+
+
Shares

एमालेको बहिष्कारपछि पनौतीको नगरसभा स्थगित

नगर प्रमुख भण्डारीले उपप्रमुखसहितका जनप्रतिनिधिहरू अनुपस्थित भएका कारण बैठक बस्न नसकिएको प्रतिक्रिया दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ९ गते १६:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको नगरसभा बहिष्कारका कारण स्थगित भयो।
  • एमालेबाट निर्वाचित सदस्यहरूले बैठक बहिष्कार गरेपछि गणपूरक संख्या नपुगेको थियो।
  • उपप्रमुखले बजेट थप भएको कारण बैठकमा सहभागी नभएको बताइन्।

९ असार, काभ्रे । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको नगरसभा स्थगित भएको छ ।

नेकपा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरूले बहिष्कार गरेका कारण सोमबारको नगरसभा स्थगित भएको हो ।

एमालेबाट निर्वाचित उपप्रमुख गीता बञ्जारा, ७ जना वडाध्यक्ष र नगरसभा सदस्यहरूले बैठक बहिष्कार गरेपछि नगरसभाका लागि गणपूरक संख्या अपुग भएको हो ।

नगरसभा सञ्चालनका लागि गणपूरक संख्या नपुगेपछि नगर प्रमुख रामशरण भण्डारीले बुधबार ११ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।

नगर प्रमुख भण्डारीले उपप्रमुख सहितका जनप्रतिनिधिहरू अनुपस्थित भएका कारण बैठक बस्न नसकिएको प्रतिक्रिया दिए ।

कार्यपालिकामार्फत सबै विधि र प्रक्रिया पूरा गरिए पनि अन्तिम समयमा बैठक स्थगित गर्नु परेको उनको भनाइ छ ।

उपप्रमुख गीता बञ्जाराले कार्यपालिकामा भएको सहमति विपरीत ४ करोड ८५ लाखभन्दा बढी बजेट थप भएर आएकोले बैठकमा सहभागी नभएको बताइन् ।

नगरपालिकामा बचेको ३६ करोड स्रोतध्येबाट १२ वटा वडालाई १ करोडका दरले १२ करोड वितरण गर्ने सहमति भएको समेत उपप्रमुख बञ्जाराले बताइन् ।

नगरपालिका स्रोतका अनुसार बाँकी रहेको २४ करोडमध्ये विपद, पुनर्वास, खानेपानी, बसपार्क लगायतका नगरका गौरवका केही योजनामा ५ करोड विनियोजन गरी बाँकी १९ करोड (९ करोड ५० लाख-९ करोड ५० लाख) प्रमुख र उपप्रमुखले विनियोजन गर्ने सहमति भएको थियो ।

तर, पछि नगर गौरवका योजना ‘प्रमुखको कोटाको बजेटबाट हिसाब हुनुपर्ने’ भन्दै उपप्रमुखले विवाद सिर्जना गरेको स्रोतको दाबी छ ।

६२ सदस्यीय नगर सभामा नगरप्रमुख, ४ वडाध्यक्षसहित २० जना नेपाली कांग्रेसबाट, १ वडाध्यक्ष र एक वडा सदस्य एकीकृत समाजवादीबाट छन् । उपप्रमुखसहित ४० जना एमालेबाट निर्वाचित छन् ।

बहुमत भएको भन्दै एमालेले पनौतीको नगर सभामा प्रत्येक वर्ष लफडा गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?