१८ असार, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनका लागि कर्णाली याक्सले मार्की प्लेयरसहित ७ खेलाडी रिटेन गरिसकेको छ । सहभागी हरेक फ्रेन्चाइजले आफ्नो मार्कीसहित ७ खेलाडी रिटेन गर्न पाउने प्रावधान अनुसार कर्णाली ७ खेलाडीलाई निरन्तरता दिने भएको हो ।
राष्ट्रिय टिममा सबैभन्दा अनुभवी सदस्य तथा अलराउण्डर सोमपाल कामीलाई मार्कीमा निरन्तरा दिएको कर्णालीले त्यसबाहेक पहिलो सिजन खेलेकै ६ खेलाडीलाई रिटेन गरेको छ ।
जसमा राष्ट्रिय टिमकै अन्य दुई सदस्य गुल्सन झा र नन्दन यादव समेत छन् भने बाँकी चार खेलाडीमा विकेटकिपर ब्याटर अर्जुन घर्ती तीन स्पीनर बिपिन प्रसाद शर्मा, दीपेन्द्र रावत र युनिश विक्रम ठकुरी छन् ।
यस्तै पहिलो सिजन खेलेका देव खनाल, भुवन कार्की, रित गौतम, मौसम ढकाल (श्याम), दिपक डुम्रे लाई भने कर्णालीले रिलिज गरेको छ ।
कर्णाली याक्सले दोस्रो सिजनमा लागि रिटेन गरेका खेलाडीहरुमा कर्णाली प्रदेशकै खेलाडीको वर्चस्व छ । पहिलो सिजन पनि कर्णालीका खेलाडीलाई समावेश गर्दै विश्व चर्चित शिखर धवनलाई नेपाल ल्याएर एनपीएल खेलाएको कर्णालीको चर्चा मैदान भित्र र बाहिर मजैले भएको थियो ।
मार्की सोमपालसँगै राष्ट्रिय टिमका गुल्सन र नन्दनबाहेक बाँकी चार खेलाडी नै कर्णाली प्रदेशका हुन् । त्यसमा पनि अझ रमाइलो कुरा कर्णाले रिटेन गरेका युवा स्पीनर बिपिन प्रसाद शर्मा पहिलो सिजनमा ट्यालेन्ट हन्टबाट आएका हुन् ।
पहिलो सिजनमा सानदार प्रदर्शन गरेपछि विपिनलाई दोस्रो सिजनमा अन्य खेलाडीहरुसँगै रिटेन गरेको हो ।
कर्णाली याक्स स्पोर्ट्स प्रालीका निर्देशक गृहेन्द्र घिमिरेले कोर टिममा कर्णालीकै खेलाडीहरुलाई प्राथमिकता दिएर रिटेन गरेको बताए । ‘हामीले कर्णालीलाई न्याय गरेका छौं । दोस्रो सिजनका लागि कर्णालीकै चार खेलाडीले निरन्तरता पाउनुले यो प्रमाणित गर्छ’ घिमिरेले भने, ‘पहिलो सिजनमा विपिन शर्मालाई ट्यालेन्ट हन्टबाट खोजेर ल्यायौँ । अहिले विपिन पनि अन्य खेलाडीसँगै रिटेन भएका छन् ।’
कर्णाली याक्सले पहिलो सिजन अक्सनमा कर्णाली प्रदेशका ३ खेलाडी अनुबन्ध गरेको थियो भने ट्यलेन्ट हन्टबाट विपिनलाई छनोट गरेको थियो । ट्यालेन्ट हन्टमा स्थानिय खेलाडी नै समावेश गर्ने नियम अनुसार कर्णालीले विपिनलाई छनोट गरेको थियो ।
पहिलो सिजनमै हामीले कर्णाली याक्समा कर्णाली प्रदेशकै खेलाडीहरुलाई प्राथमिकता दिनुपर्छ भनेर त्यस क्षेत्रको तीन खेलाडी अक्सनबाट लिएका थियौँ । टिम सन्तुलन मिलाउन त्यस बेला पनि केही खेलाडी छुटेका थिए । तर हामीले ट्यालेन्ट हन्टमा ल्याएको विपिनले नै उत्कृष्ट प्रदर्शन गर्दै सनसनी मच्चाए ।’
कर्णालीले रिटेन गरेका ७ खेलाडीमध्ये राष्ट्रिय टिमका तीन खेलाडी बाहेक अहिले सबैभन्दा चर्चमा उनै युवा स्पीनर बिपिन नै छन् ।
उनले पहिलो सिजनमा ८ खेल खेल्दै १३ विकेट लिएका थिए । उनी कर्णालीका लागि सर्वाधिक विकेट लिने खेलाडी समेत बनेका थिए । नेपाली खेलाडीमा त्यसपछि धेरै विकेट लिनेमा सोमपाल र नन्दन थिए दुवैले समान ९ विकेट लिएका थिए ।
बिपिनको उत्कृष्ट प्रदर्शन क्वालिफायरमा जनकपुर बोल्ट्स विरुद्ध ३/१७ थियो । त्यसबेला उनले न्युजिल्याण्डका स्टर अलराउण्डर जिम्मी नीशमको विकेट समेत लिएका थिए ।
बिपिन हाल एसीसी यू-१६ इस्ट जोन कपमा नेपाली यू-१६ राष्ट्रिय क्रिकेट टिमकै कप्तानी गरिरहेका छन् । उनको कप्तानीमा नेपाली युवा टोली उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल पुगिसकेको छ भने विपिनले व्यक्तिगत रुपमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । त्यसअघि उनले यू-१६ राष्ट्रिय प्रतियोगितामा पनि कर्णाली प्रदेशकै कप्तानी गरेका थिए ।
यस्तै कर्णालीले रिटेन गरेका अन्य खेलाडीहरुमा विकेटकिपर अर्जुन घर्तीले पहिलो सिजनमा औसत प्रदर्शन गरेका थिए । लोअर मिडल अर्डरमा खेलेका अर्जुनले आवश्यक परेका बेलामा टिमका लागि रन बनाएका थिए । अर्जुनले ९ खेलमा ७९ रन बनाए । उनले पहिलो खेलमै टिम संघर्ष गरेका बेला जनकपुर विरुद्ध २२ बलमा ३३ रन बनाएका थिए । अर्जुन नेपाल ए टिममा समेत परिसकेका खेलाडी हुन् ।
यस्तै यू-१९ राष्ट्रिय टिमबाट विदेश खेल्न गएका युनिश विक्रमले भने त्यो बेला खासै अवसर पाएनन् । उनले नेपाल फर्केर ५ खेल खेल्दा जम्मा २ विकेट लिए । कर्णालीका अर्का खेलाडी दीपेन्द्र रावतले भने पहिलो सिजन खासै अवसर पाएनन् । टिममा विदेशी स्पीनरहरु समेत हुँदा युवा स्पीनरहरुले धेरै अवसर पाएका थिएनन् ।
यद्यपी दीपेन्द्र रावतले घरेलु प्रतियोगिताहरुमा भने राम्रो प्रदर्शन गर्दै आएका छन् । उनले केही समयअघि भएको प्रधानमन्त्री कप एकदिवसीयमा कर्णाली प्रदेशका लागि राम्रो प्रदर्शन गरेका थिए । लोअर अर्डरमा ब्याटिङ गरेपनि उनले दुई अर्धशतक प्रहार गरेका थिए । उनले लुम्बिनी विरुद्ध ६६ र मधेश विरुद्ध ६१ रन बनाएका थिए ।
पहिलो सिजनमा लिगमै विदेशी खेलाडीहरु हावी बन्दा नेपाली खेलाडीहरुले धेरै अवसर पाएका थिएनन् । पहिलो सिजनमा प्रदर्शन जस्तो भएपनि कर्णालीकै खेलाडीहरुलाई अवसर दिनुपर्छ भन्ने उदेश्यसहित रिटेन्सनमा कर्णालीका चारै खेलाडी राखेको निर्देशक घिमिरेले बताए ।
‘पहिलो सिजनमा बिपिन ट्यालेन्ट हन्टबाट आएर पनि राम्रो प्रदर्शन गर्यो । हाम्रो लक्ष्य विपिन जस्तै अन्य क्रिकेट प्रतिभा खोज्ने हो । यस पटक कर्णालीका अर्को खेलाडी चम्कन सक्छ’ निर्देशक घिमिरेले भने ।
उनले कर्णाली प्रदेशलाई पछि परेको प्रदेशको रुपमा चित्रण गरेपनि अहिले खेलकुद देखि लिएर अन्य क्षेत्रमा पनि कर्णाली प्रदेशले राम्रो गरिरहेको बताए ।
‘कर्णालीमा क्रिकेटको कल्चर बसाउने हाम्रो लक्ष्य हो । कर्णाली प्रदेशको सुर्खेतमा क्रिकेट मैदान छन् । नयाँ प्रतिभावान खेलाडीहरु पनि छन् । उनीहरुलाई अब नेपाली क्रिकेटको मुख्य हिस्सा बनाउन हाम्रो पहल रहनेछ’ घिमिरेले भने ।
पहिलो सिजनकै सबै खेलाडी राख्ने चाहना भएपनि प्रतियोगिताको नियमका कारण ५ खेलाडीलाई भने रिलिज गर्नुपर्ने कर्णाली याक्सले जनाएको छ । अब हुने मिनी अक्सनमा राम्रो खेलाडीहरुलाई अनुबन्ध गर्दै टिम बलियो बनाउने निर्देशक घिमिरेले बताए ।
पहिलो सिजन कर्णाली याक्सले विश्वकै चर्चित र भातका पूर्व ओपनर शिखर धवनलाई टिमबाट खेलाएर चर्चा बटुलेको थियो ।
दोस्रो सिजनमा पनि स्टार खेलाडी अनुबन्ध गरेर टिमलाई थप बलियो बनाउने निर्देशक घिमिरेले जानकारी दिए । विदेशी खेलाडीलाई ल्याएर एनपीएलमा खेलाउँदा नेपाली खेलाडीहरुले सिक्ने अवसर पाउने र पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण भूमिका खेल्ने घिमिरेको विश्वास छ ।
‘पहिलो संस्करण शिखर धवनको आगमनसँगै टिम निकै बलियो भयो । नेपाली क्रिकेटको चर्चा पनि उस्तै भयो । यसपटक पनि हामी चर्चित खेलाडी अनुबन्ध गर्दै देशको पर्यटन प्रवर्द्धन गर्न र क्रिकेट विकासमा महत्वपूर्ण भुमिका खेल्छौं’ उनले भने ।
प्रतिक्रिया 4