
News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले २०८२/८३ का लागि १ अर्ब ६१ करोड ११ लाख ११ हजारको बजेट सार्वजनिक गरेको छ।
- बजेटमा चालु तर्फ ८१ करोड १५ लाख ३० हजार र पूँजीगत तर्फ ७९ करोड ९५ लाख ८१ हजार रुपैयाँ रहेको छ।
- ९ असारको नगरसभा बैठक नेकपा एमालेका सदस्यहरूले बहिष्कार गरेपछि स्थगित भएको थियो।
११ असार, काभ्रेपलाञ्चोक । प्रमुख-उपप्रमुखबीचको विवाद मिलेसँगै काभ्रेको पनौती नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ६१ करोड ११ लाख ११ हजारको बजेट सार्वजनिक गरेको छ ।
उपप्रमुख गीता बञ्जाराले बुधबार आगामी आवका लागि बजेट सार्वजनिक गरेकी हुन् । बजेटमा चालुतर्फ ८१ करोड १५ लाख ३० हजार र पूँजीगततर्फ ७९ करोड ९५ लाख ८१ हजार रुपैयाँ छ ।
प्रस्तुत बजेटमा ४४ करोड २५ हजार आन्तरिक आयबाट र २० करोड ४१ लाख ९० हजार रुपैयाँ राजस्व बाँडफाँटबाट मिलाइने उल्लेख छ ।
यसअघि ९ असारको नगरसभा बैठक नेकपा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरूले बहिष्कार गरेका थिए । जसका कारण नगरप्रमुख रामशरण भण्डारीले बुधबारका लागि बैठक आह्वान गर्दै नगरसभा स्थगित गरेका थिए ।
कार्यपालिकामा भएको सहमति विपरीत ४ करोड ८५ लाखभन्दा बढी बजेट थप भएर आएको भन्दै उपप्रमुख बञ्जारासहित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले नगरसभा बहिष्कार गरेका थिए ।
नगरपालिकामा बचेको ३६ करोड स्रोतमध्येबाट १२ वटा वडालाई १ करोडका दरले १२ करोड वितरण गर्ने सहमति भए पनि सहमतिअनुसार बजेट नआउने देखेपछि नगरसभा बहिष्कार गरिएको उपप्रमुख बञ्जाराले बताएकी थिइन् ।
बञ्जाराका अनुसार प्रमुख र उपप्रमुखले ९ करोड ५० लाखका दरले बाँड्ने सहमति भएको थियो । तर पछि नगरका गौरवका योजना ‘प्रमुखको कोटाको बजेटबाट हिसाब हुनुपर्ने’ भन्दै उपप्रमुखले विवाद सिर्जना गरेकी थिइन् ।
विपद्, बसपार्क, पनौती बजार खानेपानी, मुख्य बजारमा बत्ती जडानमा राखिएको रकम लगायतका नगरका गौरवका केही योजनामा ५ करोड विनियोजन भएकोमा असन्तुष्ट बनेकी उपप्रमुखसहित एमाले समर्थित जनप्रतिनिधि नगरसभामा उपस्थित नभएर सभा स्थगित भएको थियो ।
विवादपछि मंगलबार प्रमुख र उपप्रमुखबीचमा प्रमुख र उपप्रमुखले बाँड्ने ९ करोड ५० लाखलाई बढाएर १० करोड ५० लाख रुपैयाँ पुर्याइएपछि विवाद समाधान भएको थियो । प्रमुख-उपप्रमुखबीच सहमति भएसँगै बुधबार बजेट सार्वजनिक भएको हो ।
बुधबारको नगरसभा बैठकमा नगरप्रमुख रामशरण भण्डारीले नीति तथा कार्यक्रम बुधबार प्रस्तुत गरेका छन् ।
नगर प्रमुख भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, कला र संस्कृति हाम्रो चिनारी: हरित पर्यटकीय गौरवमय समृद्ध पनौती भन्ने मूल नारालाई प्रमुखता दिइएको छ ।
यस्तै नगरपालिकाबाट प्रदान गरिने सेवालाई सरल, सहज, प्रभावकारी र गुणस्तरीय बनाउन कार्यविवरणलाई थप स्पष्ट पारिने नीति तथा कार्यक्रममा समावेश छ ।
स्थानीय स्रोत साधनको प्रयोग हुने उत्पादनमूलक र गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने योजनाहरूको छनोटमा जोड दिइने नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया 4