+
+
Shares

आईएमई ग्रुपको डेढ अर्ब लगानीमा रौतहटमा खुल्यो पहिलो फाइबर सिमेन्ट बोर्ड उद्योग

फाइबर सिमेन्ट बोर्डको प्रयोग भवनको बाहिरी भाग, पार्टिसन, फल्स सिलिङ, मोडुलर किचेन, इको प्यानल लगायत विभिन्न संरचनामा गरिन्छ । इँटा र प्लास्टरको विकल्पमा पूर्ण संरचना निर्माण समेत गर्न सकिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते १८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आइएमई ग्रुपले डेढ अर्ब लगानीमा नेपालमा पहिलो अन्तर्राष्ट्रिय स्तरको फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालन सुरु गरेको छ।
  • उद्योगले दैनिक ७५ हजार वर्गफिट उत्पादन क्षमता र वातावरणमैत्री टिकाउ बोर्ड उत्पादन गर्दछ, जसले निर्माण क्षेत्रमा योगदान पुर्‍याउनेछ।
  • मन्त्री दामोदर भण्डारीले उद्योगले आयात प्रतिस्थापन र दिगो विकासमा मद्दत गर्ने बताए।

११ असार, काठमाडौं । आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने ‘एभरेस्ट फाइबर सिमेन्ट बोर्ड उद्योग’ सञ्चालनमा आएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उद्योग उद्घाटन गर्दै उक्त उद्योगबाट उत्पादित फाइबर सिमेन्ट बोर्ड तथा त्यसबाट निर्माण हुने विविध उत्पादनलाई औपचारिक रूपमा सार्वजनिक गरे ।

कार्यक्रममा मन्त्री भण्डारीले स्वदेशमै गुणस्तरीय, वातावरणमैत्री र अत्याधुनिक प्रविधिमा आधारित उद्योगको स्थापना हुनु नेपालको औद्योगिक विकासतर्फको महत्त्वपूर्ण पाइला रहेको बताए ।

मन्त्री भण्डारीले यो उद्योगले केवल आयात प्रतिस्थापन मात्र होइन, निर्माण क्षेत्रलाई दिगो विकासको बाटोमा डोहोर्‍याउने भएकाले सरकारले उत्पादनमुखी लगानीलाई सधैं प्रोत्साहन दिने उल्लेख गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी कच्चापदार्थ र स्थानीय स्रोत प्रयोग गरी निर्माण क्षेत्रमा योगदान पुर्‍याउने गरी नयाँ उद्योग स्थापना गरेको बताए ।

यसले देशभित्र रोजगारी सिर्जना गर्ने र नेपालमै उत्पादन हुने भएकाले आयात प्रतिस्थापन भई ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिनबाट जोगिँदा आत्मनिर्भर अर्थतन्त्रतर्फको मार्ग प्रशस्त गर्ने पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

स्वदेशी सिप, स्थानीय स्रोत र सम्भावना मार्फत नेपालभित्रै अन्तर्राष्ट्रिय स्तरका निर्माण सामग्री उत्पादन सम्भव भएको सन्देश यस उद्योगले दिएको पनि अध्यक्ष ढकालको भनाइ थियो ।

आइएमई ग्रुप अन्तर्गत करिब डेढ अर्ब रुपैयाँको लगानीमा स्थापना गरिएको यो उद्योग रौतहट फतुवा विजयपुर नगरपालिका–६ मा छ । यो उद्योगमा कच्चापदार्थ मिसावटदेखि बोर्ड कटिङ, प्रेसिङ र ड्रइङसम्मका सम्पूर्ण प्रक्रिया पूर्णरूपमा अटोमेटेड प्रविधिमा आधारित रहेको कम्पनीले जनाएको छ ।

उद्योगले दैनिक ७५ हजार वर्गफिट सिमेन्ट फाइबर बोर्ड उत्पादन गर्न सक्ने क्षमता राख्ने समेत कम्पनीको भनाइ छ । यहाँ उत्पादित बोर्ड ४ फिट लम्बाइ, ८ फिट चौडाइ र ४ एमएमदेखि ३० एमएम मोटाइमा उपलब्ध छन् । यी बोर्ड लचकदार, अग्नि–प्रतिरोधी, घाम–पानीले असर नपर्ने, वातावरणमैत्री तथा टिकाउ रहेको कम्पनीको दाबी छ ।

फाइबर सिमेन्ट बोर्डको प्रयोग भवनको बाहिरी भाग, पार्टिसन, फल्स सिलिङ, मोडुलर किचेन, इको प्यानल लगायत विभिन्न संरचनामा गरिन्छ । इँटा र प्लास्टरको विकल्पमा पूर्ण संरचना निर्माण समेत गर्न सकिन्छ ।

प्राकृतिक प्रकोप जस्तै, भूकम्प, बाढी वा पहिरोका बेला आपतकालीन संरचना निर्माणमा समेत यस उद्योगका उत्पादित बोर्ड छिटो, सस्तो र दिगो विकल्प बन्ने कम्पनीको विश्वास छ । प्लास्टर वा रङको झन्झट नहुने भएकाले समय र लागत बच्ने भएको छ ।

यस उद्योगले स्थानीय रोजगार प्रवर्द्धनमा जोड दिएको छ । हाल करिब २ सय जनाले प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाएको कम्पनीले जनाएको छ । जसमा ९८ प्रतिशतभन्दा बढी स्थानीय जनशक्ति र ४० प्रतिशतभन्दा बढी महिला कामदार राखिएको छ ।

उनीहरू प्रोसेससङदेखि प्याकिङसम्मका सबै काममा संलग्न छन् । एभरेस्ट फाइबर सिमेन्ट बोर्ड प्रालिले वातावरणमैत्री, गुणस्तरीय र प्रतिस्पर्धी उत्पादन मार्फत निर्माण क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने लक्ष्य लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?