
News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुरको कान्ति लोकपथ सडकखण्डमा प्रहरीले २० असारमा लागुऔषध बरामद गरी चार व्यक्तिलाई पक्राउ गर्यो।
- पक्राउ परेका भारतीय नागरिक र नेपालीसँग करोडौंको लागुऔषध कारोबार र सम्पत्ति जोडिएको अनुसन्धान भइरहेको छ।
- पक्राउ परेकाहरूको आर्थिक कारोबार र जग्गा सम्पत्तिले उनीहरूको संगठित रूपमा लागुऔषध कारोबार गरेको पुष्टि भएको छ।
२० असार, काठमाडौं । गत २३ चैतको बिहानीपख १:५५ बजे ललितपुरको कान्ति लोकपथ सडकखण्डमा रहेको प्रहरी चौकी भट्टे डाँडाले ठूलो मात्रामा लागुऔषध बरामद गर्यो । भारतीय एम्बुलेन्समा राखेर काठमाडौं भित्र्याउन लागिएको लागुऔषधसहित चार जना पक्राउ परे ।
भारत बिहार प्रान्त पूर्वी चमपारण मोतिहारी जिल्ला टुमरिया ग्राम पञ्चायत ५ का २० वर्षीय समिर आलम, भारतकै मोतिहारी राजबजारका ३३ वर्षीय मोहम्मद मुन्ना अन्सारी, मोतिहारी पलानवा ग्राम पञ्चायतका ४५ वर्षीय नोर्जान खातुन, मोतिहारी पछियाटोलका २२ वर्षीय मोहम्मद उमर सिद्धिकी (एम्बुलेन्स चालक) पक्राउ परे । उनीहरू बाहेक एम्बुलेन्समा एक बालक र एक बालिका पनि थिए ।
एक पत्तामा १० क्याप्सुल भएको ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आईपी ५ हजार ४ सय पत्ता, एक पत्तामा १० क्याप्सुल भएको ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आईपी ५० एमजी ट्रामन लेखिएको ४ हजार ८ पत्ता गरी जम्मा ९ हजार ४ सय ८ पत्ता बरामद भयो । योसँगै बीआर ०५ पीए ०४२१ नम्बरको भारतीय एम्बुलेन्स पनि बरामद भयो । एम्बुलेन्सको बिरामी राख्ने ठाउँमा दुई वटा छुट्टाछुट्टै झोलामा लागुऔषध बरामद भएको थियो ।
प्रहरी एम्बुलेन्स रोकेपछि चालक भाग्न समेत खोजेका थिए । ठूलो मात्रामा लागुऔषध भेटिएपछि जिल्ला प्रहरी परिसर ललितपुरले उनीहरूलाई कार्यालयमा ल्याएर अनुसन्धान गरेको थियो । लागुऔषधको कसुरमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिने प्रावधान छ । यो अनुसन्धानका क्रममा पक्राउ परेका मध्ये नोर्जान र समिरको घटनामा संलग्नता नदेखिएको भन्दै छाडिएको छ । नोर्जान भने वीरगञ्जको नेसनल मेडिकल कलेजमा उपचार गरेपछि काठमाडौं रेफर भएकी बिरामी रहेको पाइएको छ भने दुई नाबालक र समीर नोर्जानकै आफन्त भएपछि उनीहरू छाडिए ।
उनीहरूको संलग्नता नरहेको भन्दै छाडिए पनि हिरासतमै रहका अर्का व्यक्तिसहित ५ जनाविरुद्ध भने मुद्दा दर्ता भएको छ ।
जसमा मोहम्मद मुन्ना अन्सारी, चालक सिद्धिकी, पर्सा घर भएका ४४ वर्षीय प्रभात साह कानु, पर्सा नै घर भएका ४६ वर्षीय रामाकान्त साह गोढ र प्रहरी वृत्त कालीमाटीको हिरासतमा रहेका नुवाकोटका २५ वर्षीय राजु मिजार छन् ।
जसमध्ये प्रभात साह कानु र रामाकान्त साह गोढ फरार छन् । उनीहरूलाई फरार प्रतिवादी बनाएर मुद्दा चलाइएको परिसरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।
अनुसन्धानको क्रममा संगठित रूपमा योजना बनाएर लागुऔषधको ओसारपसार र कारोबार गरेको भन्दै उनीहरूविरुद्ध लागुऔषध निवारण ऐन, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि मुद्दा चलाइएको छ ।
ठूलो मात्रामा लागुऔषधसहित बरामद भएका उनीहरूले करोडसम्मका कारोबार गरेको भेटिएको परिसर ललितपुरले बताएको छ ।
राजु मिजारको ई–सेवा आईडीबाट मात्रै १७ लाख ६३ हजार ६३९ रुपैयाँ डेबिट र १७ लाख ६३ हजार ८३४ रुपैयाँ क्रेडिट कारोबार भएको भेटिएको छ ।
आईएमई तथा एनआईसी एसिया बैंकको खातामार्फत मिजारले नै यही लागुऔषध कारोबारमा पक्राउ परेका अर्का व्यक्ति रामाकान्त साह गोढलाई ३८ लाख १६ हजार जम्मा गरेको पनि भेटिएको छ । अनुसन्धान अधिकारीसँगै मिजारले विगत एक वर्षदेखि रमेश देउला नाम गरेका व्यक्तिसँग मिलेर तराईका जिल्लाबाट लागुऔषध ट्रामाडोल ल्याउँदै बेच्ने गरेको स्वीकार गरेका छन् ।
अहिले प्रहरी वृत्त कालीमाटीको हिरासतमा रहेका मिजारविरुद्ध यसअघि पनि मुद्दा चलेको थियो । लागुऔषधकै कसुरमा ललितपुर जिल्ला अदालतले उनलाई ९ असार २०७९ मा २ महिना कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । अहिले पनि लागुऔषधकै कसुरमा कालीमाटी वृत्तको हिरासतमा छन् भने ललितपुरमा अर्को मुद्दा दायर भएको छ ।
अन्य व्यापार, व्यवसाय तथा रोजगार केही नभएका देउलासँगको लाखौंको कारोबार लागुऔषधकै रकम भएको प्रहरीले निष्कर्ष निकालेको छ । राजुसँगै उनकी श्रीमती मिना, सुवर्ण मल्ल, सुनिता दमाई, सुवास घलेलायतका व्यक्तिले रामाकान्त साह गोढको खातामा कुनै प्रयोजन नखुलाई ७ सेप्टेम्बर २०२२ देखि २५ अप्रिल २०२५ सम्म २ करोड ७६ लाख ६८ हजार ३१४ रुपैयाँ जम्मा गरेको भेटिएको छ ।
भट्टे डाँडामा बरामद भएको लागुऔषध पनि काठमाडौं ल्याएपछि मिजारले नै सप्लाइ गर्ने योजना रहेको एक अनुसन्धान अधिकारी बताउँछन् ।
अर्का प्रतिवादी प्रभात साह कानुको पनि जग्गा–जमिन फेला परेको छ । पर्साकै साविक सुर्जाहा–९ मा कित्ता नम्बर २८२ मा ४९०.९७ वर्गमिटर, वीरगञ्जमा ६७८ वर्गमिटर जग्गा लागुऔषध कारोबार सुरु गरे पश्चात ३१ साउन २०८० मा खरिद गरेको भेटिएको छ ।
प्रभात साह कानुनको एनएमबी बैंकको खातामा १५ नोभेम्बर २००८ देखि २० अप्रिल २०२५ सम्म ३० लाख ३९ हजार ४६६ रुपैयाँ क्रेडिट र ३१ लाख ३५ हजार ७८५ रुपैयाँ डेबिट कारोबार भेटिएको छ ।
उनकै ग्लोबल आईएमई बैंकको खातामा ९ जनवरी २०२३ देखि २३ अप्रिल २०२५ सम्म ६६ लाख ५० हजार ३४५ डेबिट र ६७ लाख ८८ हजार ५३९ रुपैयाँ क्रेडिट कारोबार भएको भेटिएको छ ।
सोही बैंक मर्ज भएपछि बैंक अफ काठमाण्डुमा ७१ लाख ९० हजार ४१५ रुपैयाँ क्रेडिट र ७१ लाख ३७ हजार ६९५ रुपैयाँ डेबिट कारोबार भएको भेटिएको छ । यसरी संगठित रूपमा लागुऔषधको कारोबार गर्नकै लागि उनीहरूले ती भारतीय नागरिकको नाममा एम्बुलेन्स समेत खरिद गरेको पाइएको प्रहरीको भनाइ छ । लागुऔषध कारोबारमा लागेपछि उनीहरूको आर्थिक हैसियत एकाएक फरक भएको एसएसपी अधिकारी बताउँछन् ।
‘लाखौंदेखि करोडसम्मको कारोबार भएको भेटिएको छ । कसैले जग्गा जमीन समेत जोडेको देखिन्छ । अरू पेसा व्यवसाय केही छैन । जब लागुऔषधको धन्दामा लागे त्यसपछि यी सबै सम्पत्ति जोडिएको देखिन्छ,’ एसएसपी अधिकारीले अनलाइनखबरसँग भने ।
प्रतिक्रिया 4