+
+
Shares
विशेष आलेख :

मौन च्यासलमा विद्याले ल्याउँदै गरेको हुरी

सरकार र पार्टीभित्र ओलीको अलोकप्रियता बढ्दो छ भन्ने बुझाइका बीच विद्याले पार्टी नेतृत्वमा आउने संकेतले लामो समययता च्यासल मुख्यालयको मौनतामा हुरी ल्याइदिएको छ ।

झलक सुवेदी झलक सुवेदी
२०८२ असार १६ गते २१:५०

मनसुन शुरू भइसकेको छ तर कतै–कतै पानी नपरेको ठाउँमा पनि पहिरो गइरहेको छ । जान्नेहरू भन्छन्– जलवायु परिवर्तनले गर्दा कल्पना नगरिएको ठाउँ र समयमा बाढी–पहिरो आउने गरेको छ ।

हालै सरकारले आयोजना गरेको सगरमाथा संवाद कार्यक्रम भइरहेकै समयमा हुम्लामा गएको हिउँपहिरो र केही दिन अगाडि डोल्पामा आएको पहिरो त्यस्तै केही उदाहरण मात्र हुन् ।

भक्तपुर, काठमाडौं अनि ललितपुर र काठमाडौंको केही सीमा छुट्याउने मनोहरा खोला पनि कहिलेकाहीं नसोचेको गति र भोल्युममा बढ्छ र च्यासलको किनारमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानको भव्य भवनमा प्रवेश गर्छ । त्यहीं छ सत्ता सञ्चालन गरिरहेका प्रधानमन्त्री ओली अध्यक्ष रहेको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी एमालेको मुख्यालय ।

तीन वर्ष पहिलेको बाढीले त्यहाँको पुस्तकालय डुबाएको थियो । थाहा छैन, डुबेको पुस्तकालयसँगै एमालेको ज्ञान उत्पादन र पुनरुत्पादनको चक्रमा के–कति नोक्सान पार्‍यो ! त्यो पुस्तकालय लामो समयको पार्टी जीवनको स्मृति पनि थियो । जुन स्मृति अब नेताहरूले लेख्ने संस्मरणहरू र त्यस्तै पुस्तकालयमा सीमित हुँदै गए जस्तो देखिन्छ ।

थपमा नेताहरूको स्मृति छोटो हुन्छ जसरी हरेक नेता आफू अगाडिको भाग बाहेक केही नदेख्ने गरी अल्पदृष्टिका रोगी हुँदै गएका छन् । गत वर्ष पनि बाढीले च्यासलको यो भव्य प्राङ्गणमा पाँगो थुपारेको र केही दिन कार्यालय नै बन्द गर्नुपर्ने गरी अस्तव्यस्त भएको थियो ।

यसपालि वर्षा शुरू भएको छ र मनोहरामा के–कस्तो शक्तिको बाढी आउने हो भन्न गाह्रो छ । तर केही दिनदेखि च्यासल मुख्यालयको भवनका झ्याल–ढोकाबाट ढड्याङ…ढुडुङ गर्दै कतिपय फाइल र दस्तावेज भित्रका वाक्यहरू उडाउने र कुर्सीमा विराजमान नेताहरूको आँखामा धूलो फाल्ने गरी हुरी प्रवेश गरिरहेको छ । त्यो यति शक्तिशाली छ कि हालै महासचिव शंकर पोखरेलले सचिवालयको बैठकमै तारजाली लगाएर त्यस्तो हुरी छेक्नुपर्ने प्रस्ताव गरेका समाचार आएका छन् ।

त्यो हुरी हो ‘कमरेड’ (सम्माननीय) पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको एमाले राजनीतिमा हुन लागेको प्रवेश । शनिवार कमरेड मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसर पारेर उनैको नाममा स्थापित फाउण्डेशनले आयोजना गरेको कार्यक्रम मार्फत विद्या भण्डारीले आफू एमालेको राजनीतिमा प्रवेश गरेको उद्घोष गरिन् ।

अब यो विषय सार्वजनिक बहसको केन्द्रमा प्रवेश गरेको छ । एमाले वृत्तमा मात्र होइन पत्रपत्रिका र सामाजिक सञ्जाल मार्फत आमवृत्तबाट प्रतिक्रियाहरू आइरहेका छन् । यसलाई अनेक अर्थमा बुझ्न र बुझाउन खोजिएकोे छ ।

विषय प्रवेश गर्नु अगाडि एउटा कुरा स्पष्ट पारौं कि देशको राष्ट्रपति भइसकेकी श्रीमती विद्यादेवी भण्डारी अब अध्यक्ष कमरेडका रूपमा एमालेको राजनीतिमा आउनु ठिक कि बेठिक भन्ने प्रश्नमा यहाँ म प्रवेश गर्न चाहन्नँ । अर्को कुनै बेला यस विषयमा लेख्न पनि सकिएला । सम्माननीय सभामुख भइसकेका रामचन्द्र पौडेल माननीय मन्त्री हुन गएको उदाहरण नेपालमै छ । विश्व राजनीतिक मञ्चमा पुटिन र मेदवेदेव यसका रमाइला उदाहरण हुन् । हाम्रो लोकतन्त्रको नेतृत्व कस्तो धरातलमा उभिएको छ भन्ने विषय कोट्याइरहनु परेन ।

*** ***

१४ असारमा मदन भण्डारी फाउण्डेशनले सधैं झैं गर्न लागेको कार्यक्रम अगाडि सामाजिक सञ्जाल र पत्रपत्रिकामा एउटा पोस्टर छ्यापछ्याप्ती भएको थियो ।

त्यसमा लेखिएको थियो: मदनको विचार, विद्याको नेतृत्व । पृष्ठभूमिमा १९९१ मा न्यूजविकले मदन भण्डारीसँग लिएको अन्तरवार्ताको छायाँ छविमाथि राखिएको छ र मदनले विद्यालाई अघि बढ्न प्रेरित गरेको जस्तो देखाइएको छ ।

यो पोस्टर जसले तयार पारेको भए पनि स्पष्ट राजनीतिक सन्देश सहितको थियो । यद्यपि असार १४ गते सभागृहमा भएको कार्यक्रममा यो पोस्टर देखिएन ।

सभागृहमा उपस्थित भएका र मैले कुरा गरेका धेरै एमाले नेता कार्यकर्ताको अनुहारको लाक्षणिकता र हलभित्र बजेका तालीको लय हेर्दा उक्त पोस्टरको भाव अभिव्यक्त हुन्थ्यो । त्यसको एउटै सन्देश थियो: अब विद्या भण्डारी मदनको उत्तराधिकारीका रूपमा एमालेको नेतृत्वमा आउँदैछिन्, आउनुपर्छ । त्यसले आजको एमालेको जीवनमा जे–जे चुनौती छन् त्यसको उत्तर दिनेछ ।

कार्यक्रममा विद्यालाई फेरि राजनीतिमा नआए हुन्थ्यो भन्ने पक्षका नेता–कार्यकर्ता पनि आएका थिए तर धेरैपछि एमालेको कुनै सभामा त्यति उत्साहका साथ भएको तीन पुस्ताका नेता–कार्यकर्ताकोे सहभागिताले एमालेमा कमरेड अध्यक्षको विकल्प खोजिंदैछ र त्यसको सम्भावित विकल्प विद्या भण्डारी नै हुन् भन्ने सन्देश प्रवाहित गरिरहेको जस्तो देखिन्थ्यो । मदन भण्डारी फाउण्डेशनको निम्तोमा कार्यक्रममा सहभागी हुन गएको म जस्ताका लागि भने त्यहाँ ब्यानर र साज–सज्जामा बाहेक फाउण्डेशन कतै देखिंदैनथ्यो केवल एमाले मात्र देखिन्थ्यो । अध्यक्ष कमरेड र सम्भावित अध्यक्ष कमरेडहरूको उपस्थिति, भावभंगी र अभिव्यक्तिमा स्पष्टसँग एमालेको आन्तरिक जीवनमा प्रवेश गरिरहेको पछिल्लो हुरीकै प्रभाव देखिन्थ्यो ।

स्पष्ट छ, त्यो कार्यक्रममा हुन्हुनाइरहेको हुरीको प्रभाव कार्यक्रमपछि स्पेनतिर उडेका अध्यक्ष कमरेडलाई पछ्याउँदै म्याड्रिडसम्म पुग्नेछ । नजिकैको च्यासलमा नपुग्ने कुरै भएन । त्यसलाई स्थायी समितिका सदस्य र कमरेड ओलीको किचन क्याबिनेटका सदस्य भनेर एमाले वृत्तमा परिचय बनाएका कमरेड भानुभक्त ढकालले कान्तिपुरसँगको अन्तरवार्तामा स्पष्टसँग व्यक्त गरेका छन् ।

विद्या चुनौतीविहीन रूपमा एमालेमा आउने सम्भावनै छैन । उनको मुख्य चुनौती भनेको एमाले पंक्तिलाई कसैप्रति अन्याय हुँदैन भन्ने विश्वास दिलाउनु हो

कार्यक्रममा अध्यक्ष ओलीले बोलेर हिंडेपछि वरिष्ठ उपाध्यक्ष कमरेड ईश्वर पोखरेल बोेलेका थिए । उनको सम्पूर्ण अभिव्यक्तिको सार थियो: अध्यक्ष ओली जबजका विचार अनुसार पार्टीको लोकतन्त्रीकरण गर्छु भनेर शक्तिमा पुगेका थिए तर आफू शक्तिमा पुगेपछि पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई धज्जी उडाउँदै गए । निषेधको राजनीति गरे । त्यसैले पार्टीलाई थप बलियो बनाउन र जबजका सिद्धान्त अनुसार पार्टीलाई लोकतन्त्रीकरण गर्न ओलीबाट सम्भव छैन । विद्याले अबको एमालेको नेतृत्व गर्नुपर्छ ।

त्यसको तरंग पोखराको सभागृहमा एउटा सानो कार्यक्रमलाई सम्बोधन गरिरहेका महासचिव कमरेड शंकर पोखरेलसम्म पुग्यो र उनले उतैबाट जवाफ दिए: विद्याले एमालेलाई कमजोर बनाउने गरी पार्टीमा स्पेस खोज्ने अपेक्षा गरिएको छैन (यस्तो धृष्टता नगरुन्, उनले अध्यक्ष दाबी गर्नु भनेको पार्टी कमजोर बनाउनु हो) । यताको हुरीले उता वैरागी वन समेत सुसाइरहेको नजिकैको सभागृहमा सुनिएको हुँदो हो ।

पार्टी अध्यक्ष ओली धेरै वर्षपछि गम्भीर सुनिए । कुनै उखान टुक्का र चुट्किला भनेनन् । उत्ताउला कुरा गरेनन् । अनुहारमा गम्भीरता घोलेर नेकपाको इतिहासमा नीति र नेतृत्वका सम्बन्धमा भएका प्रयोग र अनुभवका सार खिचे र एउटै सन्देश प्रवाहित गर्न खोजे ।

उनको सार थियो : नीति राम्रो भएर मात्र हुँदैन । सक्षम र योग्य नेतृत्व पनि चाहिन्छ । अहिले एमालेमा त्यस्तो सक्षम र योग्य नेतृत्वले काम गरिरहेकै छ । बाहिरबाट कोही आएर म योग्य छु, म चलाउँछु, म सक्षम छु भनेर दाबी गरिरहनु आवश्यक छैन ।

अप्रत्यक्ष रूपमा (विटविन दि लाइन्स) चैं यस्तो भनेको भनेर अर्थ्याउन मिल्थ्यो: विद्या कमरेड तिमी अहिले एमालेको अध्यक्ष हुन योग्य पनि छैनौ, सक्षम पनि छैनौ । तिमी अध्यक्ष हुँदा यो पार्टी बिग्रिन्छ । तिमी आउने हतार नगर । जस–जसले विद्यालाई अध्यक्ष बनाउन खोजेका छौ तिमीहरू एउटा अयोग्य पात्रलाई अगाडि लगाएर पार्टी भत्काउन खोज्दैछौ । यस्तो गर्न दिइने छैन ।

उनी स्पेन उडिसकेपछि भानुभक्त ढकालले स्पष्ट भनेका छन् : आउने कार्यकालको अध्यक्ष पनि ओली नै हो । विद्यालाई अध्यक्ष हुनुपर्छ भन्नेहरू पार्टी बिगार्न लागेका तत्वहरू हुन् ।

यता विद्याको भनाइको सार स्पष्ट थियो: वर्तमान नेतृत्वले जबजका कार्यभार र राष्ट्रका अगाडि उत्पन्न समृद्धि र विकासका चुनौती सामना गर्ने छाँट ल्याएन, मदनका विचार अनुसार देशको नेतृत्व गर्न जस्तो नेतृत्व आवश्यक छ त्यो पूरा गर्ने उद्देश्यले म राजनीतिमा आउन लागेको हो । म त्यो आवश्यकता पूरा गर्न योग्य र अनुभवी छु, अब मलाई परीक्षण गर । मलाई साथ देऊ !

पार्टी विधान अनुसार एउटा महाधिवेशन र अर्को महाधिवेशनका बीच सामान्यतया पाँच वर्षको अन्तराल हुन्छ । तर आफू प्रधानमन्त्रीमा रहँदै पार्टीको विधान अधिवेशन र महाधिवेशन गरेर तेस्रो कार्यकालका लागि निर्वाचित हुने गरी तयारी गरिरहेका केपी ओली यही भदौमा विधान अधिवेशन र मंसीरमा महाधिवेशन गर्ने तयारीमा छन् । यसको अर्थ असारदेखि मंसीरसम्म जम्मा पाँच महिनाको समय हुन्छ । र हिजोको कार्यक्रमले स्पष्ट सन्देश दिएको छ कि यो पाँच महिना (आफू कमजोर हुने अवस्थामा ओलीले महाधिवेशन पछि सार्न सक्छन्, मंसीरमै नगर्ने मात्र होइन अर्को मंसीरमा पनि नगर्न सक्छन्, यो वेग्लै कुरा हो) एमालेको आन्तरिक पार्टी जीवन ठूला घर्षण र कम्पनहरूबाट गुज्रनेछ ।

सम्भावित परिदृश्य

फाइल तस्वीर

नेकपा एमालेमा कमसेकम २०४६ यता सहज र विधिवत् रूपमा महाधिवेशनहरू आयोजना गर्दै र एउटा निर्धारित विधिका आधारमा नेतृत्व हस्तान्तरण हुँदै आएको छ । २०४९ यता हरेक पाँच वर्षमा (संविधानसभाको निर्वाचनका समयमा एक वर्ष ढिलो गरेर तथा नेकपा बन्ने–भत्कने क्रममा दुई वर्ष ढिलो गरेर यस्तो महाधिवेशन भएका थिए) महाधिवेशन आयोजना गरिएका छन् । पहिले महासचिवको नेतृत्वमा सामूहिक निर्णय पद्धतिको अवलम्बन गर्ने प्रचलन थियो । २०६५ देखि यता बहुपदीय पद्धति र अपेक्षाकृत शक्तिशाली अध्यक्षको अभ्यास गरिएको छ । २०५४ बाट प्रतिस्पर्धा र निर्वाचनका माध्यमबाटै नेतृत्व चयन भएको छ ।

यी वर्षमा (मनमोहनको सम्मानित अध्यक्ष पदलाई छाडेर) मदन भण्डारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी ओलीमा नेतृत्व सर्दै आएको थियो । माधवकुमार नेपालले दुई पटक महाधिवेशनबाट निर्वाचित महासचिव र एकपटक कार्यवाहकका रूपमा समेत गरेर १५ वर्ष पार्टीको नेतृत्व गरे । त्यसपछिको पाँच वर्ष झलनाथले र २०७१ यता लगातार केपीले नेतृत्व गर्दै आएका छन् । अध्यक्ष निर्वाचित हुनुभन्दा पहिले उनी झलनाथसँगको प्रतिस्पर्धामा पराजित भएका थिए ।
कुनै पनि महाधिवेशन विवादरहित भएका छैनन् । नेतृत्वका लागि प्रतिस्पर्धा नभएका पनि होइनन् । दशौं महाधिवेशन भने ओलीका लागि नै आयोजना गरिएको जस्तो थियो । प्रतिनिधि चयनदेखि नै एउटा नियोजित प्रक्रिया अवलम्बन गर्दै ओलीलाई निर्विरोध बनाउन चलखेल भएको थियो । महाधिवेशनको उद्घाटनदेखि समापनसम्म ओलीलाई प्रोजेक्सन गर्ने मिसन चलाइएको थियो । भीम रावलको झिनो चुनौती बाहेक त्यो सबै एकप्रकारको झेली खेल जस्तो मात्र थियो ।

यसपालि पनि एमालेको आन्तरिक जीवन त्यस्तै प्रतिस्पर्धाको चरणमा प्रवेश गरेको छ । माधव–झलनाथ समूहको बहिर्गमनपछि व्यक्तित्व र भूमिकाले गर्दा अरूभन्दा उँचो देखिने गरेका केपी ओलीलाई पार्र्टी पदाधिकारीको पंक्तिबाट चुनौती आउने सम्भावना थिएन । अब विद्या भण्डारीको प्रवेशसँगै ओली चुनौतीरहित रहेनन् ।

पार्टीभित्र उनले अन्यायमा पारेका, ओली आफैं र महासचिवको प्रयासमा हुर्काइएको वडास्तरसम्मको गुटबन्दीको कारणले पनि पार्टी दुई धु्रुवमा बाँडिंदै जानु निश्चित छ । र यस्तो अवस्थाको सिर्जना विद्याको प्रवेशका कारणले मुखरित भएको देखिए पनि यसको अन्तर्यमा ओली आफंैले पार्टीमा आफ्नो र अर्को पक्षमा कार्यकर्तालाई विभाजित गर्दै लगेको र निषेधको राजनीति गर्न थालेकोले उत्पन्न भएको भन्ने एमाले पंक्तिमा बुझाइ रहेको छ ।

पार्टी अध्यक्ष ओली सामान्य महत्वाकांक्षाका मान्छे होइनन् । उनी आफूले छाड्नुपर्दा कुर्सी भाँचिदिने हठ भएका व्यक्ति हुन् । यसपालि पनि उनी एक वर्ष अगाडि महाधिवेशन सारेर आफू प्रधानमन्त्री हुँदैको अवस्थामा पार्टी सत्ता कब्जा गर्ने दाउमा छन्

त्यसमाथि पछिल्लो समय ओलीको लोकप्रियताको पारो स्वाट्टै तल झरेको छ । यस्तो गिरावट पहिले पार्टी बाहिरबाट शुरू भएको हो र अहिले पार्टीभित्र पनि चैतको डढेलो झैं फैलिएको असन्तुष्टिका कारणले आएको हो भनिन्छ । कमसेकम एमाले वृत्तका ओली गुटका पनि र अर्को कित्ताका पनि नेता–कार्यकर्तासँगको कुराकानीबाट मैले बुझेको त्यही नै हो ।

यसले गर्दा आउने महाधिवेशन जे–सुकै मुद्दा उठाइए पनि या ओली र उनको विपक्षी खेमाले जे–जस्तो तर्कले आफूलाई सही देखाउन कसरत गरे पनि त्यो मूलत: ओलीको पक्ष र विपक्षका बीचको अन्तरसंघर्षका रूपमा प्रकट हुने निश्चित छ । अहिले नै कसैको जीत र हारको भविष्यवाणी गर्नु या जोखाना हेर्नु हतारको बात हुन्छ ।

ओलीको उकालो–ओरालो

ओली नेपाली राजनीतिका चतुर र धीर खेलाडी हुन् । आजको नेपाली राजनीतिमा धेरै स्टेक भएका र आफ्नो पक्षमा शक्तिको सबैखाले प्रयोग गर्न माहिर व्यक्तित्व छ उनको । तर दुई वर्ष पहिलेसम्म ओलीका निर्णयहरूलाई नि:शर्त समर्थन र सहयोग गर्दै आएकी र उनलाई अध्यक्ष बनाउन महत्वपूर्ण भूमिका पनि खेलेकी तथा उनैले राष्ट्रपति बनाएकी विद्या भण्डारी, उनकै पहिलो कार्यकालमा महासचिव र अहिले वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेलहरू समेतले चुनौती दिएर मोर्चा खोलिसकेपछि ओलीलाई अब पहिलेको जस्तो खुला र सुरक्षित स्पेस बाँकी रहेन । उनलाई चुनौती दिने झलनाथ, माधव, वामदेव, भीम रावल र घनश्याम भुसाल जस्ताहरू बाहिरिंदा निर्विकल्प ठानिएका ओलीलाई अहिले आएको चुनौती उनको यश र शक्ति क्षयको संकेत हो ।

यसमा उनको शासकीय शैली (पार्टी र सरकार चलाउने तरिका) को मुख्य भूमिका रहेको एमाले नेता र कार्यकर्ताको मूल्यांकन सुन्ने गरिन्छ । एमालेहरूबाट मैले सुनेका ओली अलोकप्रिय हुँदै जानुका कारण यस्ता छन्: उनमा सामूहिकताका आधारमा चल्ने कम्युनिष्ट परम्पराको लेस पनि छैन । आफूखुशी निर्णय गर्छन् । पावर शेयरिङ उनलाई मन नपर्ने विषय हो । आफ्नो प्रशंसा र दलाली कार्यकर्ता मूल्यांकनको मुख्य कसी हो । पार्टीमा जुनियरलाई उचालेर सिनियरको मानमर्दन गर्छन् । वैचारिकतालाई वास्ता गर्दैनन् । आफैं र महासचिव मार्फत गुट चलाउँछन् । पद्धति र विधि मान्दैनन् । अरूका कुरा सुन्न सक्दैनन् । बैठक उनका गफबाट शुरू भएर उनकै गफमा सकिन्छन् । बदलाको भावले कार्यकर्ताको भविष्यको फैसला गर्छन् । गुट चलाउन निकै अब्बल छन् ।

तथ्य र दाबीहरूकोे अर्को पाटो पनि सँगसँगै हेर्नुपर्छ, उनको कार्यकालमै एमालेले राष्ट्रपति दुई पटक, तीन–चार पटक प्रधानमन्त्री, मुख्यमन्त्रीहरू निर्वाचित गरेको थियो । उनकै पहलमा नेकपाको गठन भएको थियो र नेकपा देशको पछिल्लो इतिहासको सबैभन्दा शक्तिशाली पार्टी भएको थियो । नेकपा कालमा ओलीको वैधानिकता स्थापित थियो, त्यो वैधानिकता नैतिक पनि थियो जसले उनलाई पार्टीमा अल्पमत हुँदा पनि कब्जा गर्न मद्दत पुग्यो ।

यद्यपि उनलाई त्यतिबेला संकटबाट बचाउन ट्याक्टिकल सहयोग गर्ने तीन वटा पक्ष थिए । राष्ट्रपतिका रूपमा विद्या भण्डारीको सहयोगी भूमिका । उनैले नियुक्ति दिएर पठाएका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले विधि मिचेर गरेको सहयोग । सर्वोच्च अदालतमा उनले नियुक्ति दिलाएका भनिएका न्यायाधीश कुमार रेग्मी समेतको इजलासले नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काउन दिएको आदेश ।

माधव–झलनाथहरूले पार्टी विभाजन गर्दा पनि २०७९ को निर्वाचनमा दोस्रो ठूलो दलका रूपमा संसद् र स्थानीय तहमा उपस्थित भएको थियो । यो उनको प्रभावकै परिणाम हो ।

तर आम रूपमा उनले सरकार सञ्चालनका सन्दर्भमा लिएका नीतिहरू आलोचित छन् । काममा होइन गफमा विश्वास गर्छन् । अरूलाई होच्याएर आफू अग्लो हुन खोज्ने स्वभाव छ । सुशासन हैन जताततै अव्यवस्था र शासकीय विकृति छ । यसले पार्टी र उनको लोकप्रियता खस्कँदै गएको छ । सार्वजनिक राजनीतिक जीवनमा यतिबेला सबैभन्दा बढी आलोचित कोही छ भने त्यो केपी ओली नै हुन् । २०७८ मा संविधानसभाको विघटन यता उकालो लागेको उनको सार्वजनिक अपिल पछिल्लो पटक प्रधानमन्त्री भएदेखि नै घट्दै गएको छ ।

विद्या भण्डारीका लागि ओलीको ओरालो लागेको अवस्था नै एमालेको नेतृत्वमा दाबी गर्ने मुख्य स्पेस बनेको बुझ्न सकिन्छ ।

आफ्नै विरुद्ध

एमालेमा सबैभन्दा बढी लोकतान्त्रिक समय भनेको झलनाथ खनाल अध्यक्ष रहेको पाँचवर्षे कार्यकाल हो । त्यतिबेला ओली अध्यक्षलाई पेलेर, असहयोग र अपमान गरेर गुट चलाउँदै पार्टीलाई निर्णयहीनताको शिकार बनाउँथे । तर झलनाथ खनाल कसैलाई कारबाही गर्दैनथे । सबैको कुरा सुन्थे । सबैलाई कुरा राख्न दिन्थे । उनको उदारताको प्रचुर फाइदा लिएरै ओलीले शक्ति आर्जन गरे ।

ओलीले सातौं महाधिवेशनको समयदेखि नै पार्टीको लोकतन्त्रीकरणको पक्षमा खुब प्रचार गरे । प्रस्तावहरू ल्याए । बहुपदीय पद्धतिका कुरा गरे । प्रतिस्पर्धाको कुरा गरे । यसले पार्टीमा समर्थन पनि पायो र उनी त्यही लोकतन्त्रीकरण नाराको आड लिएर अध्यक्षमा निर्वाचित भए ।

जब निर्वाचित भए अनि उनको एकलौटी शुरू भयो । उनी आफ्नै विरुद्ध जान थाले । २०७८ पछि त संकटका बेला प्रतिस्पर्धा होइन सहमतिको विधि अंगीकार गर्नुपर्छ भन्दै पार्टीमा आफू र आफ्नो गुटको समर्थन नगर्नेहरूलाई किनारामा धकेल्न ज्यान फालेर लागे । गत महाधिवेशन र त्यसयताका प्रदेश, जिल्ला र पालिकाका अधिवेशनहरू, जनसंगठनका अधिवेशनहरू यसका उदाहरण हुन् । सबैभन्दा पछिल्लो उदाहरण अखिलको सम्मेलन थियो भने सबैभन्दा निम्छरो उदाहरण चैं प्रेस चौतारी नेपालको विराटनगरमा सम्पन्न अधिवेशन । यो उनको उल्टो बाटो थियो जसले पार्टीभित्र उनको नैतिक तागत ह्वात्तै घटाइदिएको छ ।

शंकर पोखरेलभन्दा एक वर्ष मात्रै जेठी, अनि एमालेका कैयौं वरिष्ठ नेताहरू भन्दा कनिष्ठ विद्या भण्डारीले पहिलो महिला प्रधानमन्त्री बन्ने महत्वाकांक्षा सहित राजनीतिक पुनरागमनको संकेत गरेकी छन्

ओलीको तागत

ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष भएकोले मात्र शक्तिशाली भएका होइनन् । उनीसँग तत्कालीन झापा विद्रोहको इतिहासको लिगेसी छ । मैनाली दाजुभाइहरू बहिर्गमित भएपछि झापा आन्दोलनको लिगेसीको दाबी गर्ने उनको उचाइको नेता छैन ।

१४ वर्ष जेल बसेको इतिहास छ । त्यसले उनलाई तानाशाही पद्धतिका विरुद्ध संघर्ष गरेर आएको एउटा ऐतिहासिक समयको प्रतिनिधित्व गर्ने अवसर दिएको छ ।

२०५१ मा गृहमन्त्री भएयता निरन्तर सत्ता र शक्तिको अभ्यास गर्दै आएका छन् । यसले उनलाई राजनीतिका लागि आवश्यक पर्ने स्रोत, साधन र सामाजिक सम्बन्ध दिएको छ । पार्टीमा उनको उचाइ भएको र समकालीन उमेर समूहको अर्को नेता छैन ।

संघीय प्रणाली, जातीय पहिचान र माओवादी विद्रोहको औचित्यमाथि उनले राख्दै आएको फरक मत या त्यसको विरोध, भारतीय नाकाबन्दीका समयमा लिएको बाहिरी अडान र अयोध्यालाई भारतको उत्तरप्रदेशबाट थपक्क झिकेर माडीमा ल्याएपछि उनलाई पहाडे उच्च जातीय एलिटहरू र महेन्द्रीय राष्ट्रवादका अनुयायीहरू तथा हिन्दूवादीहरूको समर्थन प्राप्त भएको थियो । क्रोनी समूहको निर्माण गर्दै गएकोले उपल्लो तहको पूँजीपति वर्गको पनि साथ थियो । त्यो अहिले नभए पनि हिङ बाँधेको टालो उनीसँग छ ।

उनीसँग लामो समय एउटै गुटमा रहेका, पार्टीमा अवसर दिएका, मन्त्री, मुख्यमन्त्री, राजदूत, संवैधानिक आयोग र अरू नियुक्ति पाएकाहरूको एउटा समूह छ । विभिन्न तहमा टिकट दिएकाहरू छन् । विभिन्न संकटका समयमा संरक्षण दिएर राजनीति बचाइदिएकाहरू छन् । यो पनि राजनीतिमा टिक्ने एउटा पूँजी हो ।

अहिले नै पार्टीको केन्द्रीय कार्यालय, प्रधानमन्त्रीको सचिवालय र अरू सरकारी तथा पार्टीगत संरचनाहरूमा उनको नियन्त्रण र पकड छ, वितरण गर्ने स्रोेत तथा अवसर र अभ्यास गर्न शक्ति उनको हातमा छ । महाधिवेशनमा यी सबै प्रयोग हुन सक्छन् ।

विद्याको व्यक्तित्व

विद्या भण्डारीले राजनीतिमा जुन उचाइ प्राप्त गरिन् त्यो नेपालको कुनै महिलाले पाएको छैन । राजनीतिक रूपमा सहाना प्रधान एउटा उचाइमा थिइन् । पदीय दृष्टिले विद्याले नै माथिल्लो खुट्किलो चढिन् । त्यसका पछाडि मदन भण्डारीकी विधवा हुनु र पार्टीले निरन्तर सहयोग गर्नु अवश्य केही कारण हुन् । तर उनलाई केवल कसैकी पत्नी र विधवाका कारणले मात्र राजनीतिमा उठेको र क्षमता नभएको भन्नु उनीमाथि अन्याय हुन्छ । पहिलो त उनी हाम्रो पुस्ताको जुझारु माले अखिलबाट राजनीतिमा आएकी र पार्टी राजनीतिमा निरन्तर जोडिएकी हुन् । राजनीति गरेकै कारणले उनको विवाह मदनसँग भएको हो, मदनसँग बिहे भएर राजनीतिमा आएकी होइनन् । दोस्रो २०५० को उपचुनावदेखि यता निरन्तर संसद् र सरकारको भूमिकामा छन् । २०७२ मा राष्ट्रपति हुनु अघिसम्म उनी पार्टीको उपाध्यक्ष समेत विभिन्न भूमिकामा थिइन् । सांसद, मन्त्री, राष्ट्रपति र पार्टीका विभिन्न तहमा गरेका कामले उनीसँग बढेका सूचनाको पहुँच, काठमाडौंको सत्तारुढ सम्भ्रान्त वर्गसँगको सम्बन्ध र देशभर फैलिएको सम्पर्क सञ्जाल उनको पूँजीका रूपमा रहेका छन् ।

मलाई कतिपय पार्टी बाहिरका नागरिक समाजका सिनियर व्यक्तित्वहरूले उनको क्षमताका बारेमा प्रश्न गर्ने गरेका थिए । विद्या भण्डारी संगठनमा सक्रिय हुँदा म संगठनबाट निष्क्रिय भइसकेकोले सांगठनिक जीवनमा त भेट भएन । तर पछि उनीसँग जे–जति संवाद भए त्यसको अनुभवका आधारमा मैले भन्ने गरेको थिएँ कि उनी आफ्ना निर्णयहरू आफैं लिन सक्षम छिन् र लिन्छिन् पनि । कसैको बैसाखी टेकिरहने स्वभावकी पनि हैनन् । अहिले राजनीतिमा आउन अरूले प्रेरित गरे होलान्, उक्साए होलान् पनि तर यो उनकै निर्णय हो, आफ्नो निर्णयमा अरूलाई सहमत गराएकी हुन् । स्नातकसम्म अध्ययन गरेकी छन् र राज्य सञ्चालनका सबै पक्षहरूबारे अध्ययन पनि ।

विद्याको शक्ति

विद्या भण्डारीको दाबीलाई आधार दिने केही पक्ष छन् जसलाई बुँदागत रूपमा यसरी व्यक्त गर्न सकिएला :

  • आजसम्म पार्टीमा काम गर्दा बनेको सम्बन्ध, बनाइएका मित्र र संरक्षण गरिएका कार्यकर्ता, स्थापित भएको सञ्जाल ।
  • जबज, मदन भण्डारी र विद्यालाई जोडेर हेर्ने कार्यकर्ताको पंक्ति ।
  • मदनको जीवनसाथी हुनुको लिगेसी ।
  • पार्टीभित्रको असन्तुष्ट पंक्ति जसलाई ओली आफैंले किनाराकृत गरेका छन् ।
  • ओलीलाई टक्कर दिने अर्को व्यक्तिको पार्टीमा अभाव ।
  • पार्टीभित्र र सार्वजनिक जीवनमा ओलीको बढ्दो अलोकप्रियता ।
  • ६४ वर्ष हुँदै गरेको उमेर । विद्या २०१८ सालमा जन्मिन्, अर्थात् शंकर पोखरेल भन्दा मात्र एक वर्ष जेठी । विष्णु पौडेल, पीएस गुरुङहरू भन्दा कान्छी । हामी २०३६ साले आन्दोलनको उपजका प्रतिनिधि । यस अगाडिको नेतृत्व सबै या त झापा विद्रोहको या त पुष्पलाल समूहको २०२२–२०२७ सालबाट पार्टी काम थाल्नेहरू थिए— २०१० साल अगाडि जन्मेको समूहका मदन, माधव, अमृत, ओली, ईश्वर, प्रदीप नेपाल, सीपी आदि । विद्या राजनीतिमा आउनु भनेको एमालेमा कमसेकम १० वर्ष नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनु हो । यो उनको ठूलो स्टेक हो पब्लिक जनमत बनाउन ।
  • चिनियाँ कम्युनिष्ट पार्टीसँगको सुमधुर सम्बन्धको पनि उनी अध्यक्ष बनेपछि सहयोगी भूमिका हुनसक्छ ।
  • गैर–एमाले वामपन्थीहरूको चासो र एकताको सम्भावना पनि ओलीको नेतृत्वमा भन्दा विद्याको नेतृत्वमा बढी सम्भव छ यदि उनले त्यस्तो नीति लिइन् भने । यसबारे उनको धारणा आएको छैन ।
  • देशको दोस्रो ठूलो दलमा पहिलो महिला अध्यक्ष र सम्भावित पहिलो महिला प्रधानमन्त्रीको रूपमा हुने प्रचार र मनोविज्ञानको लाभ पनि उनको सबल पक्ष हो ।
  • क्षेत्री परिवारको छोरी हुनुका कारण पनि नेपाली राजनीतिमा केही अनुकूलता छन् जसले गोर्खा भारदारहरूको लिगेसी बोक्छ ।
  • सबैभन्दा ठूलो चैं आफ्नो निर्णयको प्रति उनको कठोर प्रतिबद्धता र हठ हो जसले उनी आफ्ना लक्ष्यहरू हासिल गर्न सबै युक्तिहरू प्रयोग गर्न सक्छिन् भन्ने देखाउँछ ।

विद्याका चुनौती

विद्या चुनौतीविहीन रूपमा एमालेमा आउने सम्भावनै छैन । उनले अध्यक्ष हुनैका लागि निम्न चुनौती सामना गर्नुपर्नेछ :

  • एमाले पंक्तिलाई कसैप्रति अन्याय हुँदैन भन्ने विश्वास दिलाउनु ।
  • पार्टीमा लोकतान्त्रिक अभ्यास हुन्छ भन्ने विश्वसनीय आधार दिनुु ।
  • वैचारिक रूपमा जबज मात्र भनेर अबको राजनीतिक संकटको उत्तर पुग्दैन, त्यसको समयसापेक्ष व्याख्या गर्दै आफूलाई वैचारिक नेताका रूपमा स्थापित गर्नु ।
  • यस अगाडि एमालेले के र किन राम्रो काम गर्न सकेन, उनी प्रधानमन्त्री हुँदा के गर्छिन् र राम्रो काम हुनसक्छ भन्ने विश्वासिलो आधार सहित आम मानिसलाई अपिल गर्नु ।
  • सबैभन्दा ठूलो चुनौती राष्ट्रपति भइसकेपछि राजनीतिक दलको नेता हुन आउनुपर्नाको कारण र औचित्य पुष्टि गर्नु ।
  • उनलाई पार्टीमा फर्किन र अध्यक्षमा प्रतिस्पर्धा गर्न नदिन संस्थापन पक्षबाट हुने सबैखाले प्राविधिक अड्चन र षड्यन्त्रहरू परास्त गर्नु ।
  • जोड दिएर भन्नुपर्दा ओलीभन्दा आफू किन सही हो भनेर उठ्ने प्रश्नको पार्टीको बहुसंख्यक हिस्सालाई चित्त बुझाउनु ।

पार्टी अध्यक्ष ओली सामान्य महत्वाकांक्षाका मान्छे होइनन् । उनी आफूले छाड्नुपर्दा कुर्सी भाँचिदिने हठ भएका व्यक्ति हुन् । यसपालि पनि उनी एक वर्ष अगाडि महाधिवेशन सारेर आफू प्रधानमन्त्री हुँदैको अवस्थामा पार्टी सत्ता कब्जा गर्ने दाउमा छन् । यस्तो अभ्यास प्रदेश सरकारमा दुई वर्षपछि मन्त्री बन्छु भन्नेले जिल्ला सम्मेलनमा समेत गरिरहेको छ भने सारा सत्ताको डाडुपन्युँ हातमा भएका प्रधानमन्त्रीले कत्तिको जोरजुलुमका साथ गर्छन् भन्ने अनुमान गर्न सकिन्छ । यसलाई विद्याले कसरी परास्त गर्छिन् भन्ने कुराले पनि उनको भविष्य निर्धारण गर्छ ।

१४ गतेको कार्यक्रम र त्यस अगाडि एमाले वृत्तमा भएका संवादबाट के अनुमान गर्न सकिन्छ भने ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे लगायतका सिनियर नेताहरू विद्याको पक्षमा अहिले नै खुलेर लागेका छन् । प्रदेश र जिल्ला अधिवेशनहरू, जनसंगठनका सम्मेलनहरूमा ओलीले नरुचाएको ठूलो हिस्सा देखिएकै छ । पार्टी सचिवालय र केन्द्रीय कमिटीमा पनि ओलीको निरपेक्ष बहुमत छैन । यो शक्ति विभाजित भयो र विद्यालाई समर्थन गर्न थाल्यो भने चैं विद्या एमालेको अध्यक्ष निर्वाचित हुने सम्भावना छ ।

पुटिन, मेदवेदेवको उदाहरण त माथि नै दिइसकिएको छ, त्यसको लाक्षणिक अर्थले नेपालको सन्दर्भमा पनि मेल खाएमा संयोग मात्र हुनेछ ।

लेखक
झलक सुवेदी

झलक सुवेदी राजनीतिक विश्लेषक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?