News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले एसियन युथ गेम्समा सहभागिताका लागि तयारी गरिरहेको भए पनि अझै निश्चितता छैन।
- सरकार र नेपाल ओलम्पिक कमिटीबीच विवादका कारण सहभागिता सुनिश्चित हुन सकेको छैन।
- आगामी अक्टोबरमा बहराइनमा आयोजना हुने खेलमा नेपालको सहभागिता र बजेटको विषयमा अनिश्चितता छ।
११ असार, काठमाडौं । आगामी अक्टोबर २२ देखि ३१ सम्म बहराइनमा तेस्रो एसियन युथ गेम्स आयोजना हुँदैछ । युवा खेलाडीहरूको प्रतिभा देखाउने र भविष्यका स्टार जन्माउने लक्ष्यका साथ एसियन युथ गेम्स हुँदै आएको छ ।
यस पटक सरकार र नेपाल ओलम्पिक कमिटीबीच देखिएको विवादका कारण एसियन युथ गेम्समा नेपालको सहभागि हुने/नहुने अन्योल देखिँदै आएको थियो ।
आर्थिक वर्ष २०८२/८३ को बजेटमा एसियन युथ गेम्सका लागि बजेट विनियोजन भएपनि सहभागिता भने अझै अन्योलमा छ । बजेटमा एसियन युथ गेम्समा ३६ लाख रकम छुट्याइएको छ ।
नेपाल ओलम्पिक कमिटीले एसियन युथ गेम्समा नेपाली खेलाडी सहभागिता गराउनका लागि मन्त्रालय देखि परिषद सम्बन्धि संघहरूमा पत्राचार गरेपनि त्यस कुनै प्रगति हुन सकेको छैन ।
मल्टी स्पोर्ट्स इभेन्टमा जम्मा ३६ लाख छुट्याइँदा यसले कति काम गर्ने पनि टुङ्गो छैन ।
तेस्रो एसियन युथ गेम्समा २१ खेल समावेश गरिनेछ । जसमा एथ्लेटिक्स, ब्याडमिन्टन, बास्केटबल (थ्री एक्स थ्री), इक्वेस्ट्रियन, इ स्पोर्ट्स, फुटसल, गल्फ, ह्यान्डबल, जुडो, जुजिस्तु, मिक्स मार्शल आर्ट्स, साइक्लिङ (रोड), स्विमिङ, टेबल टेनिस, तेक्वान्दो, ट्रायथलन, कुस्ती, भारोत्तोलन, कबड्डी, भलिबल र टेकबल समावेश गरिएको छ ।
तर नेपालबाट अहिलेसम्म कुन खेलमा कति खेलाडी सहभागिता जनाउने भन्ने नै निश्चित भएको छैन ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एसियन युथ गेम्समा नेपालको सहभागिता देखि बजेट विनियोजन भएको विषयमा समेत अनभिज्ञता प्रकट गरे । उनले ओलम्पिक कमिटीमा अहिलेको कार्यसमिति रहेसम्म यसबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा सहभागी नहुने बताए ।
यस्तै उनले युथ ओलम्पिक बजेटबारे धेरै जानकारी नभएको बताए । ‘युथ ओलम्पिकमा कति बजेट प्रस्ताव भाछ मलाई थाहा छैन । हाम्रो खेलाडी र सहभागिताको विषयमा ओलम्पिक कमिटीको यो कार्यसमिति रहेसम्म कुनै पनि खेलमा भाग लिँदैन’ मन्त्री चौधरीले भने । उनले युथ एसियन गेम्समा संघहरूले सिधै स्वीकृति लिएर गएर आपत्ति नहुने पनि बताए ।
‘सिधै संघमा जान्छ भने जान्छ । खेल संघले सिधै खेलाडी तयारी छ भने स्वीकृति लिएर जान्छ । वैधानिक ओलम्पिक कमिटी नभएसम्म यसमा केही हुँदैन’ उनको भनाइ छ ।
तेस्रो एसियन युथ एसियन गेम्समाका लागि गत अप्रिल देखि नै विभिन्न गतिविधिहरू सुरु भइसकेको छ भने यसअघि नै खेल दर्ताको समय पनि खुलिसकेको थियो ।
अप्रिल १ देखि जुन ३१ सम्म अनलाइफर्त सहभागि हुन चाहेको खेलको नाम दर्ता गरिसक्नुपर्नेछ । यस बीचमा मे १३-१४ मा टेक्निकल डेलेगेट्स मिटिङ र मे १५-१७ मा चिफ दि मिसनको सेमिनार भइसकेको छ ।
तर नेपालबाट अहिलेसम्म पनि कुनै पनि खेल दर्ता भएको छैन । यस्तै जुलाई १५ देखि अगष्ट १४ सम्म खेलाडीहरू सर्ट लिस्ट दर्ता गर्नुपर्नेछ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले एसियन युथ गेम्समा सहभागिताको विषयमा युवा तथा खेलकुद मन्त्रालय परिषद र सम्बन्धित संघहरू सबैलाई पत्र पठाएर जानकारी गराएको हो ।
‘हामीले मन्त्रालय देखि सम्बन्धित सबै ठाउँदा जानकारी गराएपनि अहिलेसम्म यस विषयमा कुनै जानकारी आछैन । हेरौं के हुन्छ अब केही दिन बाँकी छ’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘अहिलेसम्म युथ गेम्सका लागि कुनै पनि खेल दर्ता भाछैन । संघहरूको तर्फबाट केही आउँछ कि सरकारकै तर्फबाट पनि केही आउँछ कि हामी त्यो कुरा पर्खेर बसेका छौं ।’
ओलम्पिक कमिटीको पछिल्लो बैठकले सरकारसँग समन्वय गरेर एसियन युथ गेम्समा सहभागिताको लागि पहल गर्ने निर्णय गरेको श्रेष्ठले जानकारी दिए । ‘हाम्रो ओलम्पिक कमिटीको गएको मिटिङले सहभागिताको सम्बन्धमा सरकारसँग समन्वय गर्ने भनेका छौं । यो गेमको सहभागिताको विषयमा पत्रहरू पहिले देखि र परिषदमा पठाइराछौँ । कुन-कुन गेम छ कुन-कुनमा सहभागि हुने भनेर । संघहरूलाई पनि हामीले सबै जानकारी दिएका छौं’ उनले भने ।
सरकारले बजेट छुट्याएपछि युथ गेम्समा सहभागि गराउनुपर्ने मनसाय रहेको बुझ्न सकिने अध्यक्ष श्रेष्ठले बताए । ‘अब बजेट छुट्याइसकेपछि त निश्चित रुपमा पठाउनुपर्छ भन्ने देखियो सरकार र राज्यबाट पनि’ उनले भने, ‘अब पठाउने प्रक्रिया सुरु होला । हाम्रो तर्फबाट हामीले गरिरहेका छौं’ श्रेष्ठको भनाइ छ ।
तर मन्त्री चौधरीले भने यस विषयमा खासै खुलेर बोल्न चाहँदैनन् ।
एसियाली युथ गेम्समा सहभागि गराउनका लागि नेपाली खेलाडीहरू छुट्टै तयारी गरेका छैनन् । तर राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले भने अर्को वर्ष जापानमा हुने २०औं एसियन गेम्सका लागि मिसन २०२६ को अन्तर्षत विशेष प्रशिक्षणमा रहेका खेलाडीहरू, विभिन्न युथ प्रतियोगिताहरू पनि भइरहेकोले पदकको सम्भावना भएका खेलाडीलाई नै युथ एसियन गेम्समा सहभागी गराउनुपर्ने बताएका थिए ।
प्रतिक्रिया 4