News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली याक्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेटका लागि रिटेन गरिएका खेलाडीहरूको सूची मंगलबार सार्वजनिक गर्यो।
- सामेल खेलाडीहरूमा मार्की सोमपाल कामी, गुल्शन झा, नन्दन यादव, अर्जुन घर्ती, र अन्य छन्।
- नेपाली क्रिकेट टोलीका सबैभन्दा अनुभवी खेलाडी रहेका सोमपाल नेपालका लागि दुवै टी-२० विश्वकप खेल्ने एकमात्र खेलाडी हुन्।
१७ असार, काठमाडौं । कर्णाली याक्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि रिटेन गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ ।
कर्णालीले मंगलबार रिटेन्सन लिस्ट सार्वजनिक गरेको हो । रिटेन गरिएका खेलाडीहरूमा मार्की सोमपाल कामीसहित गुल्शन झा, नन्दन यादव, अर्जुन घर्ती, दिपेन्द्र रावत, बिपिन प्रसाद शर्मा र युनिशविक्रमसिंह ठकुरी छन् ।
टोलीले देव खनाल, भुवन कार्की, मौसम ढकाल, रित गौतम र दीपक डुम्रेलाई रिलिज गरेको छ । उनीहरूलाई पनि टिममै राख्ने चाहना भएपनि प्रतियोगिताको नियमावलीका कारण बिदाई गर्नुपरेको क्लबले जनाएको छ ।
यसअघि सोमबार अघिल्लो सिजनका मार्की तथा कप्तान सोमपाल कामीलाई मार्कीमा नै निरन्तरता दिइने क्लबले घोषणा गरेको थियो । नेपाली क्रिकेट टोलीका सबैभन्दा अनुभवी खेलाडी रहेका सोमपाल नेपालका लागि दुवै टी-२० विश्वकप खेल्ने एक मात्र खेलाडी हुन् ।
पहिलो सिजन सोमपालकै कप्तानीमा कर्णाली याक्सले प्लेअफ खेलेको थियो । उनले गत सिजन ९ खेलमा ९ विकेट लिएका थिए ।
कर्णालीले पहिलो सिजन भारतीय राष्ट्रिय टोलीका चर्चित पूर्व ओपनर शिखर धवनलाई अनुबन्ध गरेको थियो । कर्णाली याक्स स्पोर्ट्स प्रालिका निर्देशक गृहेन्द्र घिमिरेले यस सिजन पनि स्टार खेलाडी अनुबन्ध गरेर टिमलाई थप बलियो बनाउने तथा पर्यटन प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने योजना सुनाएका छन् ।
‘पहिलो संस्करण शिखर धवनको आगमनसँगै टिम निकै बलियो भयो । नेपाली क्रिकेटको चर्चा पनि उस्तै भयो । यसपटक पनि हामी चर्चित खेलाडी अनुबन्ध गर्दै देशको पर्यटक प्रवर्द्धन गर्न र क्रिकेट विकासमा महत्वपूर्ण भुमिका खेल्छौं’ उनले भने ।
एनपीएलको दोस्रो सिजनका लागि हरेक टोलीले मार्कीबाहेक ६ खेलाडी रिटेन गर्न पाउने छन् भने मार्की खेलाडी स्वत: रिटेन हुनेछन् ।
यसअघि चितवन राइनोज, लुम्बिनी लायन्स, काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्सले आ-आफ्ना रिटेन्सन लिस्ट सार्वजिक गरिसकेका छन् ।
एनपीएलको दोस्रो सिजनका लागि आउँदो अगस्टमा मिनी अक्सन हुने तय छ ।
प्रतिक्रिया 4