
१२ असार, काठमाडौं । गत २ वैशाखमा सप्तरीको लसुरुंगा नगरपालिका-७ मा मृत भेटिएकी १८ वर्षीया पूजाकुमारी रामको हत्या भएको निष्कर्ष त्यहीबेला प्रहरीले सुनाएको थियो ।
तर, हत्याको दुई महिनासम्म पनि प्रहरीले हत्यारा सार्वजनिक गर्न सकेको छैन । प्रहरी अनुसन्धानले अहिलेसम्म कुनै नयाँ तथ्य र क्लू फेला नसकेको हो ।
घाँसपातले छोपिएको अवस्थामा शव भेटिएपछि हत्या गरेर अभियुक्तले लुकाएको निष्कर्ष त्यतिबेला प्रहरीको थियो । तर, अनुसन्धानमा भने प्रहरीले अहिलेसम्म केही सफलता हात पार्न सकेको छैन ।
शरीरमा कुनै ठूलो चोट नदेखिए पनि उनको शवको प्रकृति हेर्दा हत्या भएको प्रहरीको भनाइ थियो । त्यसपछि निरन्तर अनुसन्धानमा खटिएको दाबी प्रहरीले गरिरहेको छ । यद्यपि अनुसन्धान टुंगोमा भने पुग्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी जितेन्द्र बस्नेतका अनुसार, उक्त हत्याबारे अनुसन्धान जारी छ ।
‘हाम्रो टोलीदेखि प्रदेशसम्मको टोली खटिएको छ । तर अहिलेसम्म अभियुक्त पहिचान गर्न सकेनौ,’ डीएसपी बस्नेतले अनलाइनखबरसँग भने ।
प्रहरी अनुसन्धानको पहिलो विन्दु क्राइम सिन (घटनास्थलको दृश्य) लाई लिइन्छ । क्राइम सिन सुरक्षित रहेको, मुचुल्का उठाउँदा राम्रोसँग ध्यान दिएको तथा सोको अफिसर पनि अनुसन्धानबारे राम्रो जानकार भएको अवस्थामा घटनास्थलबाटै केही क्लू फेला पर्ने अनुसन्धान अधिकृतहरू बताउँछन् ।
घाँसपातले छोपिएको अवस्थामा शव भेटिएकी पूजाकुमारीको हत्या भने अहिलेसम्म रहस्यको गर्भमै छ । उनको हत्या कसले, किन गर्यो भन्ने केही पनि प्रहरीले छुट्टयाउन सकेको छैन ।
प्राविधिक र म्यानुअल रुपमा अनुसन्धान गरिएको प्रहरीले बताउँदै आएको छ । तर नतिजा आइनसकेकाले यो अनुसन्धान प्रगति शून्य अवस्थामै छ । आपराधिक पृष्ठभूमि भएका र घटना भएपछि गाउँ टोलबाट हराएका व्यक्ति समेतलाई केन्द्रमा राखेर अनुसन्धान गरिएको प्रहरी अधिकारीहरू बताउँछन् ।
तर, घटनास्थलमा कुनै क्लू फेला नपर्दा यसका अभियुक्त पहिचान हुन सकेको छैन । जसकारण पूजाकुमारीका हत्यारा कानुनी दायरामा आउन नसकेको हो ।
व्यक्ति पहिचान भइसकेको अवस्थामा फरार रहे पनि एक न एक दिन पक्राउ परेर कानुनी दायरामा ल्याउने बाटो खुल्छ । तर, यो घटनामा व्यक्ति पहिचानमै मुस्किल भएकाले पूजाकुमारीका हत्यारा कानुनी दायरामा आउन सक्ने सम्भावना तत्काललाई देखिँदैन ।
पूजाकुमारी यसअघि करिब साढे ३ वर्ष पहिला यौन हिंसामा परेकी किशोरी हुन् । १४ मंसिर २०७८ मा उनलाई स्थानीय जागेश्वर ठाकुरले बलात्कार प्रयास गरेका थिए । तर पूजाकुमारी चिच्याएपछि जागेश्वर फरार भए ।
त्यसपछि प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो । अदालतले ८ महिना कैद र ७ हजार जरिवानाको फैसला गरेको थियो । उनी तोकिएको सजाय भुक्तान गरेर छुटिसकेका छन् । प्रहरी स्रोतका अनुसार, सुरुमा ठाकुरलाई केन्द्रमा राखेर समेत अनुसन्धान गरिएको थियो ।
‘पहिला पनि पूजाकुमारीको केशमा जोडिएकाले उहाँ (जागेश्वर) लाई समेत नियन्त्रणमा लिएर हामीले सोधपुछ गर्यौं । केरकार गर्यौं । उनी केन्द्रीत अनुसन्धान पनि अघि बढायौं । तर अहिलेसम्मको तथ्य प्रमाणले यो घटनाको उहाँको भूमिका देखाएन,’ एक अनुसन्धान अधिकृतले भने ।
पूजाकुमारी जस्तै सिरहाको नवराजपुर–१० कि मुसहर समुदायकै २४ वर्षीया महिला आनन्दीदेवी सदा गत २ वैशाखमा माइतीघरमा पासो लगाएर झुन्डिएको अवस्थामा भेटिइन् । आनन्दीदेवी यौन दुर्व्यवहारबाट पीडित हुन् ।
गत ९ पुसमा बरियारपट्टी गाउँपालिका–१ स्थित नर्गी बस्ने आफ्नी दिदीलाई भेट्न हिंडेको बेला गाउँकै दुई युवकले उनीमाथि यौन दुर्व्यवहार गरेका थिए ।
स्थानीय २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले उनलाई घेरा हालर यौन प्रस्ताव राखेका थिए ।
तर आनन्दीले अस्वीकार गर्दा जबरजस्ती दुवै हात समातेर छेउकै आँप बगैंचामा लगेर कपडा च्यातेर जबरजस्ती करणीको प्रयास गरे । गुहार माग्दै उनी उम्कन सफल भइन् ।
बलात्कारबाट जसोतसो उम्केकी आनन्दीदेवीको ४ महिना बित्न नपाउँदै रहस्यमय ढंगले मृत्यु भयो । उनले आत्महत्या गरेको बताइयो । तर यौन दुर्व्यवहारको घटनामा जोडिएका व्यक्ति ६ महिना बित्दा पनि कानुनी दायारमा आउन सकेका छैनन् ।
यता सिरहाका एसपी एसपी अनन्तराम शर्मा भने उनीहरुको खोजी जारी रहेको दाबी गर्छन् । भागेर भारत पुगेकाले पक्राउ पर्न समस्या भएको प्रहरीको दाबी छ ।
प्रतिक्रिया 4