+
+
Shares

मनसुन थेग्न कति तयार छ नौबिसे–नागढुंगा सडक ?

नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) का सूचना अधिकारी माधव पौडेलका अनुसार नागढुंगादेखि नौबिसेसम्मको १२ किलोमिटर दुरीमा पहिलो चरणको कालोपत्र गर्ने काम सम्पन्न भएको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८२ असार ६ गते १०:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सडक विभागले नागढुंगा–नौबिसे सडकको मर्मत-निर्माण कार्य प्रिमनसुन अवधिमा सम्पन्न गरेको थियो । अब दोस्रो चरणको कालोपत्रको योजना छ।
  • सवारीसाधनलाई निर्वाध चल्ने बनाइएको छ । त्यसकारण अहिले सडकमा समस्या छैन । यस खण्डमा पुनः दोस्रो चरणको कालोपत्र भने गर्नुपर्ने छ ।
  • स्थानीयहरूले सडकको सुधारले यात्रा सहज भएको र अब नौबिसेदेखि मुग्लिङसम्मको कामलाई तीव्रता दिन सुझाव दिएका छन्।

६ असार, काठमाडौं । ११ र १२ असोज २०८१ का दिन आएको अविरल वर्षा र त्यसले निम्त्याएको पहिरोका कारण धादिङ झ्याप्ले खोलामा कम्तीमा तीन सवारीसाधन पुरिए । घटनामा ३५ जनाले ज्यान गुमाए ।

यो घटना संघीय राजधानी छिर्ने मुख्य राजमार्गको प्रवेशद्धार नागढुंगा नजिकै भएको थियो । भारी वर्षाको पूर्वसूचना हुँदाहुँदै विपद् प्रतिकार्यमा चुक्दा घटना भएको थियो । राजधानीको ‘लाइफलाइन’ नौबिसे–नागढुंगा सडकको यो सास्ती हरेक मनसुनमा दोहोरिने दु:खद नियति हो ।

नेपालमा अहिले मनसुन जारी छ । अनलाइनखबर टोली यो सडकको वर्तमान अवस्था बुझ्न मंगलबार बिहान नागढुंगा–नौबिसे सडक यात्रामा निस्कियो । नागढुंगा चेकपोस्ट कट्नासाथ सवारीसाधनको गति घट्यो । केही क्षणमै जाम सुरु भयो । बुझ्दै जाँदा सडकमाथि जोखिमपूर्ण पर्खाल रहेको र त्यसलाई उपकरणका माध्यमले हटाएर सडक सुरक्षित बनाउन थालिएको रहेछ । सोहीकारण ५/५ मिनेट सवारीसाधन रोकेर काम गरिरहेको सडकमा खटिएका एक प्रहरीले जानकारी दिए ।

जब सोही स्थानबाट सवारीसाधन अगाडि बढे, त्यसपछि भने सडकमा जाम देखिएन । नौबिसेसम्म नै सडक पूरै मर्मत सम्पन्न भएको देखियो । सडक विभागले यो खण्डलाई यस पटक प्रिमनसुन अवधिमै धमाधम मर्मत–निर्माण गरेको थियो ।

पछिल्लो समय १० देखि २५ जेठसम्म बिहान साढे १० देखि दिउँसो ३ बजेसम्म सडक खण्ड बन्द गरेरै काम गराइएको थियो । त्यही  समयमा पनि काम नसकिएपछि २६ जेठदेखि पुनः ५ दिन दिउँसो यो सडक बन्द गरेर काम गरिएको थियो ।

त्यसअघि राति यातायात बन्द गरी धमाधम काम गरिएको थियो । नागढुंगा–मुग्लिङ सडक योजना अन्तर्गत १२.२६ किलोमिटर नागढुंगा–नौबिसेमा पर्छ । नौबिसे–मुग्लिङ भने कुल ८२.४० किलोमिटर छ ।

योसँगै केही समय काम रोकिएको छ भने सवारीसाधनलाई निर्वाध चल्ने बनाइएको छ । त्यसकारण अहिले सडकमा समस्या छैन । यस खण्डमा पुनः दोस्रो चरणको कालोपत्र भने गर्नुपर्ने छ । त्यो काम भने सकेसम्म कम सवारी चाप हुने समय र मौसम हेरेर गरिने उनले जानकारी दिए । दोस्रो चरणको कालोपत्र सकिएपछि भने सडक स्तरीय र टिकाउ हुने उनको भनाइ छ ।

उता, गत वर्ष बढी पहिरो गएका र जोखिमयुक्त भीरहरूमा यस पटक संरक्षणको काम गरिएको छ । यस्तो काम सिस्नोखोलास्थित सुरुङमार्गको प्रवेशद्वार अगाडिको भित्तामा अहिले पनि जारी छ । यसले यी भेगमा गत वर्ष जस्तै जोखिम न्यूनीकरण हुने र थप सतर्कता अपनाइने सूचना अधिकारी पौडेलले बताए । जसले गर्दा मनसुन अवधिमा बढी जोखिम बेहोर्न नपर्ने अपेक्षा गरिएको उनको भनाइ छ ।

‘यो नेपालको अति व्यस्त सडक हो,’ उनी भन्छन्, ‘यहाँ जतिसक्दो कम सवारी रोकेर छिटो काम गर्नुपर्ने हुन्छ, त्यसकारण बढी प्राथमिकता यहाँ नै हुन्छ ।’

नौबिसेदेखि मुग्लिङ खण्डमा भने सबै स्थानमा नभएर विभिन्न स्थानमा काम जारी रहेको उनले बताए । ‘सबै बाटो एकै पटक भत्काउँदा समस्या भएको अनुभव छ,’ उनले भने, ‘त्यसकारण अहिले खण्ड–खण्डमा भत्काएर तत्काल काम सकिहाल्ने गरी व्यवस्थापन गरिएको छ ।’

जनताको अनुभव : अहिले आनन्द छ

अनलाइनखबर टोलीको नागढुंगा–नौबिसे सडक याक्रा त्रममा भेटिएका स्थानीयले सडक कालोपत्र सकिएपछि धेरै सजिलोसँग गाडी गुडिरहेको बताए ।

‘एक वर्ष अगाडि र आजको दिनमा हेर्ने हो भने त धेरै नै सुधार भएको छ,’ सडक किनारमा स्थानीय उत्पादन बेचिरहेका एक स्थानीयले भने, ‘अहिले त नौबिसेबाट आधा घण्टामै काठमाडौं पुगिन्छ ।’

सडक विस्तारपछि स्थानीय जनतालाई समेत सास्ती हटेको र सडकमा जाम नदेखिएको उनको अनुभव छ ।

नौबिसे नजिकै सडक किनारमा स्थानीय उत्पादन बिक्री गर्न बसेकी सविना अछामीले अहिले धुलो र धुवाँबाट सास्ती पाएको अनुभव बाँडिन् । ‘निर्माणका बेला अलि गाह्रो भएको थियो,’ उनले भनिन्, ‘अहिले त धेरै सजिलो भएको छ ।’

नौबिसे सडकमा बढी समस्या हुँदा धार्के–सीतापाइला सडकमा ट्र्याक खोल्न भूमिका खेलेका स्थानीय नवराज लुइँटेलले अहिले दुवैतर्फका सडकको अवस्था राम्रो भएको र यसले यात्रा सहज बनाएको अनुभव सुनाए ।

अब नौबिसेदेखि मुग्लिङ सडक खण्डलाई समेत तीव्रता दिएर सम्पन्न गर्नुपर्ने उनको सुझाव छ । ‘केही अगाडिसम्म काठमाडौंबाट खानीखोला–नौबिसेसम्म आइपुग्दा तीन घण्टा लाग्थ्यो’, उनले भने, ‘सिंगल लेनमा बढी जोखिम पनि थियो, अहिले दुई लाइन पूरा गरेपछि धेरै सुधार भएको छ ।’

नौबिसेमा होटल सञ्चालन गरेर बसिरहेकी शान्ति तामाङले बाटो बिग्रेका बेला धुवाँ र धुलोले ग्राहक पाउनै मुस्किल हुने र अहिले यसमा छुटकारा पाएको अनुभव सुनाइन् ।

नागढुंगा–नौबिसे–मुग्लिङ सडक योजनाले अहिले ६–७ मिटर चौडाइको डेडिकेटेड २ लेनमा विस्तार गर्ने लक्ष्य राखेको छ । बजार क्षेत्रमा भने ४ देखि ६ लेनसम्म सडक चौडा बनाइने छ । यो सडकमा छुट्टाछुट्टै प्याकेजमा ठेक्का लगाएर काम गरिएको छ । गल्छी लगायत स्थानमा भने सडक कालोपत्र गर्ने काम जारी रहँदा अहिले पनि लामो ट्राफिक जाम हुने समस्या विद्यमान छ ।

 तस्वीर/भिडियो : शंकर गिरी/कमल प्रसाईं

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?