
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले संसदबाट निकालिएपनि सडकमा संसद चलाउने बताए।
- उनीहरूले रवि लामिछानेलाई जेलमा राखिएको विषयमा सरकारप्रति आक्रोश व्यक्त गरे र न्यायप्रति भरोसा व्यक्त गरे।
- वाग्लेले पार्टीले रुपन्देही-३ मा उपयुक्त उम्मेदवार चयन गर्ने र हस्ताक्षर अभियान जारी राख्ने बताए।
१३ असार,बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले संसदबाट निकालेर सडकमा पठाएपनि पार्टी सडकमै संसद चलाउन तयार रहेको बताएका छन् ।
संसद अवरोधलाई लिएर आफ्नो दललाई संसदबाट निकालेर सडकमा पठाएपनि सडकमै संसद चलाउने तर जनताका मुद्दा छाडेर सम्झौता नगर्ने बताए ।
रुपन्देही क्षेत्र नं. ३ को शुद्धोधनमा पार्टी सभापति लामिछानेको पक्षमा हस्ताक्षर अभियान उद्घाटन गर्दै उनले अहिले रास्वपाका १९ जना सांसद नै सत्ता पक्षलाई भारी भएको दाबी गरे ।
गत आम चुनावमा रवि लामिछानेले ४–५ महिनाकै तयारीमा १२ लाख भोट र २१ जनालाई सांसद जिताएपछि पुराना दलहरू आत्तिएको बताएका छन् ।
रवि र रास्वपाको लोकप्रियताबाट तर्सेर सरकारले रविमाथि सहकारी प्रकरणमा राजनीतिक प्रतिशोध साँधेको उनको आरोप छ ।
उनले न्यायालयले अन्तिममा न्याय दिने विश्वास रहेपनि पार्टीलाई बलियो बनाउने अभियान छाड्न नहुने बताए ।
सभापति लामिछानेलाई जेलमा दुःख दिएर राखेको कुरा जनताले राम्रोसँग बुझिसकेको वाग्लेले जिकिर गरे ।
‘रविमाथि प्रतिशोधमाथि प्रतिशोध साँधेको छ, उस्तै उस्तै केसमा अरूलाई प्रहरीमा बोलाएर चिया खुवाएर पठाउने, १८ करोडको आरोप लागेका पूर्व प्रधानमन्त्रीलाई एक घण्टामै सफाई दिएर ३५ लाख बुझाएर जाऊ भनेर पठाइदिने तर रविलाई चाहिँ ४–५ वटा जिल्लामा हरेक जिल्लामा ३–३ वटा मुद्दा, २–२ वटा अदालत सर्वोच्च गरेर ४०–४५ वटा उल्झन् अवरोध खडा गरिएको छ’, वाग्लेले भने ।
उनले थपे, ‘यद्यपि नेपालको न्यायालयप्रति अन्तिम आशा र भरोशा हामीलाई छ,अन्ततः उहाँले सफाइ पाउनुहुन्छ भन्नेमा विश्वस्त छौं ।’
वाग्लेले करोडौं धरौटी लिएपछि बाहिर बसेर पनि मुद्दा लड्न दिनुपर्नेमा सरकार पहिल्यै त्रसित भएर रविलाई थुनामा राखेर दुःख दिएको बताए ।
‘टिनको छानामुनि भैरहवाको ४२ डिग्री गर्मीमा पिल्साएर दुःख दिएको छ, उहाँलाई एक घण्टा भेटेँ तर उहाँ उच्च मनोबलमा हुनुहुन्छ’, वाग्लेले भने, ‘सरकारले दिएको दुःख देखेर रविप्रति सहानुभूतिको लहर थामिनसक्नुछ, हामी बलियो नभई उनीहरू गल्नेवाला छैनन् ।’
रविमाथि षड्यन्त्र गर्नेहरू आफैं ३५ वर्षदेखि सरकारमा रहेर रजगज गर्ने बदनाम पात्रहरू रहेको उल्लेख गर्दै वाग्लेले यो सबै कुरा जनताले बुझिसकेको बताए । माओवादीप्रति इंगित गर्दै वाग्लेले कोही कोही दलहरू बहादुरीपूर्वक आत्मसमर्पण गरेको आरोप लगाए ।
वाग्लेले रुपन्देही-३ मा हुने उपचुनाव जित्ने गरी पार्टीले उपयुक्त उम्मेदवार चयन गर्ने बताए । पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा देशव्यापी रविको पक्षमा चलाइएको हस्ताक्षर अभियान मिसन २०८४ को एउटा पाटो भएको वाग्लेले बताए ।
प्रतिक्रिया 4