+
+
Shares

कृत्रिम मानव डीएनए बनाउने विवादास्पद परियोजनालाई अनुमति

१० मिलियन पाउन्डको कृत्रिम मानव डीएनए बनाउने यो विवादास्पद अनुसन्धान परियोजनाले मानव जीनोम शून्यबाट निर्माण गर्न आवश्यक उपकरण विकास गर्ने लक्ष्य राखेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १४ गते १९:५५

१३ असार, काठमाडौं । वैज्ञानिकहरूले कच्चा रसायनबाट मानवको आनुवंशिक कोड निर्माण गर्ने प्रयास पुनः सुरु गरेका छन् । कृत्रिम मानव डीएनए बनाउने यो विवादास्पद परियोजना विगतमा निषेधित मानिन्थ्यो ।

द टाइम्समा प्रकाशित एक रिपोर्टका अनुसार वेलकम ट्रस्टबाट प्राप्त १० मिलियन पाउन्डको सहयोगमा पाँच वर्षसम्म सञ्चालित हुने यो परियोजनाले सिन्थेटिक जिनोमिक्सका लागि आवश्यक उपकरण निर्माणमा काम गर्नेछ । यसमा विद्यमान डीएनए सम्पादन गर्नुको सट्टा वैज्ञानिकहरूले शून्यबाट आनुवंशिक कोड लेख्ने प्रयास गर्छन्।

परिपक्व रातो रगतका कोष र प्लेटलेटहरूबाहेक शरीरका प्रत्येक कोषमा डीएनए हुन्छ । यिनले जीवनका निर्माण खण्ड बन्ने प्रोटिनहरू उत्पादन गर्न निर्देशन दिन्छ।

यस कोडमा हुने त्रुटि वा उत्परिवर्तन (म्युटेसन) विभिन्न रोगहरूको कारण हुन्छ।

सिन्थेटिक जिनोमिक्सका समर्थकहरूले डीएनए कसरी संकलन गर्ने भन्ने बुझाइले यसको रहस्यहरू खोल्न सघाउने, मानव जीवविज्ञानप्रतिको बुझाइ परिवर्तन गर्ने र हालसम्म उपचार नभएका रोगहरूको नयाँ उपचार विधि सिर्जना गर्न सहयोग पुर्‍याउने विश्वास राख्छन्।

तर प्रयोगशालामा मानव आनुवंशिक पदार्थ सिर्जना गर्ने अवधारणा लामो समयदेखि नैतिक विवादको विषय बन्दै आएको छ ।

क्याम्ब्रिजको मेडिकल रिसर्च काउन्सिल लेबोरेटरी अफ मोलेक्युलर बायोलोजीका प्रोफेसर जेसन चिनको नेतृत्वमा सुरु भएको नयाँ परियोजनाले क्याम्ब्रिज, अक्सफोर्ड, म्यानचेस्टर, केन्ट विश्वविद्यालयहरू तथा इम्पेरियल कलेज लन्डनका टोलीहरूको सहकार्य सुनिश्चित गर्नेछ ।

यस परियोजनाको लक्ष्य पूरै मानव जीनोम (डीएनएमा लेखिएको सम्पूर्ण आनुवंशिक कोडिङ) निर्माण गर्नु नभएर एउटा मानव क्रोमोजोम निर्माण गरेर प्रविधिगत आधार तयार गर्नु रहेको छ ।

प्रविधिगत कामसँगै केन्ट विश्वविद्यालयकी प्रोफेसर जोय झाङको नेतृत्वमा एक समूहले जीनोम संश्लेषणसँग सम्बन्धित नैतिक, कानुनी र सामाजिक पक्षहरूको परीक्षण गर्नेछ।

विश्वकै सबैभन्दा ठूलो स्वास्थ्य अनुसन्धान दातृ संस्था वेलकमले यस परियोजनाबाट हुने सम्भावित फाइदाहरू जोखिमभन्दा बढी भएको विश्वास राखेको छ।

हालसम्म वैज्ञानिकहरूले ई. कोली (एक प्रकारको ब्याक्टेरिया) जस्ता सूक्ष्म जीवहरूको कृत्रिम जीनोम सफलतापूर्वक विकास गरिसकेका छन्।

तर पछिल्ला वर्षहरूमा मेशिन लर्निङ, डेटा विज्ञान र कृत्रिम बौद्धिकताको प्रगतिको कारण यस क्षेत्र तीव्र गतिमा अगाडि बढिरहेको छ।

तर पनि, अहिलेको प्रविधिले बाली, जनावर वा मानव विकासमा भूमिका खेल्ने अझ जटिल र ठूलो आनुवंशिक अंशहरू निर्माण गर्न सकेको छैन।

वेलकमका डिस्कभरी रिसर्च निर्देशक माइकल डनले भने, ‘हाम्रो डीएनएले हामी को हौं र हाम्रो शरीर कसरी काम गर्छ भन्ने निर्धारण गर्छ । हालैका प्रविधिगत प्रगतिहरूको साथ सिनएचजी (SynHG) परियोजना वैज्ञानिक अनुसन्धानको सबैभन्दा रोमाञ्चक क्षेत्रमा अगाडि छ।’

उनले थपे, ‘मानव जीनोम संश्लेषणका लागि आवश्यक उपकरण र विधिहरू निर्माण गरेर हामी स्वास्थ्य र रोगका बारेमा अहिले कल्पना गर्न नसक्ने प्रश्नहरूको उत्तर खोज्नेछौं, जसले जीवन र कल्याणप्रतिको हाम्रो बुझाइलाई परिवर्तन गर्नेछ।’

तर, युवा वैज्ञानिक डा. कमलराज ढकाल यसले भविष्यमा धेरै नैतिक समस्या ल्याउने बताउँछन् ।

‘रोगहरूलाई रोक्न यसको उपयोगिता हुने भनिए पनि यो प्रविधि सफल भएमा यो विधिले उत्पन्न गर्ने मानिसहरूको बाबुआमा को भन्ने समस्या आउनेछ,’ ढकाल भन्छन् ।

डा. ढकालका अनुसार यस्ता मानिसहरू निरोगी र निपूर्ण हुनेछन् । ‘यसले कृत्रिम क्रोमोजोम तयार गरी मानिस बन्ने छन् । यसरी बनेका मानिस निरोगी र निपूर्ण हुने हुँदा यिनीहरूको छुटै जात अर्थात् जेनेटिक अप्पर क्लास हुनेछ र प्राकृतिक तबरबाट जन्मेकाहरूलाई हेप्ने छन्,’ उनले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?