News Summary
Generated by OK AI. Editorially reviewed.- शरद चन्द्र शाह मेमोरियल फाउण्डेसनले एससीएसएमएफ स्पोर्ट्स अवार्ड २०२५ बाट राजुकाजी शाक्य र अरुणा शाहीलाई सम्मानित गरेको छ ।
- शाक्य र शाहीलाई नगद २ लाख ५० हजारसहित सम्मानपत्र प्रदान गरियो ।
- फाउण्डेसनले गत वर्ष देखि नेपाली खेलकुदमा योगदान पुर्याएका एक पुराना र एक नवाँ खेलकुदकर्मीलाई अवार्ड प्रदान गर्न थालेको हो ।
१३ असार, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान राजुकाजी शाक्य र नेपाली राष्ट्रिय महिला भलिबल टिमकी वर्तमान कप्तान अरुणा शाही एससीएसएमएफ स्पोर्ट्स अवार्ड २०२५ बाट सम्मानित भएका छन् ।
शरद चन्द्र शाह मेमोरियल फाउण्डेसन (एससीएसएमएप) ले शुक्रबार राजधानीमा अवार्ड कार्यक्रम गर्दै शाक्य र शाहीलाई नगदसहित सम्मान गरेको हो ।
फाउण्डेसनले गत वर्ष देखि नेपाली खेलकुदमा योगदान पुर्याएका एक पुराना र एक नयाँ खेलाडीलाईलाई एससीएसएमएफ स्पोर्ट्स अवार्डबाट सम्मान गर्दै आएको छ ।
शाक्य र शाहीलाई सम्मानसहित नगद २ लाख ५० हजार र प्रदान गरिएको हो । शरद चन्द्र शाह मेमोरियल फाउण्डेसनकी अध्यक्ष रेनु शाहले शाक्य र शाहीलाई अवार्ड प्रदान गरिन् ।
गत वर्ष पहिलो पटक आयोजना भएको अवार्ड कार्यक्रममा फाउण्डेसनले कीर्तिमानी म्यारधन धावक बैकुण्ठ मानन्धर र कराते स्टार एरिका गुरुङलाई सम्मान गरेको थियो ।
नेपाली फुटबलका लेजेण्ड राजुकाजी शाक्यले खेलाडी, कप्तान र प्रशिक्षकका रुपमा दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा स्वर्ण जितेका छन् ।
फुटबलमै आफ्नो जीवनलाई समर्पित गरेका शाक्यले खेलाडी र प्रशिक्षकको रुपमा नेपाली फुटबललाई लामो समय देखि योगदान दिँदै आएका छन् ।
अवार्ड प्राप्त गरेपछि शाक्यले यसबाट आफूलाई मोटिभेट भएको र अझै राष्ट्रका लागि केही गर्नुपर्ने प्रेरणा मिलेको बताए ।
यस्तै अरुणा शाहीको कप्तानीमा नेपाली महिला भलिबलले पछिल्लो समय लगातार सफलता हात पार्दै आएको छ ।
शाहीकै कप्तानीमा नेपालले एभिसी एसियन वुमन्स सेन्ट्रल जोन भलिबलमा लगातार दुई स्वर्ण जितेको थियो भने सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक रजत जितेको थियो ।
यस्तै उनकै कप्तानीमा नेपाल काभा महिला भलिबलमा दुई पटक उपविजेता बनेको छ । सन् २०१२ मा नेपाली राष्ट्रिय टिमबाट डेब्यु गरेकी अरुणा सन् २०१९ यता महिला भलिबल टिमको कप्तानको भुमिकामा छन् ।
अवार्ड प्राप्त गरेपछि कप्तान शाहीले यस खालको सम्मानले आउने खेलाडीहरुका थप प्रेरणा पुग्ने बताइन् ।
शरदचन्द्र शाह मेमोरियल फाउन्डेसन स्वर्गीय शरदचन्द्र शाहाको सम्झनामा उनका परिवारहरूद्वारा सन् २०२० नोभेम्बरमा स्थापना गरिएको हो । शरदचन्द्र शाहा नेपाली खेलकुद इतिहासमा प्रमुख परिवर्तन ल्याउने व्यक्तिका रुपमा प्रख्यात छन् । उनी एसियाली ओलम्पिक परिषद्को उपाध्यक्षको रूपमा सेवा गर्ने पहिलो नेपाली पनि हुन् ।
२०३४ देखि २०४५ सालसम्म राष्ट्रिय खेलकुद परिसद (राखेव)को सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटिको अध्यक्ष रहेका शाह नेपालको राष्ट्रिय प्रतियोगिता तथा साउथ एशियन गेम्सको योजनाकार मानिन्नछन् ।
प्रतिक्रिया 4