
१२ जेठ, पोखरा । असार ७ गते भैरहवा कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अपिल सचिवालयबाट जारी भयो । त्यो अपिलमार्फत् रविले सहकारी ठगीमा आफूमाथि लागेका आरोपबारे प्रष्टीकरणमात्रै दिएनन् सरकारले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै त्यसविरुद्ध हस्ताक्षर अभियान चलाउनसमेत भने ।
त्यसपछि रास्वपाले हस्ताक्षर अभियानसँगै चन्दा समेत उठाइरहेको छ । हस्ताक्षर गर्ने स्थानमा चन्दा संकलनका लागि क्युआर कोड नै राखिएको छ । साथै त्यो क्यआर कोडले रास्वपाका नेता–कार्यकर्ताहरुले देशविदेशमा पठाइरहेको पनि पाइएको छ ।
रविको पक्षमा नागरिकको हस्ताक्षर लिने अभियानका निम्ति चन्दा उठाउनुको कारणबारे प्रश्न उठिरहेको छ । साथै संकलित रकम कहाँ, कसरी राखेर खर्च गर्ने भन्ने पनि स्पष्ट छैन ।
अनलाइनखबरले यही प्रश्न रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता तथा संघीय सांसद मनिष झा र हस्ताक्षर अभियानका संयोजक दीपक बोहोरालगायत नेताहरुलाई सोधेको छ ।
महामन्त्री बुर्लाकोटीले हस्ताक्षर अभियान सञ्चालन गर्नका लागि छुट्टै खाता खोलेर स्वतस्फूर्त आर्थिक सहयोग उठाउन क्युआर कोड उपलब्ध गराइएको बताए । ‘रविको मुद्दामा अहिलेसम्म पार्टी र शुभेच्छुकहरुको आर्थिक सहयोगबाट खर्च भइरहेको थियो । अहिले हस्ताक्षर संकलनका लागि छुट्टै खाता खोलेर अभियान चलाइएको हो,’ उनले भने । यसका लागि कार्यविधिको मस्यौदा छलफलमा रहेको पनि उनले बताए ।
रास्वपाका प्रवक्ता तथा संघीय सांसद मनिष झाले भने पार्टी सभापति रविको मुद्दाका लागि सबै खर्च यहीँबाट गर्ने गरी आर्थिक सहयोग जुटाउने काम भइरहेको बताए । उनका अनुसार रवि विरुद्धको मुद्दामा पार्टीको कोषबाटसमेत खर्च भइरहेको थियो । आर्थिक हिसाबले पार्टीलाई भार पर्ने भएकाले पनि त्यसको लागि छुट्टै कोष बनाएर सञ्चालन गरिने झाको भनाइ छ ।

‘सभापतिजीको मुद्दामा खर्च हुने केही रकम पार्टीको मूल खाताबाट गइरहने भएकाले पनि छुट्टै फण्ड आवश्यक थियो । अब उहाँको मुद्दामा न्यायिक लडाइँ लड्दा पार्टीका तर्फबाट हुने खर्च पनि यो फण्डबाट गरिन्छ भने हस्ताक्षर अभियानकै लागि पनि आर्थिक सहयोग पर्थ्यो,’ झाले भने, ‘पार्टीको आर्थिक अवस्था कमजोर भएकाले पनि अभियानका लागि छुट्टै कोष चाहिएको हो ।’
रास्वपाको ‘लिगल डिभेन्स फण्ड’
पार्टीको मूल खाताबाट र शुभेच्छुकबाट आर्थिक सहयोग उठाएर रविविरुद्धको मुद्दा लड्नका लागि रास्वपाले ‘लिगल डिभेन्स फण्ड’ बनाएको छ । यो कोषबाट पार्टी र नेताहरुलाई आवश्यक परेका बेला कानुनी सहयोग गरिने महामन्त्री बुर्लाकोटीले बताए । त्यसको कार्यविधि निर्माणको कामको जिम्मेवारी हस्ताक्षर अभियान संयोजक एवम् सहकोषाध्यक्ष दीपक बोहोरालाई दिइएको उनको भनाइ छ ।
बोहोराले पार्टीको उपखाताका रुपमा ग्लोबल आईएमई बैंकमा खाता खोलिएको जानकारी दिए । कोषाध्यक्ष निमा अधिकारी र सहकोषाध्यक्ष बोहोराको हस्ताक्षर चल्ने गरी खाता खोलिएको छ ।
बोहोराले बैंक खाताको अधिकारिक विवरण आइनसकेकाले अहिलेसम्म कसरी आर्थिक सहयोग जुटिरहेको छ भन्ने हेर्न नपाइएको बताए ।
सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति लामिछानेलाई थुनामा पठाउने आदेश गरेपछि रवि हाल भैरहवा कारागारमा छन् । त्यहाँबाट केन्द्रीय कारागारमा अड्डासारका लागि निवेदन दिए पनि उनको सुनुवाइ भएको छैन । त्यसलगत्तै उनको तर्फबाट सचिवालयले अपिल सार्वजनिक गरेको थियो ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीले धरौटीमा छाड्न भनेर दिएको आदेश बदर गर्दै रविलाई थुनामा पठाउने आदेश जारी गरेको थियोे ।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाड्न आदेश दिएको थियो । सुप्रिम सहकारीमा रवि, छविलाल जोशी र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको थियो ।
पार्टी सभापति नै सहकारी ठगी प्रकरणमा मुछिएर थुनामा परेपछि रास्वपा कानुनी लडाइँको झमेलामा फसेको छ ।
प्रतिक्रिया 4