+
+
Shares

मेरिटोक्रेसी प्रचलन उल्लंघन हुनु प्राज्ञिक क्षेत्रमाथिको आक्रमण : नैनसिंह महर

विश्वविद्यालयको भीसी छान्‍न मेरिटोक्रेसी हटाए मुलुकको प्राज्ञिक क्षेत्रमा दूरगामी नकारात्मक असर पर्ने उनले चेतावनी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ५ गते १८:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नैनसिंह महरले त्रिभुवन विश्वविद्यालयको भिसी सिफारिस प्रक्रियामा गम्भीर असन्तुष्टि व्यक्त गरे।
  • उनले खुल्ला प्रतिस्पर्धा हटाइएपछि विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक मर्यादा संकटमा पर्ने चेतावनी दिए।
  • महरले सिफारिस समितिको प्रक्रिया र संरचनामा पारदर्शिता नभएको आरोप लगाउँदै राजनीतिकरण र प्राज्ञिक व्यक्तित्वको मनोबल गिराउने खतरालाई औंल्याए।

५ असार, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रियामा गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।

कांग्रेस शिक्षा वभागले आज काठमाडौंमा आयोजना गरेको शिक्षा नीति बहस अन्तर्गत ‘उच्च शिक्षा विमर्श’ कार्यक्रममा बोल्दै महरले त्रिभुवन विश्श्वविद्यालयको भिसी सिफारिस गर्दा खुल्ला प्रतिस्पर्धा नै हटाइए शैक्षिक भविष्यमाथि संकट निम्त्याउने चेतावनी दिए ।

‘हामीले दशकौं देखि विश्वविद्यालयका पदाधिकारीको नियुक्ति मेरिटोक्रेसीको आधारमा हुनु पर्ने माग गर्दै आएका थियौं। अघिल्लो पटकदेखि यसको थोरै भए पनि कार्यान्वयन हुदै आएको थियो,’ उनले भने, ‘ तर अब सुनियो की यसपटक त्रिभुवन विश्श्वविद्यालयको भिसी सिफारिस गर्दा खुल्ला प्रतिस्पर्धा नै हटाइएको छ। यसले त विश्वविद्यालयको स्वायत्तता, प्राज्ञिक मर्यादा र समग्र शैक्षिक भविष्यमाथि संकट निम्त्याउँछ।’

विश्वविद्यालयको भीसी छान्‍न मेरिटोक्रेसी हटाए मुलुकको प्राज्ञिक क्षेत्रमा दूरगामी नकारात्मक असर पर्ने उनले चेतावनी दिए । उनले भने, ‘प्रतिभा, प्रयास र क्षमताको निष्पक्ष मूल्याङ्कन र त्यसका आधारमा प्रदान गरिने अवसर नै मेरिटोक्रेसीको मूल मर्म हो। तर, यस्तो आधारभूत सिद्धान्तलाई तिलाञ्जली दिई अपारदर्शी र स्वार्थ प्रेरित ढंगले निर्णय लिइनुले समग्र प्राज्ञिक क्षेत्रलाई नै निराश तुल्याएको छ।’

उनले लाखौं विद्यार्थीको भविष्य र राष्ट्रको बौद्धिक दिशा निर्धारण गर्ने संस्थाको नेतृत्व चयनमा राजनीतिक भागबण्डा र कृपावादको थलो बनाउने कुरा गलत रहेको बताए ।

उनले थपे, ‘विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रतामाथि अतिक्रमण मात्र गर्दैन, योग्य र सक्षम व्यक्तिहरूलाई पाखा लगाउँदै संस्थालाई राजनीतिक भागबण्डा र कृपावादको थलो बनाउने कुरा गलत छ।’

यसले विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्किने, अनुसन्धान र नवीनता कमजोर हुने तथा अन्तर्राष्ट्रिय स्तरमा विश्वविद्यालयको प्रतिष्ठामा समेत गम्भीर आँच आउने निश्चित उनको भनाइ छ । ‘विश्वविद्यालयको ऐन मै खुल्ला प्रतिस्पर्धा र मेरिटोक्रेसीको वैधानिक व्यवस्था गर्नु पर्छ।’ उनले भने ।

महरले प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीद्वारा गठित सिफारिस समितिको संरचना र कार्यविधिमाथि पनि प्रश्न उठाए।

शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति रघुजी पन्तको संयोजकत्वमा गठित तीन सदस्यीय समितिमा राष्ट्रिय योजना आयोगकी शिक्षा हेर्ने सदस्य गीता अधिकारी पौडेल र शिक्षा मन्त्रालयका सचिव दीपक काफ्ले सदस्य थिए।

‘समितिले कुन मापदण्ड, प्रक्रिया र आधारमा सम्भावित उम्मेदवारहरूको मूल्याङ्कन गर्‍यो र कसरी नाम सिफारिस गर्‍यो भन्नेबारे आम चासो र जिज्ञासा हुँदाहुँदै पनि त्यसलाई सार्वजनिक नगरिनुले त झन ,सिफारिस प्रक्रियाको निष्पक्षतामाथि नै गम्भीर शंका उब्जिएको छ।’ उनले भने।

उनले यस्तो प्रवृत्तिले विश्वविद्यालयमा राजनीतिकरणलाई थप संस्थागत गर्ने र प्राज्ञिक व्यक्तित्वहरूको मनोबल गिराउने काम गर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?