
News Summary
Generated by OK AI. Editorially reviewed.- सशस्त्र प्रहरी टोली र कुकुरसहितको खोजी टोलीले नुवाकोटको ककनीमा बेपत्ता महिलाको खोजी गरिरहेको छ।
- बाढीले घाइते भएका एक व्यक्तिलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
१३ असार, काठमाडौं । नुवाकोटको ककनीमा बाढीले बगाउँदा बेपत्ता भएकी महिलाको खोजीकार्यका लागि कुकुरसहितको टोली परिचालन भएको छ ।
उनको खोजीकार्यको लागि सशस्त्र प्रहरी सहायक निरीक्षक राजन सुवेदीको कमान्डमा ७ जना सुरक्षाकर्मी सहित २ वटा सर्च एन्ड रेस्क्यु तालिम प्राप्त कुकुर परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
ककनी गाउँपालिका-१ कागतीगाँउस्थित भसीबुमा शुक्रबार बिहान कोल्पु खोलामा आएको बाढी घरमा पस्दा ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी थिइन् । उनका श्रीमान अशोक बलामी भने घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।
बेपत्ता व्यक्तिको खोजीकार्य तथा उद्धारका लागि शुक्रबार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल यूएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा बेस बञ्चरेडाँडाबाट ६५ जना सुरक्षा फौज परिचालन भएको उनले बताए ।
बाढीले सोही ठाउँमा रहेको ३ वटा गोठ समेत बगाउँदा केही पशुचौपाय समेत बगेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4