
१८ असार, काठमाडौं । संविधानसभा सदस्य एवं नेपाली कांग्रेस बाराका पूर्वसचिव रामअयोध्या यादवको निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित यादवको ७२ वर्षको उमेरमा वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा आज बिहान मृत्यु भएको हो ।
बाराको सुवर्ण गाउँपालिका–२ कवहीजगात गाउँका यादव २०७० सालको संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं १ बाट कांग्रेसबाट निर्वाचित भएका थिए । उनका दुई छोरा, दुई छोरी र श्रीमती छन् ।
यादवको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
‘संविधानसभा सदस्य एवं बाराका पूर्व जिल्ला सचिव रामअयोध्याप्रसाद यादवको निधनको खबरले मलाई अत्यन्त स्तब्ध र दुःखीत बनाएको छ’, देउवाले शोक वक्तव्यमा भनेका छन्, ‘स्वर्गीय यादवले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नु भएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहिरहनेछ । उहाँप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’
प्रतिक्रिया 4