News Summary
Generated by OK AI. Editorially reviewed.- एएफसी महिला एसियन कप छनोट अन्तर्गत नेपालले उज्वेकिस्तानमा लाओससँग खेल्नेछ।
- नेपालको यो १००औं अन्तर्राष्ट्रिय महिला फुटबल खेल र नयाँ प्रशिक्षक प्याट्रिक डि वाइल्डको पनि डेब्यू हुनेछ।
- नेपाल र लाओस दुवैले पछिल्लो चार खेलमा जित हात पार्न सकेको छैन।
१४ असार, काठमाडौं । एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफका खेलहरु आइतबारदेखि उज्वेकिस्तानमा सुरु हुँदैछ । एसियन कप छनोट हुने लक्ष्यसहित उज्वेकिस्तान पुगेको नेपालले नयाँ प्रतिद्वन्द्वी लाओससँग खेलेर छनोट यात्रा सुरु गर्नेछ ।
नेपालका लागि यो एक खेल मात्र नभएर अन्तर्राष्ट्रिय महिला फुटबलमा ऐतिहासिक खेल समेत हुनेछ । अन्तर्राष्ट्रिय महिला फुटबल खेल्न थालेको चार दशकमा नेपाली महिला टोलीले लाओससँगको खेलबाटै एक सयौं खेल पूरा गर्दैछ । जुन नेपाली महिला फुटबलमा अर्को कोसेढूंगाको रुपमा रहनेछ ।
छनोटको पहिलो खेल, ऐतिहासिक खेलमा नेपालमा नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डले पनि डेब्यू गर्दैछन् । यस खेलमा नेपाल लाओसलाई हराएर सुखद सुरुवात गर्ने लक्ष्यमा छ । खेल उज्वेकिस्तानको तास्केन्तस्थि बुनयोदकोर स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ ।
आइतबारै घरेलु टोली उज्वेकिस्तानले श्रीलंकासँग खेल्नेछ । यस समुहमा उज्वेकिस्तान सबैभन्दा बलियो टोलीको रुपमा छ । घरेलु टोली भएकोले उसलाई फाइदा पनि छ । उज्वेकिस्तानसँगै नेपाल समूह विजेता बन्ने दाबेदार टोलीको रुपमा छन् ।
नेपाल र उज्वेकिस्तानबीचको खेल अन्तिम खेल भएकोले त्यसअघि नेपाल राम्रो सुरुवात गर्न चाहन्छ । समूहको विजेता मात्र महिला एसियन कपमा पुग्ने भएकोले हरेक खेलको नतिजा महत्वपूर्ण हुनेछ । अन्तिममा अंक बराबर भएमा गोल अन्तर पनि महत्वपूर्ण बन्न सक्छ ।
मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले शनिबार आयोजित प्रि-म्याचमा नेपाली टोली शारीरिक र मानसिक रूपमा तयार रहेको बताएका छन् । ‘फुटबलमा सबैभन्दा राम्रो पक्ष भनेको उच्च स्तरको अन्तर्राष्ट्रिय खेल खेल्नु नै हो । शारीरिक र मानसिक रूपमा तयार छौं । हामी हाम्रो तर्फबाट बेस्ट दिनेछौं’ उनले भने ।
यस्तै स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाले पनि हरेक खेल महत्वपूर्ण हुने र पहिलो खेलदेखि नै राम्रो खेल्नुपर्ने बताएकी छन् । मिडफिल्डर रेनुका नगरकोटीले पनि नयाँ प्रशिक्षकको अन्डरमा ऐतिहासिक खेल खेल्न उत्साहित रहेको बताएकी छन् ।
लाओससँग पहिलोपटक भिड्दै
महिला फुटबलमा नेपालले लाओससँग पहिलो पटक खेल्न लागेको हो । पुरुष फुटबलमा नेपाल र लाओस पहिल्लो समयमा भेट भइरहेपनि महिला फुटबलमा भने यसअघि कुनै खेल भएको थिएन । त्यसैले दुवै टिमका लागि नौलो प्रतिद्वन्दी हुनेछ ।
तर पछिल्लो समय नेपाली टोलीले महिला फुटबलमा विभिन्न अन्तर्राष्ट्रिय खेलहरु खेलिरहेको छ । करिब एक महिनाअघि नेपालले बलियो टोली थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालको तुलानामा लाओसले कम खेल खेलेको छ ।
नेपाली महिला टिमले पछिल्लो चार खेलमा जित भने हात पार्न सकेको छैन । गत फेब्रुअरीमा भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा लिगमा नेपालले म्यानमारसँग २-२ को बराबरी खेलेको थियो भने फाइनलमा म्यानमारसँगै २-० ले पराजित भएको थियो ।
यस्तै जुन २ मा थाइल्याण्डसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल २-० ले पराजित भएको थियो । त्यसअघि मे ३० मा भएको क्लोज डोर म्याचमा पनि थाइल्याण्डसँग नेपाल १-० ले पराजित भएको थियो ।
नेपाली महिला टिमले पछिल्लोपटक अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमै लिग चरणमा लेबनानलाई १-० ले हराएको थियो । त्यही च्याम्पियनसिपमा नेपालले त्यसअघि कीर्गिस्तानलाई पनि १-० कै नतिजामा पराजित गरेको थियो ।
लाओसले पनि पछिल्लो चार खेलमा जित हात पार्न सकेको छैन । अक्टोबरमा भएको मैत्रीपूर्ण खेलमा मलेसिया र साउदी अरेबियासँग पराजित भएको लाओस नोभेम्बरमा भएको एएफएफ वुमन्स कपको समूह चरणमा सिंगापुरसँग १-० ले पराजित भएको थियो भने टिमोर लेस्टेसँग गोलरहित बराबरीमा रोकिएको थियो । सन् २०२४ मा लाओसले यही चार खेल मात्र खेलेको थियो ।
लाओसको तुलनामा नेपाली महिला टोलीले धेरै अन्तर्राष्ट्रिय खेल खेल्नुका साथै एक्सपोजर पनि पाएको छ । फिफा वरियतामा नेपाल लाओसभन्दा ७ स्थान माथि छ ।
पछिल्लो वरियतामा नेपाल १००औं स्थानमा रहँदा लाओस १०७औं स्थानमा छ ।
प्रतिक्रिया 4