपुर इलाका सामुदायिक विद्युत उपभोक्ता समितिमा ३ हजार भन्दा बढी उपभोक्ता आबद्ध छन् । जिल्लाका अन्य सामुदायिक विद्युत आयोजना रहेका ठाउँमा पनि समयमै मर्मत नहुने र सेवा अवरुद्ध हुने समस्या रहेको उपभोक्ताहरूले बताएका छन् ।
रेसुङ्गा नगरपालिका–३, भाडगाउँका स्थानीयले यस्तै समस्याका कारण सामुदायिक विद्युत हटाएर केन्द्रीय विद्युतमा जडान गरिसकेका छन् ।
पटकपटक विद्युत काटिँदा सामुदायिक विद्युत प्रणालीप्रति असन्तोष चुलिएको छ । स्थानीयले तत्काल सुधार नभए थप आन्दोलनको चेतावनी दिएका छन् ।
प्रतिक्रिया 4