+

आशिष र वर्षाले जिते बागमती अटोजिमखानाको उपाधि

२०८२ असार  १५ गते ९:५६ २०८२ असार १५ गते ९:५६
आशिष र वर्षाले जिते बागमती अटोजिमखानाको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आशिष भारती (रोनी)र वर्षा बस्नेतले बागमती अटोजिमखाना च्याम्पियनसिपको उपाधि जिते ।
  • प्रतियोगिता काभ्रेको बनेपास्थित चण्डेस्वरी ड्राइभिङ स्कुलमा आयोजना भएको थियो । त्यसअघि टिडिएस मोटर र्‍याली आयोजना भएको थियो ।
  • विजेताहरु सेप्टेम्बरमा कोलोम्बोमा हुने एसिया प्यासिफिक मोटर स्पोर्ट च्याम्पियनसिप २०२५ मा छनोट भएका छन् ।

१५ असार, काठमाडौं । आशिष भारती (रोनी) र वर्षा बस्नेतले बागमती अटोजिमखाना प्रतियोगिताको उपाधि जितेका छन् ।

बागमती अटोमोबाइल्स एसोसिएसनको संयोजनमा मोटोभर्स स्पोर्ट्स क्लब तथा जियोन ओभरल्याण्डको आयोजना र व्यवस्थापनमा शनिवार कार्भेको बनेपास्थित चण्डेस्वरी ड्राइभिङ स्कुलमा भएको एकदिने प्रतियोगितामा आशिष पुरुषतर्फ र वर्षा महिलातर्फ च्याम्पियन बने ।

पुरुषतर्फ १७ र महिलातर्फ ६ गरी कूल २३ ड्राइभरले अटोजिमखानामा प्रतिस्पर्धा गरेका थिए । जसमा पुरुषतर्फ क्वालिफाइङ राउण्डपछि शीर्ष ८ ड्राइभर फाइनल चरणमा पुगेका थिए ।

महिलातर्फ भने ६ जना ड्राइभर नै प्रारम्भिक चरणपछि फाइनल चरणमा पुगेका थिए ।

क्वालिफाइङ चरणमा पनि शीर्ष स्थानमा रहेका आशिषले अन्तिम चरणमा पनि उत्कृष्ट लय कायम राख्दै अन्य ड्राइभर भन्दा उत्कृष्ट समय निकाल्दै उपाधि जिते । पुरुषतर्फ राजकुमार कार्की दोस्रो तथा विप्लक श्रेष्ठले तेस्रो भए ।

यस्तै महिलातर्फ भने अन्तिम चरणमा ६ मध्ये दुई जनाले मात्र प्रतिस्पर्धा पूरा गर्न सकेन । जसमा वर्षासँगै प्रारम्भिक चरणमा शीर्ष स्थानमा रहेकी विपाशा तामाङ थिइन् । तर अन्तिम चरणमा वर्षाले उत्कृष्ट समय निकाल्दै बाजी मारिन् । विपाशा दोस्रो भइन् ।

अटोजिमखानमा शीर्ष स्थानमा रहनेहरुले नगद पुरस्कार समेत प्राप्त गरे । पुरुषतर्फ विजेता आशिषले नगद १ लाख र ट्रफी तथा महिलातर्फ विजेता वर्षाले नगद ५० हजार प्राप्त गरिन् । पुरुषतर्फ दोस्रो भएका राजकुमारले पनि ५० हजार प्राप्त गरे ।

विजेताहरुले यस वर्ष  श्रीलंकाको कोलोम्बोसहित ताइवान तथा भारतमा हुने एसिया अटोजिमखाना प्रतियोगिताहरुमा खेल्ने अवसर पाउनेछन् ।

विजेताले प्राप्त गरेको रकम एसिया प्यासिफिक मोटर स्पोर्ट च्याम्पियनसिप लगायत अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको प्याकेजको लागि  प्रयोग गरिने यसअघि नै नासा नेपालले जनाइसकेको छ ।

गत वर्ष थाइल्याण्डको बैंककमा भएको एसियन रोड रेसिङ प्रतियोगितामा सहभागि नितिका गजुरेललाई कोशी प्रदेश खेलकुद विकास बोर्डको तर्फबाट प्राप्त नगद ५० हजारको चेक हस्तानतरण गरियो ।

अटोजिमखनामा प्रतिस्पर्धा हुनुअघि टिडिएस (टाइम-डिस्ट्यान्स-स्पिड) मोटर र्‍याली सम्पन्न भएको थियो । र्‍याली ललितपुरस्थित रोयल टुलिप, ग्वार्कोबाट सुरु भई लुभू, लाकुरी भञ्ज्याङ, कुशादेवी, पनौती हुँदै बनेपाको चण्डेश्वरी ड्राइभिङ स्कुलमा पुगेर सम्पन्न भएको थियो ।

अटोजिखाना कम्पीटीसन र टिडिएस र्‍यालीमा गरी ३२ गाडीसहित कुल ७७ जना खेलाडी (ड्राईभर्स) को सहभागिता थियो । जहाँ १८ जना दक्ष मार्शलहरूको टोली परिचालन गरिएको थियो ।

महिला सशक्तिकरण, ड्राइभ टुरिजम र एडभेञ्चर मोटर स्पोर्ट्सको संयोजन रहेको यस प्रतियोगितालाई बागमती प्रदेश खेलकुद विकास परिषदले आर्थिक सहयोग गरेको थियो भने नेपाल अटोमोबाइल्स एसोसिएसनको प्राविधिक स्वीकृति र सहयोग गरेको थियो ।

राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य रामचन्द्र श्रेष्ठ, एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, नेपाल अटोमोबाइल एसोसिएसनका सचिब महेश अधिकारी र सन्तोष न्यौपाने, कोषाध्यक्ष मनि नेपाल, सह-कोषाध्यक्ष कमला क्षेत्री, बागमति अटोमोबाइल्स एसोसिएसनका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र सचिव यज्ञप्रसाद पौडेल तथा मोटोभर्स स्पोर्ट्स क्लबका अध्यक्ष आशिष रौनियार लगायतले पुरस्कृत गरे ।

 

बागमती अटोजिमखाना

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय