
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘महाभोज’ले सहकारी संस्थाको संकट र राजनीतिक स्वार्थको प्रयोगलाई कथामा प्रस्तुत गरेको छ।
- निर्देशक निश्चल बस्नेत, अभिनेता दयाहाङ राई र अन्य कलाकारहरूले फिल्मको कथावस्तु र प्रस्तुतीकरणको प्रशंसा गरे।
- फिल्मले वर्तमान राजनीतिक प्रवृत्तिलाई कटाक्ष गर्दै नागरिक पीडितको कथा देखाएको छ।
काठमाडौं । फिल्म ‘महाभोज’ले धमाधम विशेष शो आयोजना गरिरहेको छ । शुक्रबारदेखि प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको यो फिल्मलाई विहिबार बेलुका लबिम मलस्थित क्यूएफएक्सको हलमा विशेष शो गरियो ।
वरिष्ठ निर्देशक नीर शाह, अभिनेता दयाहाङ राई, अभिनेत्रीहरू दीया मास्के, स्वस्तिमा खड्का, निर्देशक निश्चल बस्नेतसहित संचारकर्मीले फिल्म हेरे ।
फिल्म हेरेपछि संचारकर्मीसँग कुरा गर्दै उनीहरूले फिल्मले अहिलेको समयमा सहकारी संस्थाले भोगिरहेको संकटको कथा पेश गरेको बताए । सर्वसाधारणले वचत गरेको सहकारीको रकमलाई नेताले राजनीति उद्देश्य पुरा गर्न खर्च गर्दा यसले वचतकर्ता मारमा परेको कथा यसमा छ ।
लडाकु समायोजनपछि सहकारीमार्फत आर्थिक क्रान्ति गर्ने भन्दै समाजसेवामा सक्रिय माओवादी पूर्वलडाकुको सकसको कथा पनि यसमा देखाइएको छ । अनलाइनखबरसँग कुरा गर्दै वरिष्ठ अभिनेता तथा निर्देशक शाहले ‘महाभोज’ले नेपाली समाजको सरल तर प्रभावकारी ढंगले प्रस्तुत गरेको बताए ।
‘म सधैं फिल्म हेर्दा कथा, प्रविधि, अभिनय लगायत सबै पक्षको विश्लेषण गर्छु । ‘महाभोज’ले ती सबै पक्षलाई सन्तुलित रूपमा प्रस्तुत गरेको छ । निर्देशकको काम पनि उल्लेखनीय छ,’ शाहले भने ।
अभिनेता राईले ‘महाभोज’मा आफूले निर्वाह गरेको भूमिकालाई हेर्दा डर लाग्ने अनुभव भएपनि फिल्मले त्यो डर जितेको महसुस भएको बताए । ‘फिल्मले अन्यायमा चुप नबस्न र आवाज उठाउनुपर्ने सन्देश दिएको छ,’ उनले थपे, ‘दर्शक फिल्म हेरेर निराश हुने छैनन् ।’
अभिनेत्रीद्धय स्वस्तिमा र दीयासहित निर्देशक निश्चलले पनि फिल्मको प्रशंसा गरे । उनले फिल्मको कथावस्तु र प्रस्तुतीकरणको तारिफ गरे । दिनेश राउत निर्देशित ‘महाभोज’ अहिले देशभरका हलमा चलिरहेको छ ।
प्रसाद, प्रकाश, पूजार सार्कीजस्ता फिल्ममार्फत राजनीतिक र सामाजिक अभिव्यक्ति दिँदै आएका निर्देशक राउतले यो फिल्मबाट सशष्त्र द्वन्द्वपछिको एउटा गहकिलो घटनालाई कथावाचनको माध्यम बनाएका छन् ।
तीनखम्बे अर्थतन्त्रको एउटा महत्वपूर्ण पाटो मानिने सहकारी संस्थालाई कसरी राजनीतिक स्वार्थमा प्रयोग गर्दा नागरिक पीडित बनेका छन् भन्ने कथामा बनेको फिल्मले वर्तमान राजनीतिक प्रवृत्तिलाई कटाक्ष गरेको छ ।
केन्द्रदेखि स्थानीय राजनीतिसम्म यो भ्रष्टाचारबाट कति पीडित छ भन्ने चित्रण यसमा छ । आइएम सरी, क्लासिक, नोभेम्बर रेन, पर्वजस्ता भिन्न जनराका फिल्म निर्देशनबाट करिअर थालेका राउत पछिल्लो समय गम्भीर सामाजिक र राजनीतिक अर्थ बोक्ने फिल्म निर्देशनमा सक्रिय छन् ।
प्रतिक्रिया 4