
News Summary
Generated by OK AI. Editorially reviewed.- अनिशा कोजु र सोरा श्रेष्ठले बीटीएस सुनेर मन पराएका थिए, जसले उनीहरूलाई आर्मी बनायो।
- बीटीएस, दक्षिण कोरियाली संगीत समूह, २०१३ मा डेब्यू गरी विश्वभरि प्रसिद्ध भएको छ।
- नेपालमा पनि अनौपचारिक रूपमा बीटीएस फ्यान क्लबहरू सक्रिय छन् र सामाजिक कार्यमा संलग्न छन्।
पहिलो पटक बीटीएस सुन्दा भक्तपुरकी अनिशा कोजु जम्मा १५ वर्षकी थिइन् । यो २०७३ सालको कुरा हो ।
सुरुमा उनलाई घर नजिकका दिदीहरूले बीटीएस सुनाएका थिए । भाषा नबुझे पनि उनलाई गीतहरूको धुन र संगीतले छोयो । त्यसपछि गीतको अर्थ बुझ्न अङ्ग्रेजी सबटाइटल हेरिन् ।
अर्थ र भाव बुझेपछि उनलाई ती गीतहरू यति मन पर्यो कि उनी बीटीएस आर्मी नै भइन् ।
उमेरमा ३० हिँडिरहेकी काठमाडौंकी सोरा श्रेष्ठको कथा अलि फरक छ । उनले बीटीएस सुनेकै ९ वर्ष भइसकेको छ । उनी आफूले बीटीएस सुन्नुको कारण सान्तवना र ढाडस रहेको बताउँछिन् ।
बीटीएस सुन्न सुरु गर्दा ताका उनी मानसिक समस्यासँग जुँधिरहेकी थिइन् । त्यस अवस्थाबाट निस्कन उनलाई सहारा चाहिएको थियो । त्यस्तैमा उनले बीटीएसका गीतहरू युट्युबमा हेर्न थालिन् ।
उनलाई गीतभन्दा पनि भिडियो मन पर्यो । त्यसपछि कसैले नबुझे पनि बीटीएसले बुझिरहेको छ, सुनिरहेको छ भन्ने उनलाई लाग्न थाल्यो । सो कुराले उनी विस्तारै सामान्य अवस्था पनि फर्कन सकिन् ।
यसरी आफ्नो गाह्रो समयबाट निस्किन सहयोग गरेका कारण उनी अन्तत: बीटीएस आर्मी बनिन् ।
इटहरीकी सविना तामाङ उर्फ सबीले झन् सन् २०१५ देखि नै बीटीएस सुन्न थालेकी थिइन् । त्यसको केही समयपछि प्लस टूमा उनको परीक्षा बिग्रियो । फेरि पढ्न उनलाई मन लागिरहेको थिएन ।
तर जसै उनले ध्यान दिएर बीटीएसलाई सुन्न थालिन्, उनलाई हौसला मिल्यो । उनले राम्रै अंकमा प्लस टू पनि उत्तीर्ण गरिन् । त्यसपछि उनले पनि आफूलाई बीटीएस आर्मी घोषणा गरिन् ।
उनीहरू जस्तै हरेक बीटीएस आर्मीको आ-आफ्नै कथा रहेको छ ।
के हो बीटीएस ?
बीटीएस, बाङ्तान सोन्योन्दान (अर्थात् बुलेटप्रुफ ब्याय स्काउट) नामक दक्षिण कोरियाली सांगितिक समूहको छोटो रुप हो । उनीहरू आफ्नो संगीत, कला र सन्देशमार्फत विश्वभर चर्चित छन् । लाखौँ मनहरूलाई एकताको साङ्लोमा बाँध्न सफल छन् ।
सन् २०१३ मा बिग हिट इन्टरटेनमेन्ट (हाल हाइब कर्पोरेसन) अन्तर्गत डेब्यू गरेको यो समूहमा आरएम, जिन, सुगा, जे-होप, जिमिन, भी र जङकुक गरी सात जना सदस्य छन्।
उनीहरू धेरैका लागि केवल गायक र नर्तक मात्र होइनन् । बरु प्रेरणा, अभिभावक र आफ्नै मान्छे हुन् । संगीत, व्यक्तित्व, सामाजिक योगदान जस्ता कारणले उनीहरू प्रशंसकहरूमाँझ गहिरोसँग बस्न सफल छन् । कुनै पनि सेलिब्रेटीहरूको ‘फ्यान’ हुनु स्वभाविक हो । तर बीटीएसको अलि विशेष छ ।
आर्मी अर्थात् बीटीएस फ्यान
संसारमा ठूला सेलिब्रेटीहरूको फ्यानलाई विभिन्न नामले चिनिने गरिन्छ । उदाहरणका लागि रिहानाका फ्यानलाई नाभी, क्याटी पेरीका फ्यानलाई क्याटीक्याक्ट्स, टेलर स्विफ्टका फ्यानलाई स्विफ्टिज् नामले चिनिन्छ । र, संगीतको दुनियाँमा यो सामान्य कुरा हो ।
ठिक त्यसरी नै बीटीएसको आधिकारिक फ्यान क्लबलाई ‘आर्मी’ भनिने गरिन्छ । यो ‘एडोरेबल रिप्रिजेन्टेसन एम सी फर यूथ’को संक्षिप्त रूप हो ।
तर त्यसको नामांकन कथा पनि रोचक छ । बीटीएसको आधिकारिक फ्यान क्लब आर्मीको स्थापना सन् २०१३ जुलाई ९ मा भएको थियो । यो नाम बीटीएसको डेब्यूको समयमा उनीहरूको कम्पनी बिग हिट इन्टरटेनमेन्ट (हाल हाइब) ले राखेको हो ।
आर्मी शब्दले बीटीएसको फ्यानहरूमा एकता, समर्पण, संगठन जस्ता भावहरू प्रदान गर्ने गर्छ । जसलाई एउटा सैन्य टोलीको रूपमा पनि लिन सकिन्छ । फ्यानका लागि पनि यो एउटा पहिचान र समुदाय हो।
यो नाम विश्वभर फैलिनुमा सामाजिक सञ्जालको ठूलो भूमिका छ । त्यसैगरी बीटीएसको भावनात्मक गीतहरू ‘लभ माइसेल्फ’, ‘डाइनामाइट’ आदि पनि कारण हुन् । किनकि यिनै गीतहरू ट्विटर (हाल एक्स), युट्युब, इन्स्टाग्राम जस्ता सञ्जालमा प्रशंसकहरूले धेरै शेयर गरे । र त्यसमा ह्यास ट्यागको विशेष प्रयोग गरे ।
यसैगरी रेडिट, क्वेरा, फेसबुक ग्रुप आदिमा पनि आर्मी र उनीहरूका गतिविधिको चर्चा नियमित हुने गर्थ्यो । जसले गर्दा अन्य फ्यानहरूलाई थाहा हुनगयो ।
त्यसमा पनि बीटीएसको संगीतले आत्म-प्रेम, स्वतन्त्रता, सामाजिक मुद्दाहरूमा बोल्न प्रेरित गर्छ । यस विषयमा बीटीएसका आरएम (किम नामजुन) ले एक अन्तर्वार्तामा फ्यान क्लबको नाम बेल्स (घण्टी) हुन लागेको बताएका थिए । तर पछि आर्मी राखियो । त्यसको कारण भने एकता र समर्पणको भाव नै रहेको उनले बताएका थिए ।
नेपालमा बीटीएस आर्मी
त्यस कुराको प्रमाण नेपालका केही फ्यान क्लब हेरेपनि पुग्छ । अनौपचारिक रूपमा भए पनि नेपालमा बीटीएसका विभिन्न फ्यान क्लबहरू छन् । ती कुनै समग्र बीटीएसका फ्यान हुन् त कोही विशेष कलाकारका ।
बाङ्तान्स पर्पल ओसन, नेपालमा भएका बीटीएस फ्यान क्लबमध्येको एक हो । कोभिड महामारीदेखि अनौपचारिक रूपमा सङ्गठित भएर यस समूहका सदस्यहरूले विभिन्न परोपकारी काम गरिरहेको छ ।
समूहका सक्रिय सदस्यमध्येकी एक सोराका अनुसार बीटीएसका कुनै सदस्यको जन्मदिन, वार्षिकोत्सवको छेकोमा रकम संकलन गरेर आवश्यकता रहेको बाल गृह जस्ता संस्थाहरूलाई सहयोग गर्ने काम हुँदै आएको छ ।
केटीएच नेपाल अर्को फ्यान क्लब हो । यसले विभिन्न बिलबोर्डमा बीटीएस सदस्यको फोटो राखेर सन्देश प्रदान गर्ने गर्छ ।
बाङ्तान्स नेपाल, सेकजिन नेपाल, म्युज फाइन्ड्स आदि केही फ्यान क्लबका नामहरू हुन् । उनीहरूले ससाना क्याफे इभेन्ट गर्नेदेखि सामाजिक काम गर्दै आएका छन् ।
गत १३ जुनमा मात्र बीटीएसले आफ्नो १२औं वार्षिकोत्सव मनायो । तर फ्यानहरूले अझै मनाउन छाडेका छैनन् । अब आउँदो शनिबार ७ असारमा म्युज नेपालले नेपालमा पनि बीटीएसको वार्षिकोत्सवकै अवसरमा सानो कार्यक्रम गर्दै छ ।
तर आर्मीहरू छरिएर रहनु र कुनै पनि औपचारिक फ्यान क्लब नहुनुले भने उनीहरूको गतिविधि सतहमा आएको देखिँदैन । यद्यपि आफ्नो समूहकाहरूसँग भने नियमित रुपमा बोलचाल र भेटघाट हुने सोरा सुनाउँछिन् ।
त्यस्तै आफू जस्तै बीटीएसमा रुचि राख्नेहरू सामाजिक सञ्जालको माध्यममार्फत नै जोडिएर समूह निर्माण गर्ने अवस्थामा पुगेको उनी बताउँछिन् । उनका अनुसार बाङ्तान्स पर्पल ओसनमा अहिलेसम्म करिब ४०० सदस्य जोडिइसकेका छन् । तर तीमध्ये अधिकांश अहिले निष्क्रिय छन् । यस समूहका मुख्य संस्थापक सुस्मा थिङ आफैं अहिले जापानमा छिन् । तर अप्रत्यक्ष तरिकाले सहयोग भने गरिरहेका छिन् ।
विश्वव्यापी रुपमा बीटीएस आर्मी
बीटीएस आर्मी कुनै औपचारिक संस्था अथवा समूह होइन । यो अत्यन्त विकेन्द्रिकृत र अनौपचारिक समुदाय हो । खासमा भन्दा विश्वभरि छरिएर रहेका बीटीएसका प्रशंसकहरू स-साना अनलाइन तथा अफलाइन समूहहरू बनाएर फैलिएको सञ्जाल हो ।
तर ठूला फ्यानबेसहरूले भने सामाजिक सञ्जालमा कुनै पनि जानकारी फैलाउन, कार्यक्रम आयोजना गर्न अथवा समुदायलाई अझ फैलाउन काम गर्ने गर्छन् ।
यसरी बीटीएस आर्मीलाई प्रत्यक्ष रूपमा कुनै एक व्यक्ति वा संस्थाले व्यवस्थापन गर्दैन । तर बीटीएसको आधिकारिक फ्यान क्लबको सशुल्क सदस्यता दिएर विशेष सुविधा प्रदान गर्ने काम भने बीटीएसको व्यवस्थापन कम्पनी हाइबले गर्ने गरेको छ । तर, यस कम्पनीले फ्यानडमका सबै गतिविधिहरू प्रत्यक्ष नियन्त्रण भने गर्दैन ।
प्रतिक्रिया 4