+
+
Shares

विराटनगरमा प्रहरीको नाममा अपहरण र लुटपाट, वाईसीएल कार्यकर्तासहित ३ जना पक्राउ

प्रहरीका अनुसार यो समूहले ११ असार बिहान विराटनगर महानगरपालिका– १५ का विक्रमकुमार साह तेलीलाई अपहरण गरी उनको साथमा रहेको ३ लाख ६४ हजार रुपैयाँ लुटेर लगेको थियो ।

हरि अधिकारी हरि अधिकारी
२०८२ असार २० गते १३:०४

२० असार, विराटनगर । प्रहरीको नाममा व्यक्तिको अपहरण तथा डकैतीमा आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

नेकपा माओवादी केन्द्रको योङ कम्युनिस्ट लिग (वाईसीएल) विराटनगरका पूर्वसदस्य विराटनगर महानगरपालिका–११ का २६ वर्षीय कुशल पाण्डेसहित तीन जना पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार १५ असारमा विराटनगर –८ का २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २६ वर्षीय आशिव अन्सारी पक्राउ परेका थिए । समूहका नाइके पाण्डे १८ असारमा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार यो समूहले ११ असार बिहान विराटनगर महानगरपालिका– १५ का विक्रमकुमार साह तेलीलाई अपहरण गरी उनको साथमा रहेको ३ लाख ६४ हजार रुपैयाँ लुटेर लगेको थियो ।

प्रहरी हुँ भन्दै पुगेका तीन जनाको समूहले विराटनगर–१३ महतो टोलबाट साहलाई अपहरण गरेर लगेको थियो । विराटनगर–१४ जतुवामा पुर्‍याएर लुटपाट गरेपछि साहलाई छाडेको थियो । लुटपाटपछि कसैलाई भने मारिदिने धम्की दिएको थियो ।

प्रहरीका अनुसार साहलाई लिएर जानुअघि आफन्तलाई जिल्ला आउनु भन्दै धम्काएका थिए । प्रहरीले पक्राउ गरी जिल्ला ल्याएको भन्दै आफन्त प्रहरी कार्यालय आएपछि लुटपाटको विषय सार्वजनिक भएको थियो ।

प्रहरीका अनुसार अपहरण तथा लुटपाटमा संलग्न तीन जना पटके अपराधी हुन् । ३० साउन २०८० साउनमा उनीहरूले विराटनगर महानगरपालिका– १० संसारी माइस्थानमा दिनदहाडै महम्मद हलिम खानलाई तरबार प्रहार गरेका थिए । यो घटनामा पक्राउपछि हुसेन र अन्सारी अदालतबाट सफाइ पाएका थिए । प्रहरीका अनुसार पाण्डे भने फरार सूचीमा थिए ।

पाण्डे विराटनगरमै भए पनि माओवादी केन्द्रका स्थानीय नेताको संरक्षणमा रहेका कारण  प्रहरीले पक्राउ गर्न चासो दिएन् । प्रहरीका नाममा अपहरण र डकैत गरेपछि भने उनलाई पक्राउ गरेको हो ।

मोरङ प्रहरीका डीएसपी हस्तबहादुर सुनारका अनुसार प्रहरीको रेकर्डमा पाण्डेविरुद्ध दुई वटा ज्यान मार्ने उद्योग र एउटा अभद्र व्यवहारको मुद्दा छ ।

उनका अनुसार मञ्जु तामाङको जाहेरीले इलाका प्रहरी कार्यालय रानीले पाण्डेविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाएको थियो । त्यस्तै, स्माइल साफीको जाहेरीले ज्यान मार्ने उद्योग र प्रवेज आलमको जाहेरीले अभद्र व्यवहार मुद्दा चलेको थियो । अन्य दुई जनालाई दुई वटा मुद्दा चलेको थियो ।

प्रहरी स्रोतका अनुसार तीन जनाको समूह यसअघिदेखि गुण्डागर्दीमा संलग्न थियो । तीन जनाविरुद्ध शरीर बन्धक बनाइ डाँका गरेको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?