
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री केपी शर्मा ओलीले युवा संघका नेता/कार्यकर्ताहरूलाई घमण्डी नहुन र अन्याय सहन नहुने बताए।
- उहाँले युवामा दम्भ र घमण्ड बढ्दै गएको भन्दै क्षमतावान, विनयी र शालिन हुन आग्रह गर्नुभयो।
- प्रधानमन्त्री ओलीले युवाहरुले सही विचार र नेतृत्वको पक्षपोषण गर्नुपर्ने र संघको जिम्मेवारी महत्त्वपूर्ण रहेको बताए।
९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा संघका नेता/कार्यकर्ताहरू घमण्डी नभएको बताउँदै कसैले पिट्न आए ओम शान्ति भन्दै बस्न पनि नहुने बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
युवामा घमण्ड पसेपछि बिग्रने बाटोमा पुग्ने प्रसंग अघि सार्दै प्रधानमन्त्री ओलीले युवा संघले अन्याय नसहने र नगर्ने बताए ।
‘कुनै पनि व्यक्तिभित्र घमण्ड पसेपछि ऊ बिग्रने बाटोमा जान्छ । हाम्रा युवाहरु दम्भी, घमण्डी हुनेछैनन् । क्षमतावान विनयी र शालिन हुनेछन्,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘गुण्डा हुने छैनन्, बलवान हुनेछन् । कसैले गालामा पिट्न आएमा ओम शान्ति…भनेर चाँही बस्दैनन् । त्यसकारण युवा संघले अन्याय सहँदैन र अन्याय गर्दैन भन्ने बुझाउन सक्नुपर्छ ।’
अहिले केहीले अर्थ बिनाका युवा भने उचाल्ने प्रवृत्ति बढ्दै आएको बताउँदै ओलीले कुन तहसम्म युवाले के गर्छ भन्ने कुरा महत्त्वपूर्ण भएको जिकिर गरे ।
‘अहिले अर्थविनाको युवा युवा भनेर उचाल्ने प्रवृत्ति छ । जहाँ पनि युवा मात्रै भनेर हुँदैन । कुन तहसम्म कसरी युवाले के गर्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । दक्षता, सीप र अनुभव आदि कुराहरू चाहिन्छ,’ ओलीको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले युवाहरुले व्यक्तिको नभई सही विचार र नेतृत्वको पक्षपोषणमा लाग्नुपर्नेमा जोड दिए ।
युवा संघको काँधमा असाधारण जिम्मेवारी रहेको उनले बताए ।
‘आगामी स्थानीय तहको निर्वाचनसम्म यस कमिटीको नेतृत्व रहन्छ । संघको नेतृत्वले आफ्नो कार्यकालका लागि सिङ्गो योजना बनाओस् । नयाँ इतिहास कायम राखोस् । असाधारण सक्रियताका साथ काम गरोस्,’ प्रधानमन्त्री ओलीले भने ।
प्रतिक्रिया 4