
News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगर महानगरपालिका–७ की मिना शाक्यले १७ लाख रुपैयाँ ऋण लिएकी थिइन् र १ करोड ५ लाख बुझाइन्, तर मन्टुले सुन फिर्ता नगरेको आरोप लगाइन्।
- मिनाले घर रोक्का भएको र घर बेचेर ऋण तिरेको बताइन्, र उनीसँग २० जना पीडितले उजुरी दिएका छन्।
- मिटरब्याज कारोबारी मन्टु करिब दुई वर्ष जेल बसेपछि छुटेका थिए र फेरि पीडितसँग पैसा माग्दै पत्र पठाइरहेका छन्।
१९ असार, विराटनगर । विराटनगर महानगरपालिका– ७ की मिना शाक्यले मिटरब्याजी मन्टु (सञ्जयकुमार रौनियार) सँग २०७५ सालमा पटक-पटक गरेर १७ लाख रुपैयाँ ऋण लिएकी थिइन् । त्यो ऋणको सावाँ ब्याजसहित उनले गत वर्षसम्म रौनियारलाई १ करोड ५ लाख रुपैयाँ बुझाइन् । त्यसमध्ये उनले बैंकबाटै ८५ लाख ५० हजार रुपैयाँ बुझाएकी छन् । बाँकी रकम उनले नगद नै भुक्तानी गरिन् ।
मिनाबाट रौनियारले २४ तोला सुन लगेका छन् । तर त्यो सुन फिर्ता दिएका छैनन् । २०८१ सालमा सबै ऋण भुक्तानी गरेकी उनीसँग मन्टुले फेरि पैसा मागिरहेका छन् । मिना भने मन्टुकै कारण घरविहीन भएकी छन् । ‘घर रोक्का गरिदिएको रहेछ, घर नै बेचेर उसको ऋण तिरेँ, अहिले भाडामा बस्दैछु,’ उनले भनिन्,‘फेरि मेरो घर कहाँ छ भनेर खोज्दैछ, मन्टुले धेरै दु:ख दिएको छ ।’
मिना एकल महिला हुन् । मन्टुविरुद्ध पहिला बोल्न सकिनन्, पीडितहरू जिल्ला प्रशासन पुगेपछि उनी पनि न्याय माग्दै जिल्ला प्रशासन कार्यालय पुगेकी छन् ।
मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलकी मञ्जु शर्मा पनि मन्टुकै कारण घरविहीन भएकी छन् । मन्टुसँग लिएको ५० हजार रुपैयाँ तिर्न उनले ११ धुर जग्गा र घर बेचिन् । मञ्जु अहिले डेरामा बस्छिन् । डेरामा बस्ने घरलाई मञ्जुकै घर दाबी गर्दै आफ्नो नाममा नामसारी गर्न उनले धम्की दिँदै आइरहेका छन् ।
घरायसी कामका लागि मञ्जुले २०७१ सालमा मन्टुसँग ५० हजार रुपैयाँ ऋण लिएकी थिइन् । मञ्जुलाई ऋण दिँदा मन्टुले कागज गरेका थिए । मञ्जुले २०७७ सालसम्म ३ लाख रुपैयाँ ऋण तिरिसकेकी थिइन् । तर मन्टुले ऋण दिँदा गरेको कागज हराएको बहाना बनाए । अहिले फेरि त्यही कागजको आधारमा मन्टुले धम्की दिने गरेको मञ्जु बताउँछिन् ।
‘छरछिमेकले मेरो घर होइन भनेपछि फर्किएका उनले २ लाख रुपैयाँ लिएर नतिरको भन्दै जिल्ला अदालत मोरङमा लेनदेन मुद्दा दायर गरेको छ,’ मञ्जुले भनिन्, ‘५० हजारको ३ लाख त तिरिसकेँ, अझै २ लाख मागेर मुद्दा हालेको छ ।’
उनले पनि न्याय माग्दै जिल्ला प्रशासन कार्यालय मोरङमा मिटरब्याजी मन्टुविरुद्ध उजुरी दिएकी छन् ।
मञ्जु, मिना जस्ता २० जनाको उजुरी जिल्ला प्रशासन कार्यालयमा मन्टुविरुद्ध छ । ती मध्ये १६ जना पुराना ऋणी हुन् ।
केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा मन्टुले मिनाबाट आफूले ५ लाख रुपैयाँ मात्रै पाएको दाबी गरे । मिनाले ८५ लाख ५० हजारको बैंक भुक्तानीको स्टेटमेन्ट र २४ तोला सुन धितो लिएबापत रौनियाले लेखेर दिएको कागज पेस गरेपछि उनी बेहोस भए । मिटरब्याज पीडितहरू भने मन्टुले जोगिनका लागि नाटक गरेको दाबी गर्छन् । छलफलका क्रममा बेहोस भएपछि अस्पताल भर्ना भएका उनका विषयमा त्यसपछि छलफल भएको छैन ।
विराटनगरका नामुद मिटरब्याज कारोबारी मन्टु करिब दुई वर्ष कारागार बसेपछि सफाइ पाएर छुटेका व्यक्ति हुन् ।
कारागारबाट छुटेपछि मन्टुले फेरि पीडितसँग पैसा माग्दै पत्र पठाइरहेका छन् । मन्टुले पहिले पैसा उठाउन गुन्डा खटाउँथे । कारागारबाट छुटेपछि उनले हुलाकबाट चिठी पठाइरहेका छन्, अदालतमा मुद्दा दर्ता गरिरहेका छन् ।
१७ जना पीडितले जाहेरी दिएपछि मन्टुविरुद्ध १३ माघ २०७७ मा मुद्दा दायर भएको थियो । मन्टुले श्रीमती ज्योतिलाई वारेस दिएर १७ जनालाई जग्गा फिर्ता गरे । पीडितकै जग्गा फिर्ता भएपछि उनीविरुद्धको मुद्दा तुलनात्मक रूपमा कमजोर भयो । ९ जेठ २०७९ मा ठगी र आपराधिक लाभ मुद्दामा मोरङ जिल्ला अदालतका तत्कालीन न्यायाधीश कपिलमणि गौतमको इजालसबाट मन्टुले सफाइ पाए ।
अदालतबाट सफाइ पाएपछि मन्टुले पहिले आफूविरुद्ध मुद्दा दायर गर्ने सबैलाई पैसा माग्दै हुलाक मार्फत चिठी पठाएका छन् । केहीलाई अदालतमा लेनदेन मुद्दा दायर गरेका छन् ।
मन्टुले फेरि पैसा माग्न थालेपछि सबै पिडितले जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेनको उजुरी दिएको पीडित मध्येका एक गणेश रायले बताए ।
मन्टुले दु:ख दिन थालेपछि न्याय माग्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेको उनले बताए । उनका अनुसार मन्टुविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्नेहरु २० जना छन् । यो संख्या बढ्दै गएको उनले बताए । मन्टुले धेरैलाई घरबार बिहीन बनाएको छ, उसकै कारण जेल परेका मेरो ज्वाइँ मृत्यु भयो,’ उनले भने,’ मन्टुले पैसा माग्न थालेपछि पीडित सबै एक जुट भएका छौं ।’
गणेशका ज्वाइँ विराटनगर ८ का महानन्द रायसँग ट्याक्टर थियो । ट्याक्टरकै कामका लागि उनले मन्टुसँग पटक-पटक गरेर उनले २ लाख ५० हजार रुपैयाँ ऋण लिएका थिए । मन्टु र महानन्द साथी हुन् । विराटनगर ८ अशोक चोकको एक कट्ठा जग्गा र टिनको घर राजीनामा पास गरेर लिएको ऋण रायले तिरिसके थिए । तर घरभाडा बापत ९ लाख रुपैयाँ नबुझाएको भन्दै महानन्दविरुद्ध मन्टुले मुद्दा हाले । मोरङ अदालतले महानन्दले ९ लाख रुपैयाँ मन्टुलाई तिनुपर्ने फैसला गर्यो । आफ्नै घरमा बसेको भाडा नतिर्ने पक्षमा उनी पुगे । तर उनी १३ असोज २०८१ मा कारागार चलान भए । कारागार चलान भएको एक महिनापछि २ मंसिरमा उनको मृत्यु भयो । मन्टुका कारण कारागार परेका ज्वाइँको उपचारका क्रममा मृत्यु भएको गणेशले बताए । ज्वाइँको घरजग्गा भने मन्टुलाई २५ लाख रुपैयाँ तिरेर फिर्ता लिएको उनले बताए ।
मन्टुले भने जग्गा बिक्री गरेको पैसा नदिएपछि हुलाक मार्फत मागेको बताउँछन् । ‘म कारागारमा हुँदा बैंकमा जम्मा गर्ने भनेर थैली खडा गरेर पास गरिदिएको हो,’ केही दिनअघि उनले अनलाइनखबरसँग भनेका थिए, ‘मेरो बैंकमा पैसा आएन, त्यो पैसा कहाँ गयो ?’
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला मन्टुविरुद्ध परेको उजुरीमाथि छलफल भइरहेको बताउँछन् । अदालतमा पुगेर पीडितको नाममा जग्गा फिर्ता भइसकेका कारण मन्टुले पत्र पठाउँदैमा पीडित डराउनु पर्ने अवस्था नरहेको उनले बताए । नयाँ उजुरीका विषयमा छानविन भइरहेको उनले बताए ।
प्रतिक्रिया 4